प्रतिनिधि सभा उम्मेदवार,नरेश भण्डारीज्यू,सादर नमस्कार 🙏
म जुम्लाकै एक साधारण नागरिक हुँ। मेरो परिचय कुनै ठूलो पद वा हैसियतसँग जोडिएको छैन, तर मेरो जीवन एउटा महान् बलिदानसँग जोडिएको छ। १० वर्षे माओवादी जनयुद्धका क्रममा हजारौँ सहिद भए। उहाँहरूले देख्नुभएको सपना थियो—गरिब, दुर्गम र पछाडि पारिएको कर्णाली पनि एक दिन उज्यालो, आत्मनिर्भर र सम्मानित बनोस् भन्ने।
आज जब म पछाडि फर्केर हेर्छु, ती सपनाहरू शब्दमा होइन, कर्ममा उतार्ने नेतृत्व तपाईं हुनुहुन्छ भन्ने अनुभूति हुन्छ।
२०६४ सालमा संविधानसभा निर्वाचन जितेर काठमाडौँ पुग्नुभएपछि पनि तपाईंको मन जुम्लामै रहिरह्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहल र स्थापना पश्चात्, पहिले बिरामी बाहिर पठाउन बाध्य जुम्ला आज विकसित सहरका अस्पतालमा दक्ष चिकित्सक पठाउने अवस्थामा पुगेको छ। जुम्लामै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने अवस्था बनेको छ।
मट्टीतेलको टुकी र काठको झरोको उज्यालोमा बाँचिरहेको जुम्लामा चुकेनी जलविद्युत् आयोजना मार्फत बिजुली पुर्याई जुम्लालाई झिलिमिली बनाउनु यी भाषण होइनन्, हामीले आफ्नै आँखाले देखेका परिवर्तनहरू हुन्।
घण्टौँ हिँडेर नदी, कुवा र सामूहिक धारामा लाइन बसेर पानी बोकेका दिनहरू अझै स्मृतिमा ताजा छन्। आज धौलीघाट खानेपानी परियोजनामार्फत करिब १०,००० घरधुरीमा धारा पुग्दैछ भन्ने कुरा सुन्दा, सहिदहरूको आत्माले पनि सन्तोष पाएको अनुभूति हुन्छ।
अब २०८२ फागुन २१ गतेको निर्वाचनपछि, खस साम्राज्यको राजधानी तथा नेपाली भाषाको उद्गमस्थल सिंजाको पहिचान जोगाउने सभ्यता विधेयक, तिला–जवा जलविद्युत् आयोजनामार्फत ऊर्जामा आत्मनिर्भर कर्णाली, उच्च पर्वतीय विश्वविद्यालयमार्फत शिक्षा, अनुसन्धान र अवसरको केन्द्र बनाउने योजनाहरू,यी केवल राजनीतिक घोषणा मात्र होइनन्; इतिहाससँग न्याय गर्ने प्रयास हुन्। यी जुम्ला र कर्णालीका हजारौँ आवाजहरूको प्रतिबिम्ब हुन्।
सहिदहरूले बन्दुकको नालबाट देखेको सपना तपाईंले कलम, नीति र विकासका कार्यमार्फत पूरा गर्दै हुनुहुन्छ। यो परिवर्तन संयोग होइन,जनयुद्धको राजनीतिक उपलब्धि हो। त्यसैले यो पत्र केवल मेरो व्यक्तिगत भावना मात्र होइन; यो सहिदहरूको सपना, रगतले लेखिएको इतिहास, कर्णालीबासीको अधिकार र जुम्लाको भविष्य अधूरो नछोडियोस् भन्ने गम्भीर आग्रह हो।
एक कर्णालीवासीको कृतज्ञता, एक नागरिकको आशा र सहिद परिवारको भरोसा यही हो।बलिदान व्यर्थ गएको छैन भन्ने प्रमाण कर्मबाट स्थापित होस्।कर्णालीलाई केवल नक्सामा सीमित नराखी राष्ट्रिय सम्मानको केन्द्रमा पुर्याउने यात्रामा तपाईं सफल हुनुहोस्। सहिदहरूका सपना अधूरा नरहून्—त्यसैले मात्र सहिदहरूको बलिदानले पूर्ण अर्थ पाउनेछ।
त्यसैले यो पत्र व्यक्तिगत प्रशंसा वा धन्यवादमा मात्र सीमित छैन; सहिदहरूको सपना, कर्णालीबासीको भरोसा र जुम्लाको भविष्य सफलतापूर्वक अगाडि बढोस् भन्ने कामना सहित लेखिएको हो।
तपाईंको यात्रा सफल होस् हार्दिक शुभकामना!
अब जुम्ला र कर्णालीबासीका नारा,सहिदको सपना कर्णालीको विकास,काम गर्ने नेतृत्व जुम्लाको भविष्य
बोल्ने होइन गर्ने नेता चाहियो, अन्धकारबाट उज्यालोतर्फ , जुम्ला अगाडि बढ्छ,सिंजा जोगाऔँ कर्णाली बनाऔँ बिजुली, पानी, स्वास्थ्य यही हो विकास,कर्णाली अब पछाडि होइन, अगाडि सहिदको रगत खेर जान दिँदैनौँ।
ई. प्रकाश बुढा
गुठीचौर–३, गर्ज्याङ्कोट, जुम्ला
