१८ असार २०८२, बुधबार

भिटोफ-नेपालले जिबजिबेमा मनायो २२ औँ धान दिवस

– माधव घिमिरे ‘अटल’

कालिका गापा तथा गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)को संयुक्त तत्त्वावधानमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव- २०८२ सम्पन्न भएको छ । ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ रसुवा जिल्लामा कालिका गापाको जिबजिबे स्थित गैरीखेतमा मनाइएको उक्त महोत्सवमा पर्यटन व्यवसायी कृषक तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटाले अध्यक्षतामा सञ्चालित सो महोत्सवका प्रमुख अतिथि हुनुहुन्थ्यो- प्रतिनिधि सभाका सदस्य माननीय ई. मोहन आचार्य । यसैगरी विशेष अतिथिहरूमा जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे र गापा अध्यक्ष हरिकृष्ण देवकोटा हुनुहुन्थ्यो ।

यसैगरी अन्य अतिथिहरूमा नेपाली काँग्रेसका जिल्ला सल्लाहकार रामप्रसाद देवकोटा, सचिव लक्ष्मणप्रसाद देवकोटा, नेकपा एमाले र माओवादीका स्थानीय प्रतिनिधिहरू, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. रामशरण थपलिया, टानका अध्यक्ष सागर पाण्डे, भिटोफ-नेपालका सल्लाहकार प्रा.डा. प्रेम शर्मा, इस्टोनियाका अवैतनिक वाणिज्यदूत नवराज दाहाल, डेनमार्कका अवैतनिक वाणिज्यदूत हरि धरेल, पर्यटनविद् बीपी बडाल, भिटोफ-नेपालका सल्लाहकारद्वय शिव लामिछाने र दीपक दाहाल, नेपाल पत्रकार महासङ्घ, रसुवाका अध्यक्ष केशवप्रसाद पौडेल, प्रेस चौतारी, रसुवाका अध्यक्ष बलराम घिमिरे, नाट्टाका निश्वा तुलाधर र सुरेश अम्गाई, टुर्गानकी प्रभालक्ष्मी प्रधानाङ्ग, भिटोफ-नेपालका पूर्व अध्यक्षद्वय शिव लामिछाने र बोधराज भण्डारी लगायत महत्त्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सांसद ई. मोहन आचार्यले नेपाल जस्तो कृषिप्रधान देशमा सबैभन्दा बेसी महत्त्व कृषि क्षेत्रलाई दिनुपर्नेमा जोड दिँदै सरकारलाई आफूले सोही अनुसार काम गर्न आग्रह गरेको अवगत गराउनुभयो । किसानका निम्ति धान रोपाइँ एउटा पर्व भएको दाबी गर्दै आफ्नो बुताले भ्याएसम्म नेपालको प्राणवायु कृषिको विकासमा आफू निरन्तर लागिरहने प्रण गर्नुभयो । अन्य महत्त्वपूर्ण काम थाती राखेर आफू खेतमा आउनुको अर्थ म स्वयम् हरपल यहाँका किसानको साथमा छु भन्ने दसी भएको उहाँको स्पष्टोक्ति थियो ।

त्यस्तै विशेष अतिथिद्वय अशोक कुमार घिमिरे र हरिकृष्ण देवकोटाले पनि धान उत्पादनले नै सबैको जीवन बाँच्ने भन्दै भिटोफ-नेपालसँग सहकार्य गरी यो स्थानलाई पर्यटन प्रवर्धनमा समेत सघाउ पुर्‍याउन आफूहरू दत्तचित्त भएको बताउनुभयो । पर्यटनका दृष्टिले सिङ्गो रसुवा नै आकर्षणको केन्द्र भएको जिकिर गर्दै ग्रामीण पर्यटन प्रवर्धन गर्नु आजको आवश्यकता हो भन्ने देवकोटाको कथन थियो ।

शिव लामिछाने लगायतका अन्य अतिथि वक्ताहरूले पनि किन रसुवालाई नै यो कार्यक्रमको केन्द्र बनाइयो भन्नेबारे आआफ्ना गहकिला धारणा राख्नुभएको थियो । भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटा पाण्डेले गाउँ पर्यटन प्रवर्धनका निम्ति अहोरात्र चिन्तनशील आफ्नो मञ्चले सहरमा सीमित पर्यटनलाई गाउँगाउँमा पुर्‍याई ग्रामीण बेरोजगारी न्यूनीकरण गर्ने र युवा विदेश पलायनलाई घटाउन लागि परेको अवगत गराउनु भयो ।

भिटोफ-नेपालका द्वितीय उपाध्यक्ष मनहरि दाहालले संयोजन गरेको सो कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई प्रथम उपाध्यक्ष हरिशरण थपलियाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण स्थानीय लाङटाङ एफएमका कार्यक्रम प्रस्तोताद्वय तेन्जी तामाङ र गीता न्यौपानेले गर्नुभएको थियो ।