– जानुका धमला
छोरी अनुपमा भर्खरै किशोरावस्थामा प्रवेश गरेकी छिन । बाल्यकालमा शान्त स्वभावकी छोरी यो उमेर समुहमा प्रवेश गरेपछि निकै उत्सुक र जिज्ञासु भएकी छे । घरका प्रत्येक सरसामानसंग उसको अनौठो सामीप्यता छ । कोठामा रहेका हरेक सामानको बारेमा जस्तै भित्तामा ईन्लार्ज गरेर राखिएका २ वटा ठूला फोटोको बारेमा पनि ऊ अनौठा अनौठा प्रश्न गर्छे मसंग । हुन त देशमा गणतन्त्र घोषणा भएको पनि १६ वर्ष पुगिसक्यो नि । अहिलेसम्म यसको चित्तबुझदो उत्तर नपाएर पनि होला त्यो बाबाको ए के ४७ राइफल बोकेको फोटो र उसले नपत्याउने अनुहारमा ईन्लार्ज गरिएको बाबा आमाको फोटोको बारेमा खासै बोल्दिन आजकाल । नसोधेको होइन उसले यस अघि बालसुलभपनको आवाजमा त्यो बन्दुक बोकेर खिचेको फोटो कसको हो भनेर । तर मैले दुई चार पटक झर्केर उत्तर दिएपछि भने उसले फेरि सोध्ने आँट गरिन ।
असरल्लै छन् विगतका यादहरु । कहाँबाट कसरी पो टिपौँ खै ती भावहरुलाई । कुहिरोमा हराएको काग जस्तै अलमल्ल पर्छु ।
मेरो स्कुले जीवनकी क्लासमेट अमेरिकन ग्रिनकार्डवाली पाल्मो, केही समय मात्रै भयो यो भर्चुअल दुनियाँमा ऊसंग जोडिएको पनि । फेसबुकमा नाम त धेरै पटक सर्च गरेँ तर उसको नाम कहिल्यै देखाएन फेसबुकले। जब मैले उसको एकजना आफन्तबाट फेसबुक नाम अर्कै भएको थाहा पाएँ, तब उक्त नाम सर्च गरेर रिक्वेस्ट पठाएको केही समयपछि नै स्वीकारेको सुचना आयो मेरो मोवाइलमा । अनि हतारहतार गर्दै म्यासेज गरेँ ,“हाई पाल्मो ! आरामै हो नि? चिन्छेस् मलाई ?´´ उताबाट जवाफ आयो , “आज मात्रै याद आयो तँलाई मेरो ? यत्रो वर्षसम्म कता हराइस् ?काभ्रेको रोशी खोलामासम्म पुगेँ तँलाई भेट्छु कि भनेर । म नेपाल आएकी छु । आज मेरो घरमा खाना खानेगरी आइज। हामी छुटेको कति वर्ष भयो, याद छ तँलाई ? ´´ मैले उसको निम्तोलाई स्वीकारेँ। “ हुन्छ, म आउँछु। बरु तेरो घर पो कहाँ छ थाहा छैन मलाई । माछापोखरीमा लिन आइज ।´´ एक आपसका मोबाइल नम्बर साटासाट गरेर हामीले कुराकानीको बिट मार्यौँ।
जब म उसको घरमा पुगेँ, रानीवनका चराचुरुङ्गीहरूका कतै “को हो ? को हो?´´ त कतै “काफल पाक्यो´´ का कर्णप्रीय आवाजले वातावरणलाई सङ्गीतमय तुल्याइरहेको भान भयो । लामो समयको अमेरिका बसाइबाट आएको भए पनि पाल्मोको स्वभावमा खासै फरक थिएन। पहिलेकै स्कुले जीवनका कुरामा हरायौँ हामी पटक पटक । बिहानको पढाइमा एैँसेलु घारीमा लुकाएको गहुँको रोटी केटाहरुले चोरेर खाएकोदेखि बिस वर्ष अघि ऊ मेरो घरमा बस्दा बिसमुरे फाँटमा दाँदेमा बसेर खेत हिल्याई रोपाईँ गरेको, म उसको घरमा बस्दा उसको गेर्खु फाँटको खेतमा डोकोमा मल बोकेकोसम्मका रोमाञ्चक अतीतमा हराउँदा समय बितेको पत्तै भएन। ऊसंगको भेटले एउटा अलग्गै आनन्दको अनुभूति दिलायो ।
पाल्मो आफनो करियर बनाउँछु र डाक्टर बनी स्वदेश फर्केर दीनदुखीहरुको सेवा गर्छु भन्दै अमेरिका पुगी। म देशमा भएको अन्याय अत्याचारको विरुद्धमा शासन व्यवस्था परिवर्तन गर्छु र भुइँमान्छेको लागि पनि राज्य हुनुको आभास गराउँछु भनेर जनयुद्धमा लागेँ । अहिले म आफूले आफैंलाई हेर्दा हारेको रुन्चे कमाण्डरको जितेको ओजस्वी सेनाको रुपमा पाउँछु । सायद त्यसै भएर पनि होला विगतामा रोजेको बाटोप्रति पटक्कै पश्चत्ताप छैन मलाई ।
एक छिनको मौनता पछि उसले हाँस्दै बोली , “छोरी त फोटोकपी नै रहिछ नि है, आनन्दको ?´´
मैले त्यसको कुनै जवाफ फर्काउन सकिनँ ,उसले बुझी मेरो मनको भाव र भनी, “सरी यार ! मैले तेरो मन दुखाउन खोजेको होइन । दुखी नहो । तेरो विगतलाई मेरो पनि सम्मान छ । यदि तँ जस्तै हजारौँ मान्छेहरु जनयुद्धमा नहिँडेको भए न देशमा यति चाँडै क्रान्तिकारी चेतनाको उभार आउँथ्यो, न त गणतन्त्रको घोषणा नै सम्भव थियो । नेताहरुले जनयुद्धको घोषणा गर्दा जुन सपना देखाएका थिए , त्यो अझै पूरा भएको त छैन । तर , त्यसमा तेरो के दोष छ र दुखी हुन्छेस् ? तँ बहादुर छोरी होस् , प्यारी ! कोक्रो हल्लाउने हातले संसार हल्लाईस्,मसला पिस्ने हातले बारुद पिसिस् र अत्याधुनिक हतियार समातेर वर्ग दुश्मनको रक्षाकवच बनेको सैन्य क्यापमा गएर धावा बोलिस् । युद्धमा हजारौँ बम गोलीसँग खेलेको तँ बहादुर सिपाही । जीवनले लिने हरेक अग्निपरीक्षामा आफुलाई अब्बल साबित गर्न सक्ने क्षमतावान लडाकु तँ मेरो साथी। तैँले देशको लागि प्रीय मान्छे र आफन्तहरु गुमाइस्। आगोको लप्कासँग खेलिस् र वास्तविक जीवनको स्वाद लिएर बाँचीरहेकी छेस् । सलाम छ तँलाई ।´´ उसले उठेर एक पटक सलाम गरी। झन् गर्व लाग्यो विगतप्रति । उसले थपी,“ मैले अरुको देशमा आफनो युवा अवस्थालाई सकेँ। तैँले त कमसेकम स्वदेश र आफ्नै माटोको लागि केही योगदान गरिस् । मलाई थाहा छ ,अहिलेको अवस्थासँग तँ खुशी छैनस् । मैले तेरो अतीत कोट्याएर खाटा बसेको घाउ बल्झाउन खोजेको होइन ।´´
उसैले अमेरिकाबाट ल्याइदिएको गाउन लगाएर छोरी पनि सजाएकी गुडिया भन्दा कम देखिएकी थिइन । छोरीहरू अलि पर बसेर आपसमा चिनाजानी गरी बातचीतमा मस्त थिए। अचानक आनन्दको छोरी हामी नजिकै आएर पाल्मोतिर हेर्दै सोधी,“आन्टी ! को आनन्द भन्नुभाको हजुरले? ´´ ऊ तुरुन्तै मलाई कोट्याउँदै सोध्न लागी, “मामु ! को आनन्द भन्नुभा आन्टीले?´´ पाल्मो र म आपसमा हेराहेर गरिरह्यौँ केहीबेर। मैले यो पटक पनि छोरीको प्रश्नमा मौनता देखाएँ । वातावरणमा सन्नाटा छायो केही समयको लागि । यस अघिका दिनहरुमा छोरीसङ्ग जे जति झुट बोलेपनि अब म उसलाई लामो समयसम्म गुमराहमा राख्न सक्ने अवस्थामा थिइनँ । तरपनि तत्कालको निम्ति मैले उसको प्रश्नलाई विषयान्तर गर्दै टारिदिएँ। आमाहरुको जस्तै दोस्ती बढ्यो छोरीहरुमा पनि । खुब रमाउँदै आ आफ्ना जीवन अनुभूतिहरू साटासाट गरे। खानपान सकियो । हाम्रो बिछोडको २० वर्षपछि पुनर्मिलन भएकोमा खुशीका बिम्बहरू सम्हाल्नै नसक्नेगरी पोखिएका थिए एक अर्काबीच । गोधुली सन्ध्यामा घामका किरणहरु नागार्जुन डाँडामा सप्तरंगी इन्द्रेणी भएर आफ्ना सुन्दरता देखाउँदै थिए । झयाउँकिरीका आवाजहरु पनि सुनिन थाल्यो । बिदा हुने आदेश मागेँ अर्काे पटक छिट्टै भेट्ने प्रण सहित ।
व्यक्तिगत जीवन संर्घषका दिनहरूमा यो भेटघाटले थोरै भएपनि मल्हमपट्टी लगाउने काम गर्यो। कहिलेकाहीँ एक छाक पेटभरि खान नपाउँदा पनि उसैलाई फोन गरेर सुनाउँथेँ समस्या । अनि, छोरी बिरामी भै बेखर्ची हुँदा उसैलाई सम्झिन्थेँ । कहिलेकाहीँ त मैले उसलाई मनमनै सम्झेको दिन उसलाई पहिल्यै थाहा भएको जसरी नै उसैले फोन गरेर भन्थी ,“तँलाई अप्ठेरो परेको छ भने भन्, म पैसा पठाइदिन्छु। ´´मेरो मौनतको भाव उसले सहजै बुझ्थी र भोलिपल्ट पैसा पठाइदिन्थी । कयौँपटक उसले पठाएको पैसाले छोरीको स्कुलको फि तिरेकी छु । कयौँपटक कोठाको भाडा र छोरीलाई नयाँ नाना समेत किनेकी छु । सायद दुनियाँमा यही रहेछ सच्चा मित्रता भनेको ।
पाल्मोसँग छुट्टिएपछि त्रिशुलीको छाल झैँ अनगिन्ती प्रश्नका अनुत्तरित छालहरू एकपछि अर्को गर्दै उर्लेर आए मानसपटलमा। बाटो काटेको पत्तै भएन।मैले रोजेको बाटो सही हुँदाहुँदै पनि आज म किन दुखी छु ? मैले देखेका सपनाहरु किन असरल्ल छन् आजकल? गाँस,बास,कपासको कुरा गर्ने म आज त्यही कुराबाट किन बन्चित छु ? छोरीले भोक लाग्यो भन्दा किन पेटभरि खान दिन सक्दिनँ कहिलेकाहीँ ? ज्यामी काम गरेर कतिदिन चल्छ मेरो गुजारा ? यसको दीर्घकालीन समाधान के ? यस्तै यस्तै हजारौँ प्रश्नले उत्तर नपाउँदै कोठामा पुग्छु म । ढोका खोल्छु अनि ढोका नजिकै भित्तामा ठूलो फ्रेममा सजाइएको आनन्दको फोटोमा हेर्छु र नियाल्छु छोरीको अनुहारमा ।आँखा त्यतै टोलाउन थालेछन् । छोरीले फेरि पनि सोधी , “ ममी आनन्द भनेको को हो ? फेरि तपाईँ यो फोटोमा के हेर्देहुनुहुन्छ ? मेरो बाबा खै ? कहिले आउनु हुन्छ मलाई पाल्मो आन्टीले जस्तै राम्रो गाउन लिएर ?´´ उसको बालमनोविज्ञानमा कुनै पनि असर नपरोस् भनी आजसम्म भन्न नसकेको रहस्यको वकालत गर्न बाध्य छु आज छोरीलाई न्यायाधीश बनाएर उही समीपको कठघरमा उभिँदै ।
“अनुपमा ! तिमी मेरो पेटमा नै टुहुरी भएकी छोरी हौ । तिम्रो बाबालाई तिमी मेरो पटेमा हुर्किँदैछौ भन्ने कुरा समेत भन्न भ्याएकि थिइनँ मैले त्यो बेला । बाबा र म दुवैजना जनमुक्ति सेनाको सदस्य थियौं । वर्ग दुश्मनलाई ध्वस्त पारेर गरीब र निमुखा वर्गलाई सुखको दिन ल्याउनको निम्ति लडाइँको कमाण्डर बनेर गएका तिम्रा बाबासँग मेरो फेरि कहिल्यै भेट भएन। तीन महिनाकी थियौ तिमी मेरो गर्भमा । बाबाको र मेरो एउटै सपना थियो यो देशमा निरंकुश व्यवस्थाको अन्त्य गरेर गरीब दुखी जनताले पनि एक छाक पेटभरि खान पाउनुपर्छ, शरीरमा एक जोर कपडा लगाउन पाउनुपर्छ र आफनो घरमा बस्न पाउनुपर्छ भन्ने । हो छोरी, यस्तै सपना थियो तिम्रो बाबाको । यही कठिन सुन्दर भविष्य निर्माणको साहसिक अभियानमा सहभागी हुँदा तिम्रा बाबा सहिद हुनुभयो २०६०साल भदौं १८ गते सल्लाहिको नयाँ रोडमा । मलाई निकै डर लागेको थियो उसका हरेक शब्दहरुको जवाफ दिने सामर्थ्य राख्छु कि राख्दिनँ भनेर तर मैले सोचेको भन्दा फरक तरिकाले प्रस्तुत भई ऊ । “त्यसोभए म जनमुक्ति सेना आनन्दको छोरी हो ?´´ उसले सोधेको प्रश्नको जवाफ ढाँटिनँ मैले यसपटक । जब मैले उसको बाबाको बलिदानको बारेमा भनेँ, ऊ आज्ञाकारी छोरी भएर सुनिरही र भनी , “त्यही भएर पो मामु प्रत्येक रातका सपनाहरुमा ऐठन भएर रुनुहुँदो रहेछ । ममी ! मेरो गुरुआमाले भन्नु भएको देश र जताको लागि आफनो ज्यानको पर्वाह नगरी लडेर ज्यान गुमाउने वीर योद्धाहरुलाई सहिद भनिन्छ रे । नेपालमा जहानियाँ राणाशासनका विरुद्ध लड्ने ४ सहीद सहित विभिन्न कालखण्डमा भएका युद्ध र आन्दोलनमा मेरा बाबा जस्तै धेरै वीर योद्धाहरुको रगत र बलिदानबाट पो सम्भव भएको रहेछ त है राजतन्त्रको अन्त्य ? सहिद देशका गहना हुन् । हामीले आदर सम्मान गर्नु पर्छ है मामु सहिदहरुलाई ?´´ छोरीले थपी, “ यतिका वर्षसम्म हजुरले मलाई किन बाबाको बारेमा नभन्नुभा त ममी? ´´
छोरीको यो कठिन जवाफको उत्तर दिन सकिनँ मैले र अनायासै भावनामा बहकिएर छोरीलाई ग्वाम्लाङ्ग अङ्गालोमा बेर्दै भनेँ, “ छोरी ! तिम्रा बाबा दुखी गरीब जनताका मनमा हुनुहुन्छ अनि हुनुहुन्छ झुपडीहरुमा ।अँधेरी रातको आकाशमा देखिने चम्किला ताराहरुमा अनि तिम्रो आँगनमा रात्रीको अन्धकारलाई चिर्दै देखिने जूनका ज्योतिहरूमा कोहिनुर बनेर चम्किरहनु भएको छ तिम्रा बाबा ।´´
थाहा छैन,मैले भनेको कति बुझी छोरीले।तर, बोल्दाबोल्दै म भने अकस्मात चिच्याउन पुगेछु,“ आनन्द ! आनन्द! समानता खै ? मेरो क्रान्ति कहाँ गयो आनन्द ? खै , सपना खै? ´´ छोरीले झक्झक्याएर मलाई शान्त पारी र भनी, “ ममी ! हजुर यसरी बिचलित हुनुहुन्न। म छु नि । बाबा र हजुरका अधुरा सपना पूरा गर्न मैले के गर्नुपर्छ ? हजुरले सिकाउनुस्। म अघि बढ्छु।´´ ऊ जुरुक्क उठी। त्यही जनमुक्ति सेनाको कमब्याट ड्रेस लगाएर ए के ४७ राइफल बोकेको फोटोको अगाडि उभिएर उसकै बाबाको शैलीमा फोटोलाई स्यालुट गरी र भनी, “मलाई गर्व छ सहिदकी छोरी हुनुमा। हजुरको अधुरो सपना पूरा गर्न म आजैबाट अघि बढ्छु बाबा !´´
त्यति भनेर छोरी फेरि मेरो काखमा आएर बसी । म भने खाटमुनि राखिएको टिनको बाकसबाट आनन्दले हरेक साँझ लेख्ने गरेको डायरी निकालेर छोरीलाई देखाउन पाना पल्टाउन बेस्त थिए ।।