काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको नियमित साहित्यिक शृङ्खलाअन्तर्गत प्रत्येक महिनाको चौथो शनिबार आयोजना गरिने कार्यक्रम यसपटक साहित्यिक उत्साह, बौद्धिक बहस र सिर्जनात्मक ऊर्जा बीच भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार सत्या अधिकारीद्वारा लिखित लघुकथा सङ्ग्रह ‘ऐना’ माथि गहन परिचर्चा गरिएको थियो।
काठमाडौंको तारकेश्वर–८ स्थित हिमरश्मी हाई स्कुलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षता तथा जापानका लागि नेपालका पूर्वराजदूत एवं वरिष्ठ साहित्यकार डा. विष्णुहरि नेपालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा साहित्यकार, शिक्षाविद्, लेखक, विद्यार्थी, भाषा–संस्कृति अभियन्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित कृति परिचर्चामा विशेष अतिथि एवं परिचर्चाकार, भाषा आयोगका सदस्य तथा लघुकथा अध्येता डा. पुष्करराज भट्टले ‘ऐना’ कृतिको साहित्यिक, सामाजिक तथा भाषिक पक्षमाथि विस्तृत विश्लेषण प्रस्तुत गरे। उनले सत्या अधिकारीका लघुकथाहरूले समाजमा व्याप्त विकृति, विसङ्गति, अन्याय र विभेदमाथि तीक्ष्ण प्रहार गरेको बताए।
उनका अनुसार नेपाली लघुकथाको विकासक्रमलाई नयाँ उचाइमा पुर्याउने क्षमता ‘ऐना’मा रहेको छ। वि.सं. २००७ सालतिर पूर्णप्रकाश ब्राह्मणबाट सुरु भएको नेपाली लघुकथा परम्परालाई अधिकारीका सिर्जनाले आधुनिक सामाजिक यथार्थसँग जोड्दै पुरानो र नयाँ पुस्ताबीच वैचारिक सेतु निर्माण गरेको उनको भनाइ थियो।
डा. भट्टले कृतिमा पशु हिंसाको विरोध, महिला अधिकार, सामाजिक अपराध, मानवीय संवेदना, नैतिक मूल्य, पुस्तान्तरणको द्वन्द्व तथा सामाजिक उत्तरदायित्व जस्ता विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गरे। उनले अधिकारीका रचनामा लोकजीवन, नेपाली समाजका रैथाने उखान–टुक्का, व्यङ्ग्य चेत, विद्रोही सोच तथा सकारात्मक सन्देशको सुन्दर संयोजन रहेको बताए। मानव शरीरका विभिन्न अङ्गहरूबीचको संवादमार्फत कथालाई प्रस्तुत गर्ने शैली, सन्तुलित शब्द चयन र प्रभावकारी अभिव्यक्तिले कृतिलाई थप विशिष्ट बनाएको भन्दै उनले लेखकको उज्ज्वल साहित्यिक यात्राको शुभकामना व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत डा. विष्णुहरि नेपालले साहित्य केवल मनोरञ्जनको माध्यम नभई समाजलाई सही दिशातर्फ डोर्याउने चेतनाको प्रकाश भएको बताए। असल साहित्यले मानिसलाई सोच्न, आत्ममूल्याङ्कन गर्न र सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने उल्लेख गर्दै उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले आफ्नो विद्यार्थी जीवन सम्झँदै एसएलसी उत्तीर्ण गरेपछि अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनका क्रममा हाते बुलेटिन प्रकाशन गरेको अनुभव सुनाए। साहित्य समाज रूपान्तरणको महत्वपूर्ण आधार भएकाले नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र सिर्जनशीलतामा जोड्न आवश्यक रहेको उनको धारणा थियो।
कृतिकार सत्या अधिकारीले ‘ऐना’ आफ्नो समाजप्रतिको जिम्मेवारीबोध र मानवीय संवेदनाबाट जन्मिएको कृति भएको बताए। उनले लघुकथाहरूको सिर्जना प्रक्रिया, पात्र चयन तथा सामाजिक यथार्थबारे चर्चा गर्दै ‘ऐना’ समाजका अनेक अनुहार देखाउने आत्मदर्शनको माध्यम भएको उल्लेख गरे। साहित्यले समाजका विकृति र विसङ्गतिलाई उजागर गर्नुका साथै सकारात्मक सोच र मानवीय मूल्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रतिष्ठानका सचिव नवीन पल्लवका दिवंगत पिता तथा समाजसेवी इन्द्रबहादुर सुवर्णकारको सामाजिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो। प्रमुख अतिथि डा. विष्णुहरि नेपालको हातबाट नवीन पल्लवलाई श्रद्धाञ्जलि–पत्र प्रदान गरिएको थियो।
कार्यक्रमभर सहभागीहरूबीच खुला अन्तरक्रिया, जिज्ञासा समाधान, विचार आदान–प्रदान तथा कृतिमाथि गहन विमर्श भएको थियो। सहभागीहरूले ‘ऐना’ले समकालीन समाजका विविध यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै लेखकको सिर्जनशीलताको प्रशंसा गरे। विशेषगरी युवा पुस्ताले यस्ता साहित्यिक कार्यक्रमले अध्ययन, लेखन र अनुसन्धानप्रति रुचि बढाएको अनुभव साझा गरेका थिए।
वक्ताहरूले साहित्य समाजको ऐना मात्र नभई परिवर्तनको आधार भएको उल्लेख गर्दै पुस्तक पढ्ने संस्कृतिको विकास आजको प्रमुख आवश्यकता भएको बताए। प्रविधिको तीव्र विकाससँगै पुस्तकबाट टाढिँदै गएको समाजलाई पुनः अध्ययन, अनुसन्धान र सिर्जनशीलतासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने उनीहरूको धारणा थियो।
कार्यक्रममा नेपाली भाषा, मातृभाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा दायित्व रहेको विषयमा पनि विशेष जोड दिइयो। नयाँ पुस्तालाई सिर्जनात्मक लेखन र अध्ययनतर्फ आकर्षित गर्न नियमित साहित्यिक गतिविधि सञ्चालन गरिरहनुपर्ने आवश्यकता औँल्याइयो।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नवीन पल्लवले गरेका थिए भने समापनका अवसरमा प्रतिष्ठानका अर्थ विभाग प्रमुख गोपालकृष्ण अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, साहित्यकार तथा आयोजकप्रति आभार व्यक्त गरे।
लोमश वाङ्मय प्रतिष्ठानले विगतदेखि नै नियमित रूपमा साहित्यिक बहस, कृति परिचर्चा, विमोचन तथा स्रष्टा सम्मानका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि साहित्यिक अभियानलाई अझ व्यापक, प्रभावकारी र समाजमुखी बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको निष्कर्षस्वरूप सहभागीहरूले साहित्य केवल शब्दहरूको संयोजन नभई समाजको आत्मा भएको धारणा व्यक्त गरे। एउटा असल पुस्तकले व्यक्तिको सोच बदल्न सक्छ, बदलिएको सोचले परिवार, समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ अघि बढाउन सक्छ भन्ने विश्वास व्यक्त गर्दै ‘ऐना’ जस्ता कृतिले मानिसलाई अरूको होइन, पहिले आफ्नै प्रतिबिम्ब हेर्न सिकाउने र आत्मचेतनाबाट समाज परिवर्तनको यात्रा सुरु हुने प्रेरणादायी सन्देश दिएको निष्कर्ष निकालिएको थियो।
