९ फाल्गुन २०८१, शुक्रबार

विदेशको यात्रा-“सपनाको खोजी र जीवनको संघर्ष”:अंक बाेहाेरा  

लेखक : अंक बाेहरा

विदेशको यात्रा-“सपनाको खोजी र जीवनको  संघर्ष “-

✍️विदेशको माटोमा लेखिएको नेपालीहरूको जीवन यात्रा केवल सुन्दर सपनाको माला होइन, यो एउटा अथक संघर्ष, आँसु र पसिनाको गाथा पनि हो। हिमालको काखमा जन्मेका हामी पौरखी र साहसी मानिसहरू वा युवा शक्तिहरूले विदेशिनु भन्दा अगाडि “बिदेस” शब्दमा जति सपना देख्छौं त्याे भन्दा धेरै गहन यथार्थले हाम्रो आउने दिनहरूलाई गिज्याइरहेको हुन्छ, र भविष्य कस्तो हुने भन्ने कुराले एकोहोरो सताइरहेको हुन्छ। सर्सर्ती हेर्दा आम नेपालीको चाहना जस्तो परिस्थिति जो निर्माण भएको छ यो आम नेपाली नागरिकको लागि निकै दुर्भाग्यपूर्ण कुरा हो। आफ्नै देशमा जीवन जिउने सुन्दर चाहना हुँदाहुँदै तमाम नेपाली युवाहरू सामान्य आवश्यकता पनि पूरा गर्ने उचित विकल्प नहुँदा विदेश जानुपर्ने बाध्यताको जसरी शिकार बन्नुपरेको छ यसको एकमात्र र प्रमुख कारण राजनीति र राज्य व्यवस्था नै हो। एक प्रकारले भन्ने हो भने नेपालको युवा शक्ति विदेशी श्रम बजारमा सस्तो मूल्यमा बिक्री भइरहेका छन् तर राज्यसँग युवा शक्तिलाई देशमा व्यवस्थापन गर्ने, रोजगारीको सिर्जना गर्ने , विदेश पलायन हुनबाट रोक्ने, देशमा भ्रष्टाचार र कमिसन खोरको अन्त्य गर्ने, उद्योग धन्दा कलकारखाना सञ्चालन गर्ने, खुल्ला स्पष्ट र पारदर्शी समाजको निर्माण गर्ने, नेपाल र नेपालिलाई आत्निर्भर बनाउने जस्ता कुनै ठोस कार्यक्रम देखिँदैन बरु ठिक उल्टो भ्रष्टाचार गर्ने र भ्रष्टाचारीहरुलाई जोगाउने खेल चलिरहेको छ। जसको परिणाम नेपालमा सुरक्षित भविष्य नदेख्ने वातावरण र युवाहरुमा निराशा पैदा गर्ने प्रवृत्तिका कारण दक्ष जनशक्ति वैदेशिक रोजगारकाे ढोका ढकढकाउन विवस छन्।

नेपालमा रोजगारीको अभाव, राजनीतिक अस्थिरता, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सीमित अवसर, र परिवारले देखेको आर्थिक दबाबले युवाहरूलाई विदेशिन बाध्य तुल्याउँछ। केहीले आफ्नो करियर र अनुसन्धानका लागि विदेशिन्छन् भने केही “सेटलमेन्ट” को सपना लिएर नै हिँड्छन्। सामाजिक रूपमा पनि विदेश गएका युवाहरूलाई “सफल” को परिभाषा भनेर हेर्ने चलनले पनि यसलाई बढावा दिन्छ।
१. बैंकको किस्ता: सपनाको बोझ:-
हरेक महिनाको पहिलो साता नै एउटा चिन्ताको सुरुवात हुन्छ, घरपरिवारलाई पठाउने खर्च,आफ्नै खर्च, र बैंकको किस्ताको दबाब। केही सेकेन्डमा नै मोबाइलबाट ट्रान्सफर गर्दा पनि मनको कल्पनामा बुबा-आमाको मुस्कुराइ, बच्चाहरूको उत्सुकता र समाजको अपेक्षा झल्किन्छ तर जो कल्पना यथार्थ भन्दा आकाश जमिनको फरक हुन्छ।, बैंकको किस्ताले दिने पीडा भने केवल अंकमा सीमित छैन—एकचोटि चुक्ता गर्न नसकिएको ऋणले गर्दा निद्रामा पनि अराजक सपना देखिन्छ।
२. अस्पताल र सुपरमार्केट: जीवनको अर्थव्यवस्था:-
विदेशमा स्वास्थ्य सेवा भनेको विलासिता हो। डाक्टरको फीस, इन्स्योरेन्स र फार्मेसीको बिलले गर्दा धेरैले आफ्नो रोगलाई नजरअन्दाज गर्छन्। रोगलाई भित्रभित्रै हुर्काइरहेका हुन्छन् जुन रोग कालान्तरमा गएर कहिल्यै निको नहुने दीर्घ रोगमा परिणत भइदिन्छ। एउटा साधारण चोटपटकको लागि पनि नेपालको हजारौं रुपैया खर्च हुने भएपछि “हामी नेपालीहरू त हिम्मत र साहसैले पनि बाँच्छौं” भन्ने हास्य-व्यङ्ग्यमा आत्मसान्त्वना खोजिन्छ। यस्तै, सुपरमार्केटको खटाई भनेको मूल्य ट्याग हेर्दै हिँड्ने खेल हो। नेपालमा जस्तो “तरकारी बजारमा मोलमाेलाइ” गर्न पाइदैन—यहाँ त प्रत्येक डलरको गणना गर्दै आफ्नो पेट र परिवारको आवश्यकताबीच सन्तुलन कायम गर्नु पर्छ। जसका कारण कहिले पैसा बचाउनको लागि हिँड्नुपर्छ त कहिले त्यही पैसा कमाउनको लागि समय बचाउन गाडी चढ्नुपर्छ। तर आवश्यकता भने लामबद्ध भई परिपूर्ति हुने पर्खाइमा बसिरहेका हुन्छन्।
३. सेक्युरिटी गार्डको: शरीर र मनको युद्ध:-
धुलो, छाती फुट्ने गर्मी, चुरोटको धुवाँ र बोस भनाउँदाहरूको निगाह—यी सबै सेक्युरिटी जबको दैनिक साथी हुन्। १२ घण्टा एकै स्थानमा उभिएर वा घुम्दै काम गर्नु परेपछि खुट्टा सुन्निन्छन्, पिठ मोचिन्छ, खुट्टाको पैताला पसिना र गर्मीको कारणले हावाको अभावमा कुहिने अवस्थामा पुगेको हुन्छ तर मनले भन्छ, “नेपालमा तिम्रो परिवारले तिमीप्रति गरेको विश्वासलाई रद्दीको टोकरीमा नहाल ।” ग्राहक तथा आगन्तुक पाहुनाहरुको गाली, बाेसको निरंकुशता र समाजमा “सेक्युरिटी गार्ड” भन्ने सामाजिक स्तरको चुनौतीले मनको घाउलाई पनि प्वाल पार्छ र मन विस्फोट होलाझै गरी मुटुको ढुकढुकी तीव्र गतिमा धड्किन्छ।
४. समाज र संस्कृति: टुक्रिएको माया:-
  दशैंको मेला, तिहारको रमझम साथमा दिदीबहिनीहरूसँगको जमघट, र घरमा आमाले पकाएको सेलरोटी—यी सबै विदेशको गर्मी, गल्ली र सडकहरूमा अनि केवल फेसबुकको स्टेटसमा सीमित छन्। चाडपर्वमा पनि अफिस जानु पर्छ भन्ने बाध्यता हो र यसले कति पीडा दिन्छ भन्ने कुरा हामी आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विदेशी भूमिमा अवगत नै छ। फोनमा आमाबाबु, भाइबहिनी, श्रीमती र छोराछोरीको आवाज सुनेर मुटु भक्कानिन्छ, तर ढोका खोल्दा सामुन्ने विदेशको खालीपन देखिन्छ। सामाजिक संस्थाहरूसँग जोडिएर रीतिरिवाज मनाउने अवसर पाइदैन—यहाँ त “टाइम इज मनी” भन्ने नियमले सांस्कृतिक पहिचानलाई पनि बजार बनाइदिन्छ र त्यो बजारको बिकाउ नवदास हुन विवस हुनुपर्छ।
५. १२ घण्टाको ड्युटी: शरीरले बोकेको बोझ:-
एक दिनको कामले अर्को दिनको थकान बोक्ने चलन, मेसिन जस्तै काम गर्दै जाँदा शरीरका हाड्जोर्निहरु पनि मेसिनको पार्ट्सजस्तै खराब हुँदै जान्छन्। भनेको समयमा मेडिकल चेकअप गर्न पाइँदैन, बल्ल बल्ल पाइन्छ त्यही पनि डाक्टरले भन्छन् “रेस्ट गर्नु पर्छ”, तर रेस्ट गर्ने लक्जरी कहाँ छ र….? बालबच्चाको फीस, घरको ऋण, समाजको ऋण, र कहाली लाग्दो भविष्यको सपना—यी सबैले आरामलाई पनि अपराध बनाइदिन्छ। आफूले आफैंलाई शत्रु बनाएर प्रत्येक सेकेन्ड समयसँग आफूलाई साट्नुपर्छ। जसको अगाडि पीडाहरू पनि आराम ठानेर स्वीकार गर्नुको विकल्प हुँदैन।
६.विदेशी कामदारको हकमा मानवअधिकार र सामाजिक अवस्था:-
विदेशी कामदारहरूको मानव अधिकार र सामाजिक अवस्था एउटा जटिल मुद्दा हो जसले विभिन्न देशहरूमा फरक फरक रूपमा असर गर्छ। विश्वव्यापीकरणको कारणले गर्दा, धेरै मानिसहरू राम्रो जीवनयापनको खोजीमा आफ्नो देश छोडेर अर्को देशमा काम गर्न जान्छन्। तर, विदेशी कामदारहरूले प्रायः आफ्नो नयाँ देशमा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ, जसमा उनीहरूको मानव अधिकार र सामाजिक अवस्था पनि समावेश हुन्छ।
विदेशी कामदारहरूको मानव अधिकारको कुरा गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूलाई समान व्यवहार गरिनुपर्छ भन्ने हो। उनीहरूलाई पनि त्यही कानुन र नियमहरू लागु हुनुपर्छ जुन देशका नागरिकहरूलाई हुन्छ। तर, वास्तविकतामा, विदेशी कामदारहरूले प्रायः भेदभाव र शोषणको सामना गर्नुपर्छ। उनीहरूलाई कम ज्याला दिइन्छ, असुरक्षित वातावरणमा काम गर्न लगाइन्छ, र उनीहरूको आधारभूत अधिकारहरूबाट वञ्चित गरिन्छ।
सामाजिक अवस्थाको कुरा गर्दा, विदेशी कामदारहरूले नयाँ देशमा घुलमिल हुन गाह्रो हुन्छ। उनीहरूलाई भाषाको समस्या हुन्छ, र उनीहरूलाई आफ्नो संस्कृति र रीतिरिवाजहरू जोगाउन गाह्रो हुन्छ।यसको कारणले गर्दा, उनीहरू एक्लो र अलग महसुस गर्न विवस हुनुपर्छ।
विदेशी कामदारहरूको मानव अधिकार र सामाजिक अवस्था सुधार गर्नको लागि, सरकारहरू, रोजगारदाताहरू, र अन्तर्राष्ट्रिय सङ्गठनहरूले मिलेर काम गर्नुपर्दछ । सरकारहरूले बलियो कानुनहरू बनाउनुपर्छ जसले विदेशी कामदारहरूको अधिकारको रक्षा गर्दछ। रोजगारदाताहरूले विदेशी कामदारहरूलाई उचित ज्याला दिनुपर्छ र उनीहरूलाई सुरक्षित वातावरणमा काम गर्न दिनुपर्छ लगायतका सुझावहरू वैदेशिक रोजगारमा रहेका कामदारहरूका लागि अगाडि नबढाइएको होइन तर कार्यान्वयन प्रक्रियामा यो सब रङ्गीन नारा मात्रै हुन्।
७. निष्कर्ष: संघर्षको फूलबारी:-
नेपालीहरूको लागि विश्व श्रम बजारको अवस्था विभिन्न अवसर र चुनौतीहरूको मिश्रण हो। वैदेशिक रोजगारीले नेपालीहरूलाई नयाँ सीप र ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको छ। यसले उनीहरूको भविष्यको लागि थप अवसरहरू सिर्जना गर्न सक्छ। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यसले गरिबी घटाउन र जीवनस्तर सुधार गर्न मद्दत गरेको छ।
तर, केही नेपालीहरू वैदेशिक रोजगारीमा श्रम शोषणको शिकार भएका छन्। कम ज्याला, असुरक्षित कार्य गर्नुपर्ने वातावरण र अन्य समस्याहरू उनीहरूले झेल्नुपरेको छ।
  धेरै नेपालीहरूसँग वैदेशिक रोजगारीको लागि आवश्यक सीप र ज्ञानको कमी छ। यसले कारणले उनीहरूको लागि राम्रो रोजगारीका अवसरहरू प्राप्त गर्न गाह्रो बनाउँछ र बनाइरहेकै छ। केही देशहरूमा भाषाको समस्याले नेपालीहरूलाई काम गर्न र स्थानीय समुदायसँग घुलमिल हुन गाह्रो बनाउँछ।
 यस सन्दर्भमा नेपालीहरूलाई वैदेशिक रोजगारीको लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लागि सुरक्षित र पारदर्शी श्रम सम्झौता सुनिश्चित गर्नुपर्छ।
  विदेशमा रहेका नेपालीहरूको समस्या समाधान गर्न र उनीहरूलाई सहयोग गर्न दूतावासहरूलाई थप सक्रिय बनाउनुपर्छ।वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको लागि रोजगारी र पुनर्स्थापना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।
विश्व श्रम बजार नेपालीहरूको लागि अवसर र चुनौतीहरूको मिश्रण हो। यी चुनौतीहरूको सामना गरेर र अवसरहरूको सदुपयोग गरेर नेपालीहरूले आफ्नो भविष्यलाई उज्ज्वल बनाउन सक्छन्।
 पीडा र संघर्षले नेपाली जीवनलाई विशेष बनाउँछ। हरेक किस्ता, हरेक पसिनाको थोपा, र हरेक आँसुले नेपालको अर्थतन्त्रलाई सिँचाइगरि रहेको हुन्छ। विदेशमा बसे पनि मनको मुलुक त नेपाल नै हो। नशा नशामा बग्ने रगतको प्रत्येक थोपाहरुमा नेपाल नै छ । यो संघर्ष नै हो जसले हामीलाई सिकाउँछ कि “जीवन कहिल्यै सजिलो हुँदैन, तर हामी त्यसभन्दा पनि सजिलै हार्ने मानिस होइनौं।” आज पीडा छ, तर हाम्रो परिश्रमको उज्यालो भोलिको नेपालको पनि उज्यालो हो, यही सपनालाई आदर्श मानी स्वीकार गरेर पीडाहरू माथि पनि हाँस्ने बानी पार्नुपरेको छ।
अन्तमा विदेशी भूमिमा नेपालीहरूले देखाउने सुकिलो पहिरणले, यहाँको विकासि सडक र महलहरु सङ्गकाे रङ्गी बिरङ्गी तस्बिरले,वास्तविकता कहिँ,कतै र कहिल्यै वकालत गर्ने छैन र गर्दैन। हामीले जीवनको महत्वपूर्ण र उर्वर समय आफ्नो परिवारबाट, आफ्नो गाउँघर छरछिमेकबाट र सिङ्गो नेपाली भूमिबाट टाढिएर बिछोडिएर बिताइरहेका छौं। जो कुनै न कुनै समयमा जीवनमा पश्चातापको कडी बन्नेछ। एउटा नेपाली नागरिक भएर नेपाललाई योगदान गर्न नपाउनुको पीडा,नेपाली भएर सिर ठाडो गरेर हिँड्न नपाउनुको पीडा केवल खाडीहरुमा जीवन बिताउने नेपालीहरूलाई मात्र थाहा छ। राष्ट्र के हो कति गहिरो तरिकाले हृदयमा गडेको हुन्छ यही पेरिफेरीमा महसुस हुँदोरहेछ। विडम्बना बाध्यताको सामना गर्न नसक्दा वैदेशिक रोजगार एक अनिवार्य विकल्प बनिरहेको छ, जो निकै दुखद कुरा हो।
 लेखक : बाेहाेरा पुुर्व माओवादी नेता हुन । अहिले राेजगारीकाे सिलसिलामा मलेसिया छन ।