६ श्रावण २०८२, मंगलवार

आजै पनि कुशे ! कविता

लेखक : लाेकेन्द्र बिक्रम शाही

आजै पनि कुसे…😥

आजै पनि कुसे…
अझै उही छ —
पहाडको काखमा चुपचाप बसेको,
कहिल्यै नचिच्याउने,
तर भित्रभित्रै पीडाले टुक्रिएको।

घाम लाग्छ,
तर उज्यालो पुग्दैन गाममा,
बिजुलीको पोल गाडिएको वर्षौं भयो,
तर बत्ती अझै झिल्किएको छैन।

सडकको नक्सा बनेको छ,
तर हरेक बर्खामा बालक बग्छ —
काखमा किताब होइन,
खोलो तर्दै जीवन बोकेर।

विद्यालय त छ यहाँ,
तर भित्तामा चर्किएको छ साक्षरता,
कक्षामा टेबल कुर्सी छैन,
र पाठशालामा सपना छैन।

शिक्षक आउँछन् कहिलेकाहीँ,
पढाउँछन् होइन,
गन्न आउँछन् —
दिन, पैसा, घडी…

अस्पताल भनेर चिनिने भवन त छ,
भित्र न औषधि, न सेवा, न कोही सल्लाह दिनेसम्म,
छ भने बुढी आमाको मुटु दुखिरहेको छ —
तर उसले “ठिकै छ” भन्दै झूठ बोलिरहेकी छिन्।

आजै पनि कुसे चुप छ…

नारा सुनेको छ कुसेले —
शिक्षा, स्वास्थ्य, विकास, समृद्धि,
तर तिनको स्वाद कहिल्यै चाख्न पाएको छैन।

भोट माग्न नेताहरू आइपुगेका थिए,
झोला बोकेर, मुस्कानसहित,
भोट दिएर फर्किएको जनता,
आज पनि अस्पतालको चौरमा आँखा लागेर बसेको छ —
“तपाईंहरू फेरी आउनुहुन्छ त?”

कति वर्ष भयो,
खानेपानी योजना सुरु भएको?
तर गाउँले अझै टिनको बाल्टिन लिएर
ढुवानी गर्छन् — खोलासम्मको पथ भारीजस्तै !

सुधारको कुरा उठ्छ —
तर त्यो केवल भाषणमा सीमित हुन्छ,
बजेट आउँछ —
तर विकास घरदैलोमा कहिल्यै आइपुगेको छैन।

कुसे…

बाँचिरहेको छ —
तर बाँचेको महसुस छैन,
बोलिरहेको छैन —
तर भित्रभित्रै धेरै कुरा पोखिन बाँकी छ।

उज्यालो खोजिरहेको छ —
तर दिनभन्दा रात लामा छन् यहाँ,
र आशाभन्दा निराशा बलिया छन्।

आजै पनि कुसे पिछडिएको छ…

कति पटक खबर बनेको होला,
“कुसेमा बिजुली पुग्यो”,
“कुसेमा विद्यालय सुधार हुँदै”,
“कुसेमा अब सडक बन्ने”
तर गाउँलेका आँखाले कहिल्यै त्यो दिन देखेनन्।

कविता सकिएला,

तर कुसेको पीडा अझै बाँकी छ,
शब्दहरू सकिए होलान्,
तर कुसेको मौनता अझै भारी छ।

कसैले देख्दैन, कसैले लेख्दैन,
तर कुसे सहिरहेछ —
प्रश्नहरू बोकेर,
तर उत्तरविना…