९ मंसिर २०८१, आईतवार

कम्युनिस्टका दुःख” कि सङ्ग्रौलाको झुसिलो डकार ?-हिरामणि दु:खी

लेखक : हिरामणि दु:खी

यही मङ्सिर ३० गते शनिबार नयाँपत्रिका दैनिकमा खगेन्द्र सङ्ग्रौलाको एउटा लेख छापियो । लेख नेपालको कम्युनिस्ट आन्दोलन र तत्सम्बन्धी कम्युनिस्ट पार्टीका ‘दुःख’ भनेर ‘नेपाली कम्युनिस्टका नौ दुःख’ शीर्षकमा लेखिएको छ । सो पत्रिकाका साहित्य सम्बन्धी बीट हेर्ने राजु स्याङतानसँगको कुराकानीमा आधारित लेख प्रकाशित भएपछि त्यसले मुलतः क्रान्तिकारी धाराका कम्युनिस्ट वृत्तमा केही चर्चाको विषय बनेको छ । उक्त लेखमा सङ्ग्रौलाले मुलतः सत्ता र संसदवादी कम्युनिस्ट पार्टीको बारेमा बढी शब्द खर्चिएको जस्तो देखिन्छ । लेख पढ्दा संसदवादी पार्टीहरुका कुकृत्य र तिनीहरुले अबलम्बन गरेको बाटोको बारेमा भण्डाफोर गरेको जस्तो पनि देखिन्छ । जसका कारण संसदवादी कम्युनिस्ट पार्टीका ब्यबहारबाट आजित भएका जनता र तत्तत् पार्टीका पनि खानपिनबाट बञ्चित भएका कार्यकर्ताहरुलाई खुच्चिङ् गर्ने वातावरण भने अवस्य निर्माण गरेको छ । विषयलाई द्वन्द्वात्मक भौतिकवादी ज्ञानचेतनाको गहिराईमा पुगेर वैचारिक रूपले पर्गेल्न नसक्ने सतही रूपमा बुझ्ने र सोअनुसार दृष्टिकोण बनाउने क्रान्तिकारी धाराकै पनि कतिपय नेता कार्यकर्ताहरुमा यसले भ्रम सिर्जना गर्न सक्छ । वास्तवमा यो लेख सङ्ग्रौलाले कुनै आवेगमा आएर तत्कालको प्रतिकृयाका रूपमा लेखे बोलेका भने होइनन् । यो उनले जानी बुझिकन सचेत रूपले कम्युनिस्ट आन्दोलनका बारेमा भ्रम छर्ने र अब संसारबाट कम्युनिस्ट नामको राजनीति असफल भयो र यसको भविश्य तथा औचित्य छैन भन्न साम्राज्यवादी मिसनकै एक अंशका रूपमा नेपाली खेतालाको कर्तव्य निर्वाह गरेका हुन् ।

कुनै समय सङ्ग्रौला घागडान क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीका नेता थिए । उनले माओका सङ्कलित रचनाहरुलाई नेपाली भाषामा अनुवाद गरेर नेपालको कम्युनिस्ट आन्दोलनका विद्यार्थी, नेता कार्यकर्ताहरुलाई माओले विकास गर्नुभएको विचारको सहज र सरल रूपमा अध्ययन गर्ने वातावरण पनि मिलाएकै हुन । प्रगतिशील साहित्य लेखेर कम्युनिस्ट आन्दोलनप्रति साहित्यका पाठकहरुलाई उद्देलित, आन्दोलित र सङ्गठित हुन प्रेरित गरेका पनि हुन् । कम्युनिस्ट पार्टी र विचारमा लागेकै कारण दुःख पनि भोगेकै हुन् । तर अहिले आएर उनी कम्युनिस्ट विचार र आदर्शप्रति भ्रम छर्न एवम् गोबरमा दहि मिसाएर घालमेल पार्दै यहाँ दहि भन्ने बस्तु पनि गोबर नै हो भन्दै किन हिँडिरहेका छन् ? उनले दहि पनि गोबरै हो भनेर पुष्टि गर्न गोबर गोब्या-उने गाईकै पेटबाट आएको दूधबाट दहि बन्ने भएकाले दहिको स्रोत र गोबरको स्रोत गाईको पेट नै भएको हुँदा गोबर र दूध एउटै हो भन्ने तर्क गरेर सबै कम्युनिस्ट पार्टी नेता कार्यकर्ता एकै ड्याङका हुन् भन्दै भ्रम छर्ने दुस्प्रयत्न गरेका छन् । के उनले प्रस्तुत लेखमा भने जस्तै सबै कम्युनिस्टहरूखतमै छन् ? के अब कम्युनिस्टहरुले निर्माण गर्न खोजेको समाज व्यवस्था गलत र असम्भव नै छ त ? सङ्ग्रौला र दर्जनौँ सङ्ग्रौलाहरुले नेपालको कम्युनिस्ट पार्टीका विरुद्धमा भ्रम सिर्जना गर्ने कुरा यो नयाँ होइन ।

बुर्जुवा पुँजीवादी संसदीय व्यवस्था र सच्चा कम्युनिस्ट पार्टीले स्थापना गर्न चाहेको वैज्ञानिक समाजवादी व्यवस्था यी दुई पृथ्वीका दुई ध्रुव भएजस्तै विपरीत व्यवस्थाहरूहुन् । वर्तमान प्रतिगामी पुँजीवादी व्यवस्थाको अन्त्य नगरी समाजवादी व्यवस्था स्थापना हुँदैन । त्यसैले बुर्जुवा व्यवस्थाका पक्षपातीहरुले कम्युनिस्ट सिद्धान्त, विचार र राजनीतिप्रति भ्रम छर्नु अनौठो विषय होईन । यो कुरा त सङ्ग्रौलाहरुलाई राम्रोसँग थाहा छ । किनकि यही विचार हिजका दिनमा स्वयम् सङ्ग्रौलाले भन्दै जनतालाई कम्युनिस्ट पार्टीमा लाग्न हौस्याएकै हुन् । परन्तु यहाँ त सङ्ग्रौलालाई अझै पनि कम्युनिस्ट देख्ने एउटा जमात नै छ, त्यसरी कम्युनिस्ट भनिएको व्यक्तिबाट सच्चा कम्युनिस्ट पार्टी, विचार र दर्शनका विरुद्ध भ्रम छर्दा साम्राज्यवादीहरुलाई निकै ठूलो मसला बन्छ । तसर्थ बेलाबखत सङ्ग्रौलाहरुले झुसिलो डकार उग्राइरहन्छन् । उनको कम्युनिस्ट पार्टी र विचारप्रतिको विश्वास एकाएक ढलेको हो त ? किमार्थ होइन । यसको लामो शृङ्खला छ । त्यस बारे छोटो चर्चा गरौँ ।

जनयुद्धको उत्कर्ष समयको अन्त्यतिर केही दिन मलाई उनीसँग सङ्गत गर्ने अवसर पनि मिलेको थियो । त्यो पनि जनयुद्धको मुख्य उद्गम थलो रोल्पा र रुकुमका गाउँ बस्तीहरुमा । त्यतिबेला हामीले वैचारिक, साहित्यिकका साथै अन्तरङ्ग कुराकानी पनि गरेका थियौँ । म यहाँ सङ्ग्रौलाको वैयक्तिक आचरण वा चरित्रको कुरा गर्दै छैन् । त्यो उनको निजी मामिला हो । उनले सामाजिक रूपमा प्रभाव पार्ने विषयका बारेमा मात्रै चर्चा गर्न उपयुक्त ठान्छु ।

रोल्पा रुकुमका बस्तीहरुमा सार्वजनिक रूपमा भएका ठूल्ठूला जनप्रदर्शमा भाषण गरेर मुक्त कण्ठले जनयुद्धको समर्थन गरेका थिए । ज्ञानेन्द्र शाहीको सेना र जनमुक्ति सेनाको तुलना गर्दै ‘काठमाडौंको खाल्टोबाट हेर्दा मैले माओवादी लडाका र शाहीसेना एकै ड्याङका हुन् भन्ने ठान्दथें तर म गलत रहेछु । जनमुक्ति सेना त मेरो सेना पो रहेछ । देशको, जनताको सेना रहेछ’ भनेका थिए । जनसत्तालाई देशव्यापी बनाउन र जनताको वास्तविक सत्ता निर्माण गर्न माओवादीलाई सुझाव पनि दिएका थिए । त्यतिबेला ‘तपाइँहरुले माओवादी विचार, दर्शन र राजनीति छोडेर संसदीय भासमा जानुभयो भने तपाईंहरुको यात्रा पनि नारायणहिटीको दक्षिण ढोकामै सीमित हुनेछ’ भनेर चेतावनी पनि दिएका थिए । उनले बोलेको अडियो मसँग सुरक्षित नै छ । उनको पछिल्लो कुरा त लागू नै भयो । किनकि माओवादी सुप्रिमो प्रचण्ड र उनीसँगै पार्टीको ठूलो हिस्सा त नारायणहिटीकै पर्याय सिंहदरबारको दक्षिणढोकामै गएर पतन भयो । के प्रचण्ड मण्डलीको संसदवादमा पतन र एमाले लगायतका संसदवादी कम्युनिस्टहरुको दक्षिणपन्थी यात्राकै कारण समग्र कम्युनिस्ट विचार, दर्शन र क्रान्तिकारी कम्युनिस्टहरूपनि पतन नै भएका हुन् त ? सङ्ग्रौलाको झुसिलो डकारले सत्यको अन्वेशषण गरेको हो त ? किमार्थ होइन । हुन पनि सक्दैन । यद्यपि उनले देखेका नौ दुःखहरूसंसदवादी धारामा पतन भएका कम्युनिस्ट नामका पार्टीहरुको हकमा भने सही नै हो । त्यो कुरा त तथ्यले बताएकै छ । यसमा हामीले आपत्ति मान्नुपर्ने कुनै कारण छैन । यहाँ त उनले कम्युनिस्ट सिद्धान्त, विचार, दर्शन र राजनीति त्यागेर लोकतान्त्रिक गणतन्त्र नाम दिइएको संसदीय बुर्जुवा पुँजीवादी व्यवस्थामा पतन भएका र नेपालमा जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्न निरन्तर सङ्घर्ष गरिरहेका सच्चा कम्युनिस्ट पार्टी, नेता र कार्यकर्ताहरुलाई समेत एउटै डालोमा हालेर समग्रमा कम्युनिस्ट विचार र पार्टी नै खतम छन् भनेर भ्रम छर्ने कोशिष गरेका छन् । यो निन्दनीय र आपत्तीको विषय हो ।

जब उनले रूपलाल विश्वकर्माको पार्टी छोडेर अमेरिकी साम्राज्यवादको मिसन अन्तरगतको पिश्कोर बनेर शिक्षण पेसामा सङ्लग्न भए त्यतिबेलादेखि नै उनले कम्युनिस्ट विचार, राजनीति, आदर्श, दर्शन त्यागेर साम्राज्यवादको चाकर बन्न पुगेका थिए । उनले बेलबखतमा कम्युनिस्ट आन्दोलनका बारेमा यस्तै प्रकारका झुसिलो डकार फालिरहेका हुन्छन् । जनयुद्धका विरुद्धमा पनि ‘जूनकिरीको सङ्गीत’ नामक उपन्यास लेखेर माओवादी पार्टी र जनयुद्धलाई राँकेभूतको संज्ञा दिँदै जनताको न्यायपूर्ण आन्दोलमा हिलो छ्याप्ने प्रयत्न गरेका थिए । पछि त्यही माओवादी पार्टी र जनयुद्ध ठिक हो भन्न पनि पछि परेनन् । उनी कहिले नागरिक आन्दोलनका नाममा कम्युनिस्ट पार्टी र विचारको विरुद्धमा दीक्षित परिवार तथा पितवस्त्रधारीका लाममा उभिन पुग्छन् । कहिले जातिवादीहरुलाई काँधमा बोकेर युरोपियन मिसनको वकालत गर्न पुग्छन् । कहिले कथित मधेश आन्दोलनका नाममा चलाइएको पृथकतावादीहरुको बगालमा मिसिँदै दशगजामा बसेर नेपालमा ढुङ्गा हिर्काउँदै भारतीय विस्तारवादको दलाली गर्न पुग्छन् भने कहिले गगन थापाले मुखमा हालिदिएको झोलमा लट्ठिएर उसलाई जिताउन भोट माग्दै हिँड्छन् । यो छेपारे प्रवृत्ति नै उनको वैचारिकि र आदर्श चिन्तन हो ।

उनी वौद्धिक प्राज्ञिक मान्छे हुन् । उनीसँग कम्युनिस्टहरुले अवलम्बन गर्ने माक्र्सवाद–लेनिनवाद–माओवादको ज्ञान पनि छ । तिखो र धारिलो तरिकाले कलम पनि चलाउँछन् । उनी सत्ताका निम्ति बागी लेखक पनि हुन् । कुनै समय प्रगतिवादी धाराका अब्बल लेखकका रूपमा उनलाई आदर्श मानेर साहित्य सिर्जना गर्नेहरुको जमात पनि ठूलै थियो । प्रगतिशील लेखक सङ्घको केन्द्रीय महासचिव समेत भएका पनि थिए । उनले कुनै ठूलो पार्टीको फेरो समाएर सत्ताबाट प्राप्त हुने लाभको पदमा उक्लेर कुर्सिमा विराजमान हुन सक्थे । त्यतातर्फ उनले मोह देखाएनन् । यसलाई सबैले त्यागका रूपमा बुझेर उनलाई सबैले आदर पनि गर्थे, गर्छन् । तर यी सबै उनका नौटङ्की थिए भन्ने कुरा समयक्रममा आफैँ उदाङ्गो पार्दै देखाइरहेका छन् । विगतका दिनमा कम्युनिस्ट खेमामा रहनु उनको छद्मभेष थियो । रूपलालको पार्टी छोडेसँगै यो विचार पनि उनले छोडेर साम्राज्यवादी मिसनका चाकर बनेको कुरालाई लुकाउन र कम्युनिस्टहरुको भित्री कमजोरी फेला पारेर त्यसलाई पहाड बनाउँदै कम्युनिस्ट विचार र राजनीति प्रति आकर्षित नेपाली जनमनलाई भ्रम छर्नु उनको भित्री उद्धेश्य थियो । जो अहिले आफैले पुष्टि गर्दै गइरहेका छन् । त्यसैको पछिल्लो कडी हो नयाँपत्रिकामा प्रकाशित उक्त लेख ।

कम्युनिस्ट विचार, दर्शन र राजनीतिका विरुद्धमा साम्राज्यवादी मुलुक र तिनका थिङ्कट्याङ्कहरुले चलाएको वैचारिक तथा सामरिक हमला कुनै नौलो होइन । पेरिस कम्युनको असफलताकै बेलामा कम्युनिस्टहरूसंसारबाट समाप्त भए भनेर डङ्का पिटेकै हुन् । जब कि संसारभरी कम्युनिस्ट विचार फैलिएकै थिएन । सोभियत सङ्घको विघटनलाई पनि साम्राज्यवादीहरुले कम्युनिस्ट विचारकै पतन देख्न पुगेकै थिए । पेरुको जनयुद्ध असफल भएपछि पनि साम्राज्यवादीहरूर संसारभरीका पुँजीवादपन्थीहरुले भोज भतेर खाएकै हुन् । नेपालमा जनयुद्ध चल्दा साम्राज्यवादी अमेरिकाले जनयुद्ध दवाउन हातहतियार दिनेदेखि लिएर आफ्नो कुख्यात हत्यारो जत्था मरिन सेनालाई पठाएर देशका विभिन्न भागमा गएर शाहीसेनाको ब्यारेका मजबुद फोर्टिफिकेसन बनाउने र तालिम दिने गरेकै थियो । त्यतिबेला प्रतिक्रियावादी सत्ताको पक्षमा उभिएर एमाले समेतले आतङ्ककारी विधेयक ल्याएर दमनमा राज्यलाई साथ र सहयोग गरेकै हो । अरू त अरू आफुलाई क्रान्तिकारी कम्युनिस्ट बताउने नारायणकजी गुटको पार्टी र एम.विको मसालले समेत सामाजिक फासिवाद भन्दै सत्तालाई दमन गर्न बल पु¥याएकै थिए । सङ्ग्रौलाहरूजस्ता कथित लेखकहरुले विभिन्न आख्यान, काब्य सिर्जना गरेर जनयुद्धका विरुद्धमा जेहाद छेडेकै हुन् । आज पनि जनयुद्ध र माओवादी पार्टीका विरुद्धमा दर्जनौँ, आख्यान, काब्य तथा निबन्धहरूलेखिएकै छन् लेखाइएकै छन् । कर्पोरेट हाउसहरुले होस्ट राइटिङ गराएर माओवादीलाई दानवीकरण गर्न लाखौँ करोडौँ खर्च गरेकै छन् । सङ्ग्रौला पनि त्यस्तै त्यस्तै जमातमा पस्छन् र ह्वीस्की, स्याम्पेनका बोतल खोल्छन् र बोतल सुँघ्दै कम्युनिस्टका बिरूद्धमा बर्बराउँछन् । अनि बोतलबाट तृप्त भएको भुँडी पल्टाउँदै चावहिलको एउटा पलङमा उत्तानो परेर सिलिङतर्फ हेर्दै दहि र गोबर गाईको मलद्वारबाट झरिरहेको सपना देख्न पुग्छन् । अनि झल्याँस्स ब्युझेर कलम समाउँछन् र झुसिलो डकारसँगै कमलपित्तको पहेँलो बान्ता कापीमा ओकल्छन् । त्यही बान्तालाई संसोधनवादी कम्युनिस्टहरुबाट खानपिन र सरसुविधाको अवसर नपाएर तड्पीएका बबुराहरुले अञ्जुलीमा थापेर यो त सुनौलो विचार पो हो, भन्दै आफ्ना मिडियामा हालेर पश्किन्छन् । अहिले भएको त्यही हो ।बाबुरामको डकारबारे :

संयोगको कुरा यस्तै प्रकृतिको अर्को अन्तरवार्ता मङ्सिर ३० गते शनिबार नै अनलाईन खबर डट कममा बाबुराम भट्टराईको पनि छापिएको छ । बाबुरामले पनि अब कम्युनिस्ट पार्टीको कुनै काम छैन, साम्यवाद असम्भव छ भन्दै ‘लेखेर राख्नुहोला, अब कम्युनिस्ट प्रणाली भन्ने नै रहँदैन’ भनेका छन् । उनको उद्देश्य पनि कम्युनिस्ट विचारप्रति प्रतिवद्ध जनतामा भ्रम सिर्जना गर्नु, कम्युनिस्ट पार्टीहरूप्रति वितृष्णा पैदा गराउनु र त्यसको औचित्य समाप्त भएको प्रचार गरेर प्रकारान्तरले साम्राज्यवादी मिसन पुरा गर्नु र त्यसको सेवा गर्दै आपूmलाई नवउदारवादी अर्थव्यवस्थाको ठेकेदार घोषित गर्नु नै हो । बाबुरामबाट पनि साम्राज्यवादले यही चाहेको छ । किनकि उनी करिव चार दशकसम्म त नेपालको क्रान्तिकारी धाराको कम्युनिस्ट पार्टीमा जीवन विताए । माओवादी पार्टीको प्रचण्डपछिको तेस्रो बरियताको शीर्ष नेता बनेर जनयुद्धमा पनि सामेल भए । एक्लै बसेर आफ्नो वौद्धिकताको प्रदर्शन गरेको वा मसालमै रहेको या पछिल्लो चरण प्रचण्डको लालफिताशाही निरङ्कुशताका विरुद्धमा मोहन वैद्यको कित्तामा नउभिएको भए जीवनमै उनी प्रधानमन्त्री बन्न सक्दैनथे । अब उनले नेपालमा सत्ता वा पार्टीबाट पाउनुपर्ने कुनै अबसर बाँकी छैन । जीवनको उत्तराद्र्धमा पुगेका यस्ता ‘वौद्धिक’ र कम्युनिस्ट आन्दोलनमा लामो समय विताएका अनुभवीहरुबाट कम्युनिस्ट विचारका विरुद्ध विष ओकल्न लगाउन पाउँदा साम्राज्यवादी, प्रतिक्रियावादी तथा कम्युनिस्ट विरोधी सबैखाले पश्चगामीहरू हर्षविभोर हुन पाउँछन् । उनीहरुलाई कम्युनिस्टका विरुद्धमा प्रयोग गर्ने सबै भन्दा ठूलो प्रमाण फेला परेको महसुस हुन्छ ।

हिज जनयुद्धमा हुँदा पनि बाबुरामले नयाँ जनवादी गणतन्त्रका बारेमा कहिल्यै लेखेनन् बोलेनन् । उनले सदैव लोकतन्त्रको मात्रै कुरा गरे । उनका दृष्टिकोणमा नेपाली जनताका निम्ति राजतन्त्र (सामन्तवाद) मात्रै खतरा भएको र दलाल तथा नोकरशाही पुँजीवाद मित्रशक्ति हो भन्ने थियो । प्रचण्ड र बाबुरामका बिचमा यसै विषयमा बहस भएको र बाबुरामले आफ्ना विचारलाई पार्टी नीति विपरीत बाहिर ल्याएर छताछुल्ल पारेकै कारण कारबाही भएको थियो । तर भारतीय विस्तारवादी शाषक सामू लम्पसार परेर प्रचण्डले उक्त कारवाही फुकुवा गर्दै चुनवाङ बैठकबाट बाबुरामको विचारमा पतन भएका थिए । त्यसयता भारतीय विस्तारवादलाई साँछी राखेर तत्कालिन संसदवादी पार्टीहरुसित वार्ता गर्ने वातावरण मिलाउने ठेक्का लिएर बाबुराम भारत गएका थिए । जब बाबुरामलाई आफ्नै विचार पछ्याएका प्रचण्डले अवसर नदिएर एक्लै हिँडेको महसुस भयो तब उनले प्रचण्डलाई छोडेर नयाँ कुटी बनाएर अलग्गीएका थिए ।

जेएनयुबाट दीक्षित र ‘रअ’का मालिकलाई उता वैचारिक गुरु थापना गरेर यता नेपालमा कम्युनिस्ट बनेका बाबुरामलाई कम्युनिस्ट विचार र राजनीति असफल लाग्नु कुनै अनौठो विषय होइन । नवउदारवादी अर्थतन्त्र लागू गरेर जर्जर पारिएको नेपाललाई संसोधनवादी कम्युनिस्टहरुले न त उकास्न सक्छन् न त उनीहरुको उकास्ने नीति नै हुन्छ । संसोधनवाद आफैमा साम्राज्यवाद तथा संसदवादी पुँजीवादको ठिमाहा सन्तान हो । यसले गर्ने सेवा पनि अन्ततः साम्राज्यवाद र मरणासन्न पुँजीवादकै हो । अहिले देशमा हुँदै नभएको कम्युनिस्ट सत्ता वा व्यवस्थालाई जबर्जस्त कम्युनिस्ट सत्ता हो भन्ने भ्रम दिँदै असफल भएको देखाएर बाबुरामले कम्युनिस्टको भविश्य नै छैन भन्नु कुनै नयाँ कुरा होइन । यो माथि नै चर्चा गरिएको पेरिस कम्युन हुँदै सोभियत र नेपालको जनयुद्धको असफलता देखाएर देशका पश्चगामीहरू तथा साम्राज्यवादी एवम् विस्तारवादीहरुको बोलीमा लोली मिलाएको मात्रै हो । बाबुरामले कुनै नयाँ विचार उद्घाटन गरेको वा प्रतिपादन गरेको होइन । बरू उनले देख्यौ म कस्को चाकर हुँ भन्दै आफुलाई नाङ्गो रूपमा प्रस्तुत गरेका मात्रै हुन् ।

५ पुस,२०८० काठमाडौं