१३ जेष्ठ २०८३, बुधबार

स्व. मुकुन्द रिजालको सम्झनामा भावनाको महासागर — लैनचौरमा हुँदै उपाधिको निर्णायक भिडन्त

काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं. १६ द्वारा आयोजित “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” अहिले उत्कर्षमा पुगेको छ । प्रतियोगिताको बहुप्रतिक्षित फाईनल खेलमा वडा नम्बर ५ र वडा नम्बर १६ भिड्ने निश्चित भएपछि खेलप्रेमीहरूमा रोमाञ्चक वातावरण सिर्जना भएको छ ।

जेठ १४ गते बिहान ८ बजे लैनचौर खेल मैदानमा हुने उक्त फाईनल केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, स्वर्गीय मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाले भरिएको विशेष क्षण बन्ने देखिएको छ ।

प्रतियोगिताको सुरुवातदेखि नै विभिन्न वडाका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलाडीहरूको जोश, मैदानभित्रको संघर्ष र दर्शकको उत्साहले प्रतियोगितालाई राजधानीकै चर्चित वडास्तरीय फुटबल प्रतियोगिताका रूपमा स्थापित गराएको स्थानीयहरूको भनाइ छ ।

विशेष गरी आयोजक वडा नं. १६ फाईनलमा पुगेपछि स्थानीय समर्थकहरू थप उत्साहित बनेका छन् । घरेलु समर्थकको साथ पाएको वडा नं. १६ लाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । तर अर्कोतर्फ वडा नं. ५ पनि लगातार प्रभावशाली प्रदर्शन गर्दै फाईनलसम्म पुगेकाले खेल अत्यन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

स्व. मुकुन्द रिजालले समाज र युवाप्रति पुर्‍याएको योगदानलाई सम्झँदै प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ । खेलकुदमार्फत युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ ।

प्रतियोगिता अवधिभर मैदानमा देखिएको ऊर्जा, आपसी सद्भाव र खेल भावना अहिले चर्चाको विषय बनेको छ । धेरैले यसलाई  फुटबल प्रतियोगिता नभई समुदायलाई जोड्ने अभियानका रूपमा समेत व्याख्या गरेका छन् ।

फाईनल खेलपछि हुने समापन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ । विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान गरिनेछ ।

अहिले लैनचौर मैदान फेरी एकपटक ऐतिहासिक क्षणको साक्षी बन्ने तयारीमा छ ।
दर्शकहरूको मनमा एउटै प्रश्न छ — “यस पटक स्व. मुकुन्द रिजाल स्मृति कप कसले उचाल्ला ?”