भन्सार सेवा पारदर्शी र व्यावसायिक बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं । भन्सारको प्रक्रिया भनेको सबैभन्दा पहिला वस्तु निर्यात वा आयातका लागि भन्सार बिन्दुमा आउनुपर्छ । भन्सारमा आएको वस्तुलाई एजेन्टले घोषणा गर्छ । त्यो घोषणा कम्प्युटरमा भर्ने हो ।
यो यस्तो प्रणालीको डकुमेन्ट हो, जो जुनसुकै भन्सारबाट भरे पनि नेपालका सबै भन्सार कार्यालय, विभाग र मन्त्रालयमा थाहा हुन्छ । कुन वस्तु कसरी आयो ? के हो, लगायत सबै विवरण भन्सारको नियमानुसार कुन कुन च्यानलमा जानुपर्ने हो सोही च्यानलमा जान्छ ।
भन्सारका सामान पास हुने तीन वटा च्यानल छन् । पहिलो ‘ग्रिन च्यानल’ बाट भन्सार जाँचपास हुने भन्ने घोषणा गरिएको सामान कम जोखिमको भन्ने हुन्छ । यो च्यानलबाट घोषणा भएको सामानकोे कागज र भौतिक परीक्षण केही पनि गरिन्न ।
यस्तै अर्को हुन्छ ‘एल्लो च्यानल’ । यसमा भन्सार पास गर्ने भनेर घोषणा गरिएको वस्तुको कागजात हेर्ने भन्ने हुन्छ । आवश्यकता अनुसार वस्तुको पनि भौतिक जाँच हुन्छ ।
तेस्रो भन्सार जाँचपासको ‘रेड च्यानल’ हुन्छ । यो च्यानलमा घोषणा भएको वस्तुको जाँचपास गर्दा डकुमेन्ट र वस्तुको भौतिक जाँच पनि अनिवार्य गरिन्छ । यो भनेको धेरै जोखिमयुक्त वस्तु कडाइका साथ परीक्षण गर्ने भनेको हो ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारको मान्यता भनेको विस्तारै रेड जोन हटाउँदै लैजाने भन्ने हो । भन्सारमा गलत गर्नेलाई ५०० गुणासम्म जरिवाना लाग्छ । हामीले विभिन्न खालका छड्के अनुगमनहरू पनि गरिरहेका हुन्छौं । देशका सबै भन्सारको अनलाइन र भिडियो लाइभ मनिटरिङ पनि विभागबाट भइरहेको हुन्छ । विभागले वस्तुको भन्सार जाँचपासको अडिट पनि गर्छ ।
यी सबै कार्यका बावजुद पनि हामीले विश्वास गर्ने भनेको हाम्रो प्रणाली र जनशक्तिलाई नै हो । भन्सारसँग जोडिने भन्सार एजेन्ट र व्यापारीलाई नै हो । हामी सबैको मान्यता र विश्वासमा नै काम हुने र यो मान्यतामा गलत गर्दैनौं भन्ने हो ।
कानुन कार्यान्वयन गर्ने काम भइरहेको हुन्छ । तर, कर्मचारी, सप्लायर्स र एजेन्टको नियत नै गलत भए त कसैको केही लाग्दैन । एकीकृत भन्सार अनुगमन, केन्द्रबाट गरिएको प्रत्यक्ष निगरानी सबै छल्नेलाई त केही लाग्दैन ।
हामीले भन्सार कार्यालयहरूलाई केन्द्रबाट पनि निरीक्षण र अनुगमन गर्छौं । यसरी यो वर्ष मात्रै ३१ करोड रुपैयाँ थप राजस्व संकलन गरेका छौं । यो सबै प्रणालीका बावजुद हामीले सबैलाई गलत नजरले हेर्नु त गलत नै हुन्छ । जहाँसम्म नेपालका भन्सारमा ‘भेहिकल स्क्यानर’ नभएको भन्ने विषय छ, यो साँचो हो । मुख्य भन्सारहरूमा भेहिकल स्क्यानर राख्न विभागले यसअघि नै काम सुरु गरिसकेको रहेछ ।
भेहिकल स्क्यानर राख्ने कुरामा हामी मेशिन किन्ने कि सेवा भन्ने बहसमा छौं । टेन्डर डकुमेन्ट बनेर खरिद ऐन अनुसार भए÷नभएको रायका लागि सार्वजनिक खरिद कार्यालयमा पुगेको छ । सहमति आएपछि यो प्रक्रिया अघि बढ्छ । भेहिकल स्क्यानर नभएका कारण भन्सार अपारदर्शी छ र यो आएपछि मात्रै सबै ठिक हुन्छ भन्ने एकखाले बुझाइ छ । वास्तवमा यो आफैंमा रामबाण होइन । यो एउटा प्राविधिक पाटो मात्रै हो ।
तर सञ्चालन खर्च, मर्मतसम्भार, इमेज रिडिङ गर्ने लगायत सञ्चालन प्रक्रिया पनि जटिल छन् । नेपालको भन्सारमा आउने कन्टेनरमा सबैमा एउटै खाले सामान आउँछ भन्ने छैन । फरक–फरक खालका वस्तु आउँदा त्यसलाई कसरी स्क्यान गर्ने भन्ने कुरा पनि जटिल छ ।
एउटै खालका वस्तु आए त राम्रै हो । तर, अहिले साना खालका झोला र विमानबाट आउने सामानको स्क्यान गर्ने मेशिनहरू त सबैजसो नाकामा छन् । चीन सरकारले यसअघि दुई वटा स्क्यानर अनुदानमा दिएको रहेछ तर चलाउन नसकिएको थाहा भयो ।
जतिबेला ती वस्तु नेपालमा अनुदानमा आए त्यो बेला नेपालमा विद्युत् अभाव थियो । धेरै विद्युत् चाहिने भएका कारण पनि त्यो मेशिन चल्न सकेन । मर्मतसम्भारका लागि दक्ष जनशक्ति पनि थिएनन् । यद्यपि भन्सार पारदर्शिता बढाउने र राजस्व संकलनमा सरकारलाई भरपूर सघाउने कुरामा विभाग र यसका प्रणालीहरूले काम गर्ने कुरामा दुईमत छैन ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको कुराकानीकाे पुर्ण पाठ