५ माघ २०८१, शनिबार

मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा दुइटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। बुधबार राती साढे १० बजेतिर कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा लु १० प ४४९६ र यूपी ५५ ए एच ७०९० भारतीय नम्बरप्लेटको मोटरसाइकल आपसमा ठोक्किएका थिए।   दुई मोटरसाइकल ठोक्किँदा रुपन्देहीको सैनामैना नगरपालिका-४ का २७ वर्षीय रोमन थारु र कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए। थारु नेपाली नम्बर प्लेट र अली भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए।   दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए। अलीको भैरहवा मेडिकल कलेज र थारुको सिद्धार्थ सिटी अस्पतालमा मृत्यु भएको हो। सोही दुर्घटनामा परी २६ वर्षीय अजय थारु घाइते छन्। उनको सिद्धार्थ  सिटी अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।