१८ असार २०८२, बुधबार

जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधी प्राप्त गरेका छन

काठमाडौं  :  जाजरकोटका तीन जना शिक्षकले उत्कृष्टता उपाधि प्राप्त गरेका छन् । माध्यमिक तह तृतिय लक्ष्मी खत्री,निम्न माध्यमिक तह द्धितीय जय बहादुर थापा र प्राथमिक तह प्रथम अच्युत प्रसाद शर्मा रहेका छन् ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाका तीन जनालाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरी सम्मान गरेको हो ।

उत्कृष्ट शिक्षकमा छनोट हुने लक्ष्मीले हाल बारेकाेट गाउपालिका लिम्सामा रहेको श्री विरेन्द्र एश्वर्य माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेकी छिन् । त्यस्तै उत्कृष्ट शिक्षकमा छनोट भएका अर्का शिक्षक थापा हाल छेडागाड नगरपालिका १३ दशेरामा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेका छन् भने शर्माले भेरी नगरपालिका वडा नं ४ मा रहेको श्री रामजानकी प्राथमिक विद्यालयमा अध्यापन गराउदै आएका छन् ।

शर्माले शिक्षण पेसामा लामो अनुभव बटुलेका छन् । उनी आउदो भाद्र १५ गते शिक्षण पेसाबाट अवकास लिदै छन् ।
उत्कृष्ट तीन शिक्षकलाई शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै नगद पैंतीस हजार रुपैयाँ सहित प्रशंसा–पत्र प्रदान गरिएको हो।
उत्कृष्ट शिक्षक छनोट गर्दा शिक्षा क्षेत्रमा समर्पण, निष्ठा, पठनपाठनको प्रभावकारिता, सामुदायिक सहभागिता, विद्यार्थीमा सकारात्मक परिवर्तन जस्ता सूचकलाई मापन गरिएको थियो।

सबै सूचकको मापन गर्दा तीन जना उत्कृष्टमा परेको हुन् । उनीहरुलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री मा.धनश्याम भण्डारीको प्रमुख उपस्थिति रहेको थियो ।

प्रशंसा–पत्रमा उल्लेख भएअनुसार, शिक्षण पेशालाई थप मर्यादित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिएका उत्कृष्ट शिक्षकहरुबाट शैक्षिक क्षेत्रमा थप प्रभावकारी भूमिको अपेक्षा गरिएको छ ।

यस्तो थियो शिक्षक छनोट मापदण्डका आधारहरुः
१) प्रत्येक जिल्लाबाट माध्यमिक तह १ निम्नमाध्यमिक तह १ प्राथमिक तह १ गरी जम्मा ३ जना छनोट गर्नुपर्ने जसमा कम्तिमा १ जना महिला अनिवार्य समावेश हुने गरी छनोट गर्नुपर्ने ।
२) प्रत्येक तह कक्षा ५, कक्षा ८,र एसईई को परीक्षामा उत्कृष्ट सिकाई उपलब्धी भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९, ८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्नेछ ।
३) एउटै स्थानिय तह वाट १ मात्र पर्ने गरी सम्वन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाई वाट प्रमाणित सिफारिस हुनुपर्ने ।
४) ५ वर्ष स्थाई सेवा अवधि भएको ।
५) राष्ट्रिय, प्रदेश र स्थानीय तहवाट शिक्षक प्रोत्साहन संग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्नेछ ।
६ शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागिय सजाय नपाएको शिक्षक हुनुपर्ने छ ।