१४ जेष्ठ २०८३, बिहीबार

वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति कपको उपाधि वडा नं. १६ लाई 

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ द्वारा आयोजित “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” को उपाधि आयोजक वडा नं. १६ ले जितेको छ । लैनचौर खेल मैदानमा भएको रोमाञ्चक फाईनलमा वडा नं. ५ लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै वडा नं. १६ विजेता बनेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । हजारौं दर्शकको उत्साहबीच भएको प्रतिस्पर्धामा वडा नं. १६ ले धैर्यता र आत्मविश्वास कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

यो केवल फुटबल प्रतियोगिता मात्र थिएन, स्वर्गीय मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाले भरिएको एक विशेष अभियान बनेको देखियो । खेल अवधिभर मैदानमा देखिएको खेल भावना, आपसी सद्भाव र युवाहरूको ऊर्जा अहिले समुदायमा चर्चाको विषय बनेको छ ।

प्रतियोगितामा प्रथम हुने वडा नं. १६ ले रु २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता वडा नं. ५ ले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

कार्यक्रमको उद्घाटनदेखि समापनसम्मको सञ्चालन कुशल कार्यक्रम सञ्चालक गोपाल घिमिरे ले गर्नुभएको थियो ।
समापन समारोहमा विभिन्न संघसंस्था तथा व्यक्तित्वलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

युवा मैत्री कार्यक्रम सञ्चालन गरेको भन्दै वडा अध्यक्ष रोजिना श्रेष्ठ र वडा सचिव प्रकाश खड्का को विशेष प्रशंसा गरिएको थियो ।

स्व. मुकुन्द रिजालकी धर्मपत्नी कविता आचार्य रिजाल तथा छोरा सार्थक रिजालसन्देश रिजाल ले वडाले स्वर्गीय मुकुन्द रिजालको सम्झनामा आयोजना गरेको कार्यक्रमले आफ्नो परिवारलाई अत्यन्त भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

लैनचौर मैदानमा यसपटक फुटबल मात्र खेलिएन, सम्झना, सम्मान र समुदायको एकता पनि देखियो ।