९ फाल्गुन २०८१, शुक्रबार

“संकटमा समाजवादी आन्दोलन”- सन्दिप खड्का

लेखक : सन्दिप खड्का
✍️विश्व ब्रह्माण्डका सम्पूर्ण बस्तुको विकास र विनाश अनिवार्य हुन्छ। यो प्रकृतिको अकाट्य नियम हो। पृथ्वीमा मानव उत्पत्ति भएसँगै क्रमशः मानव समाज निर्माण भयो र विभिन्न चरणहरू पूरा गर्दै विश्व मानव समाज आज यो अवस्था सम्म आइपुगेको छ। भनिन्छ मानिस संसारको सर्वश्रेष्ठ र असन्तुष्ट प्राणी हो।
“आज मानिस अनेकौं खोज, अध्ययन, अनुसन्धान, त्याग, समर्पण, निरन्तरको संघर्ष र प्रयासले मानव समाज आज भूमण्डलीकृत पूँजीवाद सम्म आइपुगेको छ”। यो मानव समाज हिजोको भन्दा सयौं गुणा सुविधा सम्पन्न छ। यसको मूल कारण विज्ञान प्रविधि, मानव खोज, अध्ययन, अनुसन्धानबाट मानिसले हासिल गरेको ज्ञान र मानव चेतनाले यो कुराको पुष्टि गर्छ। यो विषयको गम्भीरताबाट पनि हामी सहजै अनुमान लगाउन सक्छौं। कि मानिसकै कारण मानव समाज कहिले पनि यथास्थितिमा रहिरहन सक्दैन! हालको अवस्थाबाट परिवर्तित समाज कस्तो हुन्छ र हुनुपर्छ भन्ने चासो सबैमा रहनु स्वाभाविक नै हो। र त्यसको निम्ति के-कस्ता सचेत प्रयत्नहरू भईरहेका छन् र त्यसको प्रभाव नेपाली समाजमा कस्तो छ भन्ने बारे चर्चा गरौं!!
१८४८ फेब्रुअरी १२ मा कम्युनिस्ट घोषणापत्र जारी भएपछि यूरोपियन देशहरूमा समाजवादी विषय प्रवेश गर्यो र यस विषयमा स्वयं मार्क्सले भनेका छन्, ‘युरोपमा एउटा भूत घुमिरहेको छ, साम्यवादको भूत। यसलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन्।’ भन्नु भएको थियो। धेरै पछि बल्ल मात्रै नेपाली समाजमा समाजवादको भूत घुम्न सुरु भएको छ। समाजवाद भनेको सामान्य अर्थमा बुझ्दा यसरी बुझ्न सकिन्छ। समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामूहिक रूपमा गरिन्छ, सामान्यतया राज्य वा जनताद्वारा। समाजवादको लक्ष्य भनेको सामाजिक समानतालाई बढावा दिनु, वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतहरूलाई जनसंख्यामा समान रूपमा वितरण गर्नु हो।
विश्वमा ९ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने ५ वटा एक देशमा कम्युनिस्ट सत्ता छ। जसमध्ये चारवटा (चीन, लाओस, क्युबा र भियतनाम) मार्क्सवादी–लेनिनवादी विचारधारामा आधारित छन् भने उत्तर कोरियाको फरक मान्यता छ। यसरी हेर्दा के देखिन्छ भने समाज परिवर्तनमा समय, ठाउँ, देश र परिस्थिति अनुसार आ-आफ्नै किसिमका विशेषताहरू हुन्छन्। यूरोपियन देशहरू लगायत धेरै देशहरूमा सामन्तवादी सत्ता ढलेसँगै पूँजीवादी सत्ता विकसित हुँदै गयो तर नेपाल भने सामन्तवादी सत्ता ढलेसँगै दलाल पूँजीवाद विकसित हुँदै गयो! सामन्तवादको अवशेषहरू पनि यथावत नै रहिरहेको छ! यो सबै हिसाबले फरक किसिमको पूँजीवाद नेपालमा विद्यमान छ। यसले मानव समाजलाई सु-व्यवस्थित गर्न सकेन कुरै भएन। र राज्य सत्ता र जनताबीचको अन्तरसम्बन्धको पर्खाल झनै चुलिदै गहिरहेको छ। सुलभ शिक्षा, स्वास्थ्य, रोजगारीबाट सम्पूर्ण जनता वंचित छन्। युवा विदेश पलायन, भ्रष्टाचार, कालो बजारी, विदेशी ऋणको भार, विदेशी हस्तक्षेपको अवस्था कालोलाग्दो छ। यो सबैबाट मुक्त गरेर समुन्नत समाज कसरी निर्माण गर्न सकिन्छ त? भन्ने विषयमा धेरैलाई लाग्न सक्छ। हालसम्म सत्तामा भएका दलहरू र त्यसका नेताहरू पार्टी नीति, पद्धति र कानुन पूर्णतः कार्यान्वयनमा इमान्दार भए तमाम समस्याहरू हल हुन्छ र सबै समस्याको समाधान हुन्छ। तर यो कुरा आंशिक मात्रै सत्य हो। वास्तविकता के हो भने हालको सम्पूर्ण समस्या हल गर्न पहिलो कुरा त संविधान नै समाजवादी मान्यतामा आधारित हुनुपर्छ। नेपालको संविधान २०७२ समाजवाद उन्मुख भनेर उल्लेख गरिए पनि मूलभूत रूपमा संविधानमा समाजवादी मान्यतामा आधारित राज्यको कुनै पनि नीतिहरू, अर्थनीति, शिक्षा, स्वास्थ्य लगायत जनताका मौलिक अधिकार, राज्यको पुनःसंरचना प्रष्ट रूपमा समाजवादी नीति र मान्यतालाई अंगीकार गरेको छैन। आत्मनिर्भरता, स्रोत साधनमा समान वितरण प्रणालीको व्यवस्था छैन किनभने यो समाजवादी संविधान होइन। अहिलेको संविधान र राज्य सत्ताको अभ्यासबाट स्वाधीन राष्ट्र र समुन्नत नेपाल, सुखी नेपालीको परिकल्पना सम्म पनि गर्न सम्भव छैन। त्यसकारण अहिलेको निकास भनेको समाजवाद हो। यसको प्राप्तिका लागि जनताको उच्चतम चेतना, सचेत प्रयत्न अनि निर्णायक संघर्ष आवश्यक हुन्छ। र कुनै पनि विद्रोह जनताको संगठित संघर्ष बिना सम्भव छैन। त्यसको नेतृत्व कुनै पनि संघ-संगठन, राजनीतिक दल वा लोकप्रिय स्वाभिमानी व्यक्तिले गर्नुपर्दछ। साथै समाजवाद स्थापनाका लागि सही नीति, योजना, कार्यक्रमहरू ठोस रूपमा अगाडि सरेको हुनुपर्दछ। र मात्रै जनताको आवाजलाई केन्द्रीकरण गर्न सकिन्छ। समाज र सत्ता बदल्न सकिन्छ। के नेपालमा समाजवादी आन्दोलनलाई ठीक ढङ्गले अगाडि बढाइरहेका संघ-संगठन वा राजनीतिक दलहरू छन्? जसको कारण समाजवादी आन्दोलन जीवित छ त? कि छैनन्? संक्षिप्त चर्चा गरौं।
समाजवाद भन्ने शब्दको नेपालमा भ्रष्टीकरण यसरी गरिएको छ कि जो पनि समाजवादी भन्दिए हुने! मूल्य र मान्यता आधारित हुन नपर्ने। नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्यो। यो आदर्शको जमिनमा टेकेर पञ्चायतविरुद्धको लडाइँ लड्यो। २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको प्रष्ट बहुमत पायो र सरकारको नेतृत्व पनि गर्यो, नीति कार्यक्रम निर्माण पनि गर्यो। तर सरकारले खुला अर्थतन्त्र र निजीकरणको बाटो लियो। समाजवादी कार्यक्रमको कुनै ढाँचा प्रस्तुत गर्न सकेन। उसको आदर्श बहुदलीय प्रतिस्पर्धामा आएर टुंगियो। समाजवादलाई परिभाषित गर्दै नीति कार्यक्रम तयार गर्नुको सट्टा बरु निजीकरणको नाममा सबै राष्ट्रिय उद्योग, कलकारखाना ध्वस्त भयो। कम्युनिस्ट नामधारीको अर्को ठूलो पार्टी नेकपा (एमाले) जसले वि.सं.२०४९ सालमा (जनवाद) लाई पद प्रदर्शक सिद्धान्त मानेर दस्तावेजीकरण गरेसँगै मार्क्सवादी मूल्य, मान्यता, विचार, आचरण र दर्शनलाई चुनावी खाडलमा पुर्यायो र सम्पूर्ण रूपले पूँजीवादी पार्टी भन्दा पछाडि गतिविधिमा लिप्त भयो। यस्तो पार्टीमा समाजवादी आन्दोलन बच्न सक्ने कुनै सम्भावना नै भएन। माओवादको हिमायती मान्ने प्रचण्ड नेतृत्वको माओवादी (केन्द्र) चुम्बाङ बैठकको विचलनलाई बुटवल महाधिवेशनमा ल्याएर गरिएको २१औं सताब्दीको नौलो जनवाद संश्लेषण गरेसँगै सैद्धान्तिक, राजनीतिक, विचार, आचरण, दर्शन र संगठन सबै हिसाबले एमाले भन्दा फरक रहन सकेन। यसको पुष्टि एमालेसँगै सत्ता स्वार्थका लागि गरिएको एकताले राम्रोसँग पुष्टि गरेको छ। यो सबै गतिविधि हेर्दा समाजवादी आन्दोलनलाई पार्टीमा जीवित राख्न सकेन।
माओवादी आन्दोलनको क्रान्तिकारी धाराको रूपमा आफ्नो छुट्टै परिचय निर्माण गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संशोधनवादी, यथास्थितिवादी, जड्शुत्रवादी र संसदवादी जस्ता विचलनकारी धाराहरू नेपालका कम्युनिस्ट पार्टीहरू र नेताहरूमा देखिन थालेपछि सबैसंग विद्रोह गरेर गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी आन्दोलनलाई विकास गर्ने र नेतृत्व गर्दै संघर्ष गर्ने प्रयास गरिएको थियो।
जसको नेतृत्व कमरेड बिप्लवले गरेका थिए। र १२ जना नेपथ्य नागरिकहरूले आफ्नो बलिदान गर्न पुगे, तर पनि यो संघर्ष खास कुनै पनि उपलब्धि बिना ३ बुँदे सहमतिमा टुङ्गियो। मुख्य कुरा त पार्टीको कार्यनीतिक अस्पष्टता नै हो। त्यो भनेको फरक फरक प्रकृतिको संघर्षको स्वरूपहरूलाई एउटै पार्टीले एकै समयमा सन्तुलन कायम गर्न नसक्नु थियो। एउटै समयमा एउटै पार्टीले सशस्त्र प्रकृतिको संघर्ष र जनक्रान्तिलाई नेतृत्व गर्ने विषय वैज्ञानिक र वस्तुगत थिएन। यो कुराको पुष्टि पार्टी प्रतिबन्धित भएपछि पार्टीले संचालन गरेको केही सशस्त्र प्रकृतिको संघर्षले गर्दा पूर्णतः परम्परागत भूमिगत रूपमा मात्रै पार्टी सीमित हुन पुग्यो! कार्यनीतिले निर्देशित गरेको जस्तो जनपरिचालन र जनसंघर्ष अगाडि बढाउन सकेन, त्यसकारण न त सशस्त्र प्रकृतिको संघर्षलाई नै गति दिन सक्यो, न जनक्रान्ति र जनसंघर्षलाई नै स्थापित गर्न सक्यो। यो सबै हेर्दा कार्यनीतिक अस्पष्टता नै ३ बुँदेको मूल कारण बन्न पुग्यो र त्यसपछि पार्टी नराम्रोसँग राज्यको कानुनी झमेलामा फस्यो। राजनीतिक उतारचढावका कारण सरकारको तर्फबाट ३ बुँदे सहमति पनि ठीक ढंगले कार्यान्वयन हुन सकेन। पार्टीले पनि उचित दबाब सिर्जना गर्न सकेन। यस्तो अवस्थामा एउटा क्रान्तिकारी पार्टीले क्रान्तिलाई बचाई राख्ने विषय सामान्य विषय थिएन। जनताको आशा भरोसा कायम राख्दै दलले राज्य सत्ताको विरुद्ध संघर्ष गर्नु, दलले तस्कर, भ्रष्ट र बिचौलियाहरूसँग लड्नु, साथै देश र जनताको आवश्यकता अनुसार संघर्षको कार्यनीति लागू गर्न सके मात्रै समाजवादी क्रान्तिलाई जीवित राख्न सकिन्थ्यो। तर पार्टीले यस्तो देश र जनताको आवश्यकता अनुसारको संघर्षको प्रष्ट खाका तयार गर्न र गतिविधि अगाडि बढाउन सकेन। बरु दलाल राज्य सत्ताको नीति विधि र सीमा भित्र रहेर सहकारी, उद्योग, उत्पादनबाट आत्मनिर्भरताको रटन गरि रहेको छ। के राजनीतिक, संवैधानिक नीति र राज्य सत्ता सहितको हस्तक्षेप बिना अहिलेको दलाल पूँजीवादी सत्तासँग लडेर पराजित गर्न सकिन्छ? सकिन्न भने राजनीतिक, संवैधानिक नीति र राज्य सत्ता प्राप्तिको संघर्ष मुख्य हुनुपर्ने हो, तर पार्टीको कार्यनीति दलाल सत्ताको नियम भित्रबाट चुनाव, उत्पादन र आत्मनिर्भरताको फण्डा गर्नले यो पनि दार्शनिक सैद्धान्तिक र नीतिगत रूपमा पनि समाजवादी क्रान्तिलाई ठीक ढंगले हिडाउन सक्ने अवस्थामा देखिदैन। बरु समाजवादी मोर्चा होस् या संसदीय चुनाव र माओवादी केन्द्रसँग एकता लागि बिप्लवले देखाएको हटहटी हेर्दा अन्य दलहरूलाई समाजवादी आन्दोलनमा समाहित गर्न भन्दा पनि आफू पुरानो दल र प्रक्रियामा समावेश हुन हतार गरेको देखिन्छ। यो कार्यले पनि समाजवादी क्रान्ति तिर बाटो निर्देश गर्दैन। गम्भीर प्रश्न त यो छ कि? समाजवादी मोर्चामा भएका दलहरू दलाल ठेकेदार र राज्य सत्ताको दुरुपयोगबाट चलेका छन्। बिप्लव नेतृत्वको नेकपा आफ्नै पौरखमा टिक्ने नीति सहित संघर्ष र उत्पादन गर्दै गरेको देखिन्छ। साथै संस्कृति, राजनीतिक पार्टी जीवन व्यवहारमा अन्य दलहरूभन्दा नितान्त फरक देखिन्छ। यो सबै विषय माओवादी केन्द्रसँग एकता होस् या कुनै कम्युनिस्ट घटकहरू नेकपाको नीति हावी गराएर एकता गर्ने अवस्थात देखिदैन। फेरि प्रगतिशील र क्रान्तिकारी नीतिहरू सबै लत्याएर एकताको हुँदाले मात्रै त समाजवादी मूल्य र मान्यता स्थापित गर्न सकिन्न। मूलतः ३ बुँदे पछि जुन गतिविधि र दृष्टिकोणबाट पार्टी अगाडि बढेको छ, निश्चयनै यसको क्रमभंगता बिना पार्टीले समाजवादी आन्दोलनलाई जीवित राख्न सक्ने अवस्था देखिदैन। धेरैको दृष्टिकोण के छ भने चुनावी नीतिलाई संसदवादी गतिविधिको कसीबाट मात्रै हेर्ने र संसदवादी भएको भन्ने जमात पनि छ। तर वास्तवमा क्रान्तिकारी पार्टीले चुनावमा भाग लिने बित्तिकै संसदवादी भएको दलाल पार्टी भइहाल्छ भन्ने दृष्टिकोण पनि धेरै पछाडि लागेको दृष्टिकोण हो। मुख्य कुरा कुनै पनि कम्युनिस्ट पार्टी भित्र मार्क्सवादी मूल्य मान्यता, विचार, राजनीतिक संगठन निर्माण भएको छ कि छैन, नेताकार्यकर्ताको जीवन, व्यवहार, अनुशासन, नैतिकता, संघर्ष, पार्टी संरचना यो सबै मापदण्ड पूरा गरेको छ या छैन भन्ने कुरा मुख्य प्रश्न हो। यो सबै प्रक्रियाबाट पनि बिप्लव नेतृत्वको नेकपाले स्थिरता कायम गर्न नसक्नु, संगठनको संरचना पहिलाको बाट बदलेर अहिलेको सत्ताको संरचनामा जानु, वैज्ञानिक समाजवादबाट नेपाली विशेषताको समाजवादमा बदल्नु, हिजोको पार्टी र आज यू-टर्नमा पुग्नु, १० वर्ष जनयुद्धलाई संविधान सभा मार्फत संसदवादमा पुर्याएको जस्तो फेरि दशौं वर्ष जनतालाई भुलाएको कुरा किन आज नेपाली विशेषताको समाजवाद भन्दै छन्? यसलाई आफू अनुकूल व्याख्या गर्ने र पुराना शक्तिहरूसँग सटकाट गर्ने एक अर्को फण्डा त होइन? यस्तो भयो भने चाहिँ देश र जनताको लागि दुःखको कुरा हो। आज चुनाव लडेको पार्टीको भोलि देश र जनताको निम्ति लडाइँ लड्न पनि सक्छ, यो त राष्ट्रिय अन्तर्राष्ट्रिय बिगतले पनि पुष्टि गरेको छ। तर अन्य विषय पार्टी भित्र मार्क्सवादी मूल्य मान्यताहरू, विचार दर्शन, संगठन संरचना, संघर्ष सबै कुराले यो कुराको पुष्टि हुनुपर्छ र मात्रै समाजवादी क्रान्तिलाई जीवित राख्न सकिन्छ। बिप्लव नेतृत्व नेकपा यो कुरामा प्रष्ट गर्न नसक्नु कारण नै आज पछाडि लागेको दृष्टिकोण भएका जनतामा परीक्षण भैसकेका दलहरूसँग पछाडि फर्केर एकताको कुरा गर्न बाध्य भएका छन्। त्यसकारण पनि भाषण गरेको जस्तो समाजवादी आन्दोलनलाई लिड गर्ने सम्भावना देखिदैन। समाजवादी आन्दोलन संकटको घडीमा छ भनेर सहजै भन्न सकिन्छ।
नेपालका तमाम समस्याको समाधानको निम्ति समाजवाद अपरिहार्य सामाजिक व्यवस्था हो। समाजवादी क्रान्ति बिना समाजवादी व्यवस्था सम्भव छैन। तर नेपालको सन्दर्भमा कुनै पनि राजनीतिक दलहरूले ठोस समाजवादी क्रान्तिको रोडम्याप र क्रान्तिको विधि प्रष्ट गर्न नसक्दा समाजवादी आन्दोलन संकटमा छ। माथि उल्लेखित राजनीतिक दलहरूसँगै अन्य पार्टीहरू कमरेड माधव नेपालले नेतृत्व गरेको पार्टी, कमरेड आहुतिको पार्टी, कमरेड धर्मेन्द्रले नेतृत्व गरेको पार्टी लगायत अन्य स-साना कम्युनिस्ट नामका पार्टीहरूले पनि समाजवादी क्रान्ति र मालेमा वादको शाब्दिक व्याख्यामा रमाएको भए पनि पार्टी जीवनमा समाजवादी क्रान्तिको रोडम्याप प्रष्ट गर्न नसकेको र राज्यलाई कुनै पनि दबाब सिर्जना गर्न सकेको पाईन्न। त्यसकारण उल्लेखित पार्टीहरूले पनि पार्टी जीवनमा समाजवादी आन्दोलनलाई जीवित राख्न सकेका छैनन्। समग्र समाजवादी आन्दोलन संकटग्रस्त छ। सम्पूर्ण समाजवादीहरूले समयमै ठीक दिशा निर्देश गर्दै अगाडि बढ्नु पर्ने आजको आवश्यकता बनेको छ।
लेखक : खड्का पुर्व माओवादी नेता हुन । अहिले स्वतन्त्र विचारक