काठमाण्डौ / सूचक प्रकाशन काठमाडौँको आयोजनामा ओशो तपोवनको पवित्र स्थानमा एक विशेष कार्यक्रमको आयोजना गरि समाजमा धार्मिक सहिष्णुता,प्रेम र सद्भावको सुवास छर्न अहोरात्र समर्पित पूज्यपाद बोधिसत्व स्वामी आनन्द अरुणलाई उहाँको योगदानको कदरस्वरुप शिखर अभिनन्दन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्टानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा शिखर अभिनन्दन संयोजन समितिका अध्यक्ष राजकुमार बानिया कौशिकको सभापतित्व , विशेष वक्ताका रुपमा चर्चित पत्रकार टीकाराम यात्री,सम्यक् सन्देशका संरक्षक एवं शिक्षासेवी केदारनाथ श्रेष्ठ, बौद्ध अध्येता एवम् सम्यक् सन्देशका सलाहकार श्यामलाल चित्रकार, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि राईद्वारा गमलामा जलार्पण गरेर उद्घाटन गरिएको कार्यक्रम राष्ट्रिय गान बजाएर राष्ट्र प्रति सम्मान प्रकट गर्दै सुरुवात गरिएको थियो । कार्यक्रममा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलद्वारा अभिनन्दन पत्र वाचन गरिएको थियो ।
सो समारोहमा प्रमुख अतिथिको भूमिकामा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ओशो तपोवन जस्तो आध्यात्मिक ऊर्जा केन्द्रमा शब्दभन्दा मौन साधनाको विशेष महत्त्व रहने उल्लेख गर्नुभयो । उहाँले कवितालाई पनि एक प्रकारको ‘मौन साधना’ का रूपमा चित्रित गर्दै वर्तमान समयका पथभ्रष्ट राजनीतिज्ञहरूलाई हृदयको शुद्धीकरणका लागि कविता लेख्न वा त्यति गर्न नसकेमा कम्तीमा कविता अध्ययन गर्न सुझाव दिनुभयो। कुलपति राईले भौतिकताको आडम्बरमा बुद्धका मूर्ति मात्रै बेच्नुको सट्टा बुद्धत्वको बोध र ज्ञानलाई आत्मसात् गर्नु नै वास्तविक ‘बोधिसत्व’ प्राप्तिको मार्ग भएकोमा जोड दिनुभयो । मानसिक स्वास्थ्य र आत्मिक शान्तिका लागि योग एवं ध्यान अपरिहार्य रहेको र स्वामी आनन्द अरुणलाई ‘मानसिक स्वास्थ्य क्रान्तिका संवाहक’ का रूपमा चित्रण गर्दै उचित पात्रलाई अभिनन्दित गरी समाजलाई सकारात्मक सन्देश दिने कर्मका लागि सूचक प्रकाशनका अध्यक्ष भेटुवालको प्रशंसा गर्नु भयो ।
उक्त कार्यक्रमको अभिनन्दित व्यक्तित्वका बारेमा चर्चित पत्रकार टीकाराम यात्रीले स्वामी आनन्द अरुणलाई दार्शनिक गहिराइ र धार्मिक सहिष्णुतायुक्त ‘सद्गुरु’ का रूपमा चित्रण गर्दै उनको अभियानले समाजलाई सुमार्गमा डोहोऱ्याउन विशिष्ट योगदान दिएको बताउनुभयो ।
सुरुवाती चरणमाा ओशोका साहित्यहरु बिक्री गर्ने ,ध्यान शिविरहरु चलाउने र व्यवस्थापन गर्ने क्रममा कठीन संघर्षले अघि बढ्दै नेपालमै पनि ९० वटा भन्दा बढी ओशो सेन्टरको स्थापना गर्न सक्षम आनन्द अरुण एक योग्य गुरुका अशल शिष्यका रुपमा स्थापित नाम हो ।
एक प्रतिष्ठित व्यापारिक घरानाका सदस्य एवं पेशाले इन्जिनियर रहेका स्वामी अरुणले निर्माण गरेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भवन उहाँको व्यावसायिक कुशलताको ज्वलन्त उदाहरण भएको समेत यात्रीले उल्लेख गर्नुभयो।
कार्यक्रममा अभिनन्दित व्यक्तित्व स्वामी आनन्द अरुणले ५६ वर्षअघि सद्गुरु ओशोको सान्निध्यबाट आफ्नो आत्मिक चिन्तनको द्वार खुलेको स्मरण गर्दै नेपालजस्तो पुण्य भूमिमा जन्म लिन पाउनुलाई प्रारब्धको सुकर्म र अहोभाग्यका रूपमा चित्रण गर्नुभयो। आफूलाई केवल योग साधनाको एक विनम्र साधकका रूपमा प्रस्तुत गर्दै उहाँले ‘सूचक प्रकाशन’ द्वारा प्रदत्त सम्मानले समाज र राष्ट्रप्रति अझै समर्पित हुन थप नैतिक जिम्मेवारी बोध गराएको बताउनुभयो ।
ऋषिमुनिहरूको तपोभूमि नेपालमा शिवपुरी बाबा, खप्तड बाबा, पाइलट बाबा र पद्मसम्भव जस्ता हजारौँ महापुरुषहरूले सिद्धि प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस पावन धरालाई विश्वकै उत्कृष्ट योग साधना गन्तव्यका रूपमा विकास गर्न सरकारले उचित नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
विभिन्न मुलुकको पर्यटन विकासको उदाहरण प्रस्तुत गर्दै स्वामी अरुणले नेपालले उपयुक्त नीति अवलम्बन गर्न सके विश्वभर रहेका करिब डेढ अर्ब हिन्दु र त्यति नै सङ्ख्यामा रहेका बौद्ध धर्मावलम्बीहरूलाई पशुपतिनाथ, लुम्बिनी र सगरमाथाको भ्रमण गराई धार्मिक,आध्यात्मिक एवं पर्यटनमार्फत आर्थिक समृद्धिको शिखर चुम्न सकिने धारणा व्यक्त गर्नुभयो।
सो समारोहलाई सम्बोधन गर्दै प्रकाशनका अध्यक्ष दीपक भेटुवाल दीपसागरले जीवनको उच्च मूल्य र मान्यता कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्नु भएका पूज्यपाद बोधिसत्व आनन्द अरुणजस्तो विराट व्यक्तित्वलाई शिखर अभिनन्दन गर्न पाउँदा अपार हर्ष मिलेको बताउनु भयो ।
प्रकाशनद्वारा भाषा कला साहित्य समाजसेवा ,संस्कृति र अध्यात्मका क्षेत्रमा यस अघि विशिष्ट योगदान पुर्याएका संस्कृतिविद् सत्यमोहन जोशी राष्ट्रकवि माधवप्रसाद घिमिरे भद्रकुमारी घले,डा. निरञ्जन पौडेल, प्रा.डा. प्रकट पोख्रेल तथा शिक्षासेवी केदारनाथ श्रेष्ठ दम्पत्तिलाई समर्पण गरिसकेको बताउनु भयो ।
समाज प्रतिको यस्ता सुकर्मले सामाजमा सहिष्णुता , धार्मिक र आध्यात्मिकता बृद्धि हुँदै जाने विचार व्यक्त गर्दै प्रकाशनका अभियान आगामी दिनमा समेत निरन्तर चलिरहने बताउनु भयो ।
कार्यक्रममा नवराज दाहाल,राधा कार्की,रुबि सत्याल,जितेन्द्र रसिक,सेजल काफिया,गङ्गा खतिवडा,रबिन्द्र आशिष,निराजन मौदगल्य,आल्फिफोहेन फाक्लुप्पा,कमला घिमिरे,तारा सुवेदी,अप्सरा केसी,राधा कार्की,बासुदेव ठकुरीले रचना वाचन गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि रचना वाचन गर्नुहुने स्रष्टाहरु लगायत संयोजकहरुलाई स्वामी आनन्द अरुणले प्रमाणपत्र तथा कदर पत्र प्रदान गर्नुभएको थियो ।
माइण्ड प्लसका प्रवन्ध निर्देशक तथा प्रतिभा समन्वय समितिका संयोजक नवीन पल्लवद्वारा सहजीकरण गरिएको कार्यक्रममा करिव २००को हाराहारीमा ओशो सन्यासी साधकहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमलाई शिखर अभिनन्दन संयोजन समितिका उपसंयोजक रामराजा वस्नेतद्वारा धन्यवाद ज्ञापन सहित सभा विसर्जन गरिएको थियो ।
