२० जेष्ठ २०८३, बुधबार

ट्रायल सेन्टरका थोत्रा सवारीसाधनले हजारौंको सपना चकनाचुर

काठमाडौं । महिनौंसम्म पसिना बगाएर ड्राइभिङ सिके, हजारौं रुपैयाँ खर्च गरेर प्रशिक्षण लिए, आत्मविश्वासका साथ ट्रायल सेन्टर पुगे । तर ट्रायल दिने बेला आफूले गरेको गल्तीले होइन, ट्रायल सेन्टरमै उपलब्ध गराइएको जीर्ण र मर्मतविहीन सवारीसाधनका कारण फेल हुनुपरेपछि सेवाग्राहीहरू आक्रोशित बनेका छन् ।

यातायात व्यवस्था कार्यालयअन्तर्गत ट्रायल सञ्चालन हुने स्थानहरूमा प्रयोग गरिने सवारीसाधनहरू राम्रो अवस्थामा नराखिएको गुनासो लामो समयदेखि उठ्दै आएको भए पनि पछिल्लो घटनाले यस विषयलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ ।

आज गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय ठुलोभर्याङको ट्रायल सेन्टरमा ट्रायल दिन पुगेका एक सेवाग्राहीको सवारीसाधन को हाते ब्रेक नै अड्किएपछि उनी ट्रायलमा असफल भएका थिए । आफूले कुनै गल्ती नगरेको दाबी गर्दै ती सेवाग्राहीले ट्रायल सेन्टरमा उपलब्ध गराइने सवारीसाधनको नियमित परीक्षण र मर्मतसम्भार नहुने गरेको आरोप लगाए ।

सेवाग्राहीहरूका अनुसार टेन्डर प्रक्रियामार्फत निश्चित शुल्क उठाएर ट्रायलका लागि सवारीसाधन उपलब्ध गराउने कम्पनीहरूले आफ्नो जिम्मेवारी पूरा नगर्दा यसको प्रत्यक्ष मार परीक्षार्थीमाथि परेको छ । सामान्य प्राविधिक समस्या भएका सवारीसाधनका कारण धेरैले ट्रायलमै आत्मविश्वास गुमाउने गरेका छन् ।

ट्रायल सेन्टरमा भेटिएका परीक्षार्थीहरूले “राम्रो कन्डिसनको सवारीसाधन भएको भए कम्तीमा आधाभन्दा बढी फेल हुने अवस्था आउने थिएन” भन्ने गुनासो गरेका छन् । उनीहरूका अनुसार कतिपय सवारीसाधनको ब्रेक कमजोर हुन्छ, कतिपयको एक्सेलेटर असामान्य हुन्छ भने कतिपयमा स्टेयरिङ र क्लचसम्बन्धी समस्या देखिन्छ ।

यही कमजोरीलाई आधार बनाएर केही बिचौलियाहरूले “ट्रायल फेल भए पनि चिन्ता नगर्नुस्, पास गराइदिन्छौं” भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने गरेको आरोपसमेत उठेको छ ।

केही समयअघि गृह मन्त्रालयको प्रत्यक्ष निगरानी बढेपछि लुकेका बिचौलिया समूहहरू पुनः सक्रिय हुन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार केही सरकारी कर्मचारी, ठेकदार र बिचौलियाबीचको मिलेमतोले ट्रायल प्रणालीमाथि प्रश्न उठाउने वातावरण सिर्जना गरिरहेको छ ।

सेवाग्राहीहरूले ट्रायल सेन्टरमा प्रयोग हुने सम्पूर्ण सवारीसाधनको नियमित प्राविधिक परीक्षण, सीसीटीभी निगरानी तथा स्वतन्त्र अनुगमनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।