काठमाडौ। मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा परामर्श एवम् प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइन्ड प्लसले नर्सिङ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित गरेको छ।
५९औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विहिबार ललितपुरमा आयोजित माइन्ड प्लस तालिम कार्यक्रम सन्चालन गरिएको हो। जेसिस पाटन लेडीले आयोजना गरेको सो तालिम कार्यक्रममा नर्सिङ सेवामा कार्यरत ३०जना नर्सहरूको सहभागिता रहेको थियो।
नर्सहरुले कार्यस्थलमा भोग्नुपरेको तनाव व्यवस्थापन र थकान न्युनिकरण गर्नु तालिमको उद्देश्य रहेको थियो।एकदिने उक्त कार्यक्रमलाई मनोविमर्शकर्ता एवम् जीवन प्रशिक्षक नवीन पल्लवले सहजीकरण गर्नुभएको थियो।
प्रशिक्षक पल्लवले नर्सहरुलाई कार्यस्थलमा तनाव व्यवस्थापन र थकान न्युनिकरण सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुभएको हो।
तालिमको औपचारिक रूपमा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथिको मन्तव्य दिँदै नेपालीले पेशागत रूपमा कार्यस्थलमा हुने तनावहरूको व्यवस्थापनका निमित्त यसखालले कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । माइन्ड प्लस तालिम प्रति आभार व्यक्त गर्दै नेपालीले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइनुपर्ने र यस्ता कार्यक्रम महिलाहरूको लागि अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले आफ्नो तर्फबाट यस्ता कार्यक्रम निरन्तरताको लागि पहल गर्ने समेत वताउनुभयो।
सोहि कार्यक्रममा माइन्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लवले कार्यक्रमको उपादेयता माथि प्रष्ट पार्दै आफूहरूले महिलाको क्षमता विकास लागि समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने वताउनु भयो।
पाटन लेडी जेसिसकी सभापति रिया पोतेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पाटन एकेडेमी अफ हेल्थ एण्ड साइन्सेसका पूर्व असिस्टेन्ट डिरेक्टर तथा आइसिपि कोअर्डिनेटर रचना श्रेष्ठ र पाटन एकेडेमी अफ हेल्थ एण्ड साइन्सेस स्कूल अफ नर्सिङकी सहप्राध्यापक रत्नकुमारी महर्जनलाई सम्मान गरिएको थियो। कार्यक्रमको सफलतापूर्वक सञ्चालन पाटन लेडी जेसिसकी पूर्व सभापति सुमित्रा विश्वकर्माले गर्नुभएको थियो।