-माधव घिमिरे ‘अटल’
प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सुसम्पन्न भएको छ ।
पन्ध्र सदस्यीय समितिमा निवर्तमान अध्यक्ष थानेश्वर देवकोटा, वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद दुवाडी, प्रथम उपाध्यक्ष राजेन्द्रराज बज्राचार्य र द्वितीय उपाध्यक्ष रघुनाथ प्रधान निर्विरोध निर्वाचित भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा मात्र मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो ।
प्रतिस्पर्धा भएका पदमध्ये महासचिवमा सुविन सितिखु, सचिवमा रविन भैनात्व तथा कोषाध्यक्षमा चन केशरी कोजु विजयी भएका छन् । सदस्यहरू भने सबै निर्विरोध निर्वाचित भएका हुन् । त्यसरी निर्वाचित हुने सदस्यहरूमा क्रमशः लक्ष्मी गिरी, सृजना सुवेदी, रामेश्वर सिंखडा, ऋषिराज उपाध्याय, हरिकृष्ण सिलवाल, सुमन महर्जन र रविदास दोङ रहेका छन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफ्नो बुताले भ्याएसम्म विगतमा झैँ आगामी दिनमा पनि टुर्गानसँग सहकार्य गर्ने वाचा गरे । कतिपय गाइडहरूको अनुमतिपत्रबारे आफूहरूलाई सिकायत आएको भन्दै यस्ता विषयमा टुर्गानले आफूहरूसँग सहकार्य गरी समस्या निराकरण गर्न श्रेष्ठले आग्रह गरे । उनले नेपालमा पर्यटन प्रवर्धन गर्न आफ्नो मन्त्रालय जोकोहीसँग हातेमालो गर्न उत्सुक रहेको अवगत गराए ।
अध्यक्ष थानेश्वर देवकोटाले आफ्नो कार्यकालमा जेजति राम्रा काम भए त्यो सामूहिक प्रयत्नले भएको र केही कमीकमजोरी भएको भए त्यसको पूरै अपजस बेहोर्न आफू राजी रहेको बताए । सन्तुलित रुपमा आफ्नो लिखित मन्तव्य राखेका देवकोटाले टुर्गान उन्नयनको आगामी यात्रामा पनि आफू उत्तिकै दत्तचित्त भएर समर्पित हुने उद्घोष गरे ।
आमन्त्रित अतिथिहरूमध्ये समुद्घाटन समारोहमा नेपाल पर्वतारोहण सङ्घ(एनएमए)का अध्यक्ष फुर ग्याल्जेन शेर्पा, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टानका अध्यक्ष सागर पाण्डे, इस्टोनियाका अवैतनिक वाणिज्यदूत नवराज दाहाल र काठमाडौं उपत्यका पर्यटन कार्यालय प्रमुख पवन पोखरेल उपस्थित थिए ।
अतिथिहरूमध्येबाट टुर्गानका पूर्व अध्यक्ष नरेन्द्रदेव भट्ट, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टानका अध्यक्ष सागर पाण्डे र काठमाडौँ उपत्यका पर्यटन कार्यालय प्रमुख पवन पोखरेलले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए भने लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आएको नयाँ कार्यसमितिसँग सहकार्य गर्न आफूहरू लालायित हुने उनीहरूको साझा प्रतिबद्धता थियो ।
उक्त समारोहमा पूर्व-अध्यक्ष नरेन्द्रदेव भट्ट, सविता खनाल, थानेश्वर देवकोटा, बद्री नेपाल, कुमुद अधिकारी, माधवराज श्रेष्ठ, कुमुद अधिकारी, सूर्यदीप प्रकाश श्रेष्ठ, कुशेश्वरप्रसाद जोशी र युवराज पण्डितलाई टुर्गान उन्नयनमा उनीहरूले दिएको विशेष योगदानको कदर स्वरूप सम्मानित गरिएको थियो ।

