काठमाडौ। भारतले बुधबार राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरी मारिएका मध्ये पाँच जनाको पहिचान भएको दाबी गरेको छ।
भारतबाट प्रकाशित हुने अनलाइन द हिन्दुस्तान टाइम्सले त्यस रात मारिएकामध्ये पाँच जनाको सूची सार्वजनिक गरेको हो।
त्यो सूचीमा भएका नामहरू २२ अप्रिलमा भारत प्रशासित जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्न रहेको आतंकवादी संगठननिकटका व्यक्तिहरू रहेको समेत हिन्दुस्तान टाइम्सको दाबी छ।
उसले भारतको विदेश मन्त्रालयलाई उद्धृत गरेर ‘आतंकवादी संगठन’का पाँच जनाको पहिचान भएको जनाएको छ।
भारतले बुधबार बिहान १:०५ देखि साढे १ बजेसम्म पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गरेको थियो।
पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुर, मुरिद्के, सियालकोट, शकरगढ र पाकिस्तान नियन्त्रित कश्मिरको मुजफ्फरवाद, कोटली, भिम्बर, बाघ र चक अमरूमा मिसाइल दागेको थियो।
ती क्षेत्रमा लश्कर-ए-तइबा, जैश-ए-मोहम्मद लगायतका ‘आतंकवादी समूह’को शिविर, हतियार भण्डार र तालिम केन्द्र सञ्चालित रहेको भारतको दाबी थियो। २२ अप्रिलमा नेपालका सुदीप न्यौपानेसहित २६ जना मृत्यु हुनेगरी भएको हमलाको जिम्मा द रेजिस्टेन्ट फ्रन्ट (टिआरएफ) नामको समूहले लिएको थियो। उक्त समूह लश्कर-ए-तइबाकै अंग भएको भारतको दाबी छ।