३१ भाद्र २०८१, सोमबार

अलमलिएको विद्यार्थी आन्दोलन-तिर्सना हमाल

लेखक : तिर्सना हमाल

बिषय प्रारम्भ –देशमा संकट देखा परेपछि विद्यार्थी आन्दोलनको आवश्यकता महसुस हुने गर्छ । निरंकुश जहानियाँ राणा शासनदेखि निर्दलीय पञ्चायत र राजाको सक्रिय शासनविरुद्धका निर्णायक राजनीतिक आन्दोलनको अग्रपंक्तिमा युवा विद्यार्थी नै थिए । विद्यार्थीकै पहलकदमीमा यी आन्दोलन उठान भई देशको शासन सत्ता नै परिवर्तन भएका हुन् । देशमा महँगी, कुरीति, कुशासन वा भ्रष्टाचार मौलाउँदा अहिले पनि मानिसहरू विद्यार्थी आन्दोलनको आवश्यकता महसुस गर्छन् । त्यसैले, विद्यार्थी आन्दोलन नेपालको राजनीतिकै पर्याय बन्न गएको छ । तर, पछिल्ला केही वर्षयता विद्यार्थी आन्दोलन कुहिरोभित्रको कागजस्तै अलमलिएको छ । विद्यार्थी आन्दोलन साह्रै नमिठा आपसी कचिंगलमा रुमल्लिएको छ । विचारधारात्मक बहस छेड्ने तागतको त कुरै छोडौँ, वर्तमानमा विद्यार्थी संगठनले शैक्षिक सुधार वा रूपान्तरणको आन्दोलनसमेत उठान गर्न सकेका छैनन् । सामाजिक सुधारका एजेन्डा त यिनका चासोमा परेकोसम्म देखिन्न । विद्यार्थी छन्, तर विद्यार्थी आन्दोलन हराएको छ, विद्यार्थी संगठन छन्, तर ती एजेन्डाविहीन छन् । अहिलेका विद्यार्थी संगठन आन्तरिक कलहमा रुमल्लिरहेका छन् ।

विद्यार्थी समाजको भविष्य र परिवर्तनका मुख्य चालक हुन् । सधैँ अग्रगामी चेतना बोक्ने युवा विद्यार्थी ज्ञानका भोका हुन्छन् । तिनले देश या समाजमा हुने कुनै पनि असामान्य गतिविधि, घटना वा विषयमा आफ्नो विचार व्यक्त गरिहाल्छन् । विद्यार्थी नयाँ खोजीका लागि सधैँ लालायित हुन्छ । विद्यार्थी भनेको केवल पढ्नेलेख्ने कार्यमा संलग्न औपचारिक संरचनाभित्रको व्यक्ति होइन, यो एउटा सोच हो । यो एक ऊर्जाशील चेतना हो । जुन मानिसमा नयाँ सिक्ने इच्छाशक्ति प्रबल छ, समाजमा देखिने अन्याय, अत्याचार, असमानताविरुद्ध आवाज नउठाइरहन सक्दैन, सधैँ परिवर्तनका पक्षमा उभिन्छ र नयाँ कार्यका लागि अग्रसर रहन्छ, त्यो नै विद्यार्थी हो । यही चेतना, सोच र प्रवृत्तिको संगठित रूप नै विद्यार्थी आन्दोलन हो । यसर्थ, विद्यार्थी आन्दोलन जमेको पोखरी होइन, तुफानी वेगमा बग्ने साउने भेल हो । जुन देश र समाजमा विद्यार्थी आन्दोलन सशक्त हुन्छ, त्यो देशको राजनीतिक आन्दोलन पनि सही दिशामा अघि बढिरहेको हुन्छ । विद्यार्थी आन्दोलन कमजोर तथा सुषुप्त भएका ठाउँमा राजनीतिक आन्दोलन कमजोर हुन्छ । देशको समग्र व्यवस्था राजनीतिले निर्धारण गर्छ । राजनीतिक व्यवस्था सही हुन त्यो देशभित्रको राजनीतिक आन्दोलन मजबुत हुनुपर्छ । जब राजनीतिले बाटो बिराउँछ वा राजनीतिक आन्दोलन एजेन्डाविहीन बन्छ, त्यो देशको भविष्य संकटमा पर्छ । वर्तमान नेपालको राजनीतिबारे कुरा गर्दा हामीले नेपालका अग्रभागका सामाजिक, राजनीतिक संगठनबारे चर्चा गर्नैपर्छ । नेपाली समाजमा आज जेजस्ता राजनीतिक समस्या देखापरेका छन्, ती अन्ततः वैचारिक समस्या हुन् । प्रस्तुत आलेख विद्यार्थी आन्दोलन अलमलिनुका कारण खोतल्न केन्द्रित हुनेछ ।

एजेन्डाविहीनता : निरंकुश जहानियाँ राणा शासनमा पनि नेपालका अग्रगामी चेत भएका विद्यार्थी भारतबाटै राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा होमिएका थिए । राणा र तिनको शासनको विरोध गरे सीधै मृत्युदण्ड दिइने वेलामा पनि त्यसको पर्वाह नगरी नेपाली विद्यार्थी स्पष्ट राजनीतिक उद्देश्य लिएर आन्दोलनमा होमिएका थिए । जनताका सम्पूर्ण राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएर लादिएको ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्ध पनि नेपाली विद्यार्थी नै सर्वप्रथम आन्दोलनमा उत्रिएका थिए । १० वर्षे जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा पनि नेपालका विद्यार्थी संगठनले गणतन्त्र स्थापनाको स्पष्ट वैचारिक एजेन्डा लिएर सडक तताएका थिए । नेपालको राजनीतिक इतिहासमा कोसेढुंगा सावित यी चर्चित आन्दोलनमा मात्र होइन, त्यसअघि र पछि पनि नेपाली विद्यार्थी आन्दोलन स्पष्ट वैचारिक एजेन्डामा आधारित थियो । प्रमुख राजनीतिक दलहरूले आन्दोलन उठान गर्न नसकिरहेका वेला पनि थुप्रै शैक्षिक, सामाजिक र राजनीतिक समस्यामा विद्यार्थी संगठन स्पष्ट वैचारिक दृष्टिका साथ आन्दोलनमा होमिएका थिए । तिनै विद्यार्थी आन्दोलनले उठाएका एजेन्डा र आन्दोलनमा नै अन्ततः राजनीतिक दलसमेत जोडिएपछि ऐतिहासिक राजनीतिक परिवर्तन भएका दृष्टान्त पनि छन् । तर, पछिल्लो समय विद्यार्थी आन्दोलन वैचारिक एजेन्डाविहीन भएको आभास हुन्छ । कुनै पनि विद्यार्थी संगठनले आफ्नो स्पष्ट वैचारिक दृष्टिकोण अगाडि सार्न सकेको देखिँदैन । मातृपार्टीले सञ्चालन आन्दोलन वा कार्यक्रममा सहभागी हुनुबाहेक विद्यार्थी संगठनले स्वतन्त्र आन्दोलन उठाउन सकेका छैनन् । सामान्य समसामयिक विषयमा प्रतिक्रियात्मक टिप्पणी गर्नेबाहेक व्यवस्थित कार्यक्रम र कार्ययोजना विकास गर्नेतिर विद्यार्थी संगठन लागेको पाइँदैन । यो नै विद्यार्थी संगठनभित्रको मूल वैचारिक समस्या हो । विद्यार्थी नेताहरू विचार र दृष्टिकोणको बहसमा भन्दा विशुद्ध प्राविधिक विषयमा अलमलिएको प्रस्ट देखिन्छ । विद्यार्थी संगठनका मुद्दा स्पष्ट नहुँदा उनीहरूको आन्दोलनलाई समर्थन गर्ने आधार पनि कमजोर हुँदै गएको छ । विद्यार्थी आन्दोलनले विगतमा महŒवपूर्ण मुद्दा उठाए पनि अहिलेका दिनमा त्यसको प्रभाव र धार भुत्ते हुँदै गएको छ । विचार निर्माण र सम्प्रेषण, शैक्षिक सुधार तथा रूपान्तरण र सामाजिक समस्या विद्यार्थी संगठनका मुख्य एजेन्डा बन्नुपर्नेमा विद्यार्थी संगठन त्यसबाट बहकिएका देखिन्छन् ।

वैचारिक बहसको अभाव : कुनै पनि राजनीतिक संघ, संगठन वा दलको जीवन्तता र प्रभावकारिता त्यस संगठनले बोक्ने विचारले निर्धारण गर्छ । स्पष्ट वैचारिक कार्यदिशा तथा दृष्टिकोण नभएका राजनीतिक संगठन मौसमी हुन्छन् । निश्चित समयमा खहरे भेलसरि उदाउँछन् र त्यसैगरी विलीन हुन्छन् । मानिसको चेतनालाई व्यवस्थित दिशानिर्देश गर्ने राजनीतिक विचारले नै हो । व्यक्तिले बोक्ने विचारले नै उसको सामाजिक अस्तित्व र यात्रा निर्धारण हुन्छ । त्यसैगरी, कुनै पनि देशभित्रका राजनीतिक संघ, संगठनले बोक्ने विचारले नै त्यो देशको अस्तित्व र यात्रा निर्धारण गर्छ । देशको नेतृत्व गर्ने राजनीतिक दल वा तिनका नेतामा वैचारिक स्पष्टता, त्यसप्रतिको दृढता र देश बदल्ने जस्तो सपना छ, सोहीअनुसार देशको भविष्य तय हुन्छ । पछिल्लो समय समाजको वैचारिक धार क्रमशः मत्थर हुँदै गएको देखिन्छ । समाजमा जति बढी वैचारिक बहस, छलफल, अध्ययन तथा अन्तरक्रिया बढ्छ, त्यति देशले सही राजनीतिक नेतृत्व प्राप्त गर्छ । साथै, संघर्षको मैदानमा उत्रिने नेतामा वैचारिक स्तरको विकास हुँदै जान्छ । राजनीतिक विचार जति बढी संघर्षको मैदानमा माझिन्छन्, त्यति प्रभावशाली हुन्छन् । तर, हिजोआज जनसंगठनहरू वैचारिक बहसमा होइन, सामाजिक सञ्जालमा ओइरिने गाली, आवेग र प्रतिक्रियाभित्र सीमित देखिन्छन् ।

व्यक्तिको व्यवस्थापन र व्यक्तिगत कुण्ठा हाबी : हिजोआज विद्यार्थी संगठनमा मात्र होइन, प्रायः सबै जनसंगठनमा वैचारिक दृष्टिकोणमाथि कमै छलफल हुन्छ । निर्धारित कार्यअवधिभर ती कमिटी सधैँ आन्तरिक विवाद मिलाउन वा व्यक्तिको व्यवस्थापन गर्नबाहेक कतै पुगेको देखिँदैन । व्यक्तिगत कुण्ठामा राजनीतिक जनसंगठनको सिंगो कार्यकाल बितिरहेको छ । प्रथमतः संगठनमा साझा छलफल, बहस तथा अन्तरक्रिया नभई कुनै निश्चित एक व्यक्तिको एकमनावाद लागू भएको देखिन्छ । यदि त्यसो हुन नसकेमा त्यसभित्र रहेका नेता तथा सदस्यका व्यक्तिगत स्वार्थ, समस्या, प्रवृत्ति तथा कुण्ठामा संगठन कैद हुन्छ । जब संगठनका सबै छलफल तथा बैठक व्यक्तिका व्यवस्थापन तथा केही व्यक्ति सिर्जित स्वभाव तथा प्रवृत्तिजन्य कमजोरीमाथि केन्द्रित हुन्छन्, तब त्यहाँ संगठनको मात्र होइन, सिंगो समाजकै गति शून्य हुन पुग्छ । यसले आन्दोलनको नैतिक आधारलाई कमजोर बनाउँछ । राजनीतिक प्रकृतिका संगठनसमेत विशुद्ध प्राविधिक समितिका रूपमा देखा पर्छन् । संगठनभित्र आन्तरिक गुटबन्दी र कलह बढिरहेको छ । गुटबन्दी र आन्तरिक कलहकै कारण राजनीतिक संगठनहरूमा हुनुपर्ने असली एकता र तागत छैन । सामाजिक राजनीतिक परिवर्तनलाई आकार दिने शक्ति तथा संगठन अहिले निष्प्रभावी छन् ।

निरंकुशता जन्माउने आधार : हिजोआज कतिपयले नेपालमा लामो राजनीतिक अस्थिरता र अराजकताबाट वाक्क भएर कुनै निरंकुश शासकको कामना गरेको पनि पाइन्छ । तर, यो भावुक आवेग मात्र हो । विश्वको इतिहासले भन्छ, निरंकुशताले जनआकांक्षालाई सम्बोधन गर्दैन । निरंकुशताले देशलाई सही निकास दिएको कहीँ कतै छैन । आजसम्मको संसारको इतिहास हेर्दा जब देशमा राजनीतिक संगठन प्राविधिक रूपमा एकै ठाउँमा रहे पनि आन्तरिक रूपमा छिन्नभिन्न हुन्छन्, यस्तो परिस्थितिमा निरंकुशताको उदय हुन सहज हुन्छ । जनसंगठनहरूले समाजमा राजनीतिक अन्तरक्रियालाई जीवन्त बनाउँछन् । देशभित्र वेलावेला देखा पर्ने सामाजिक विकृति, विसंगति तथा खराबीविरुद्ध आवाज बुलन्द पार्छन् । शक्तिको उन्मादमा सत्तामा हुने गलत निर्णयविरुद्ध जनआवाज मुखरित गर्छन् । जनसंगठनहरू कमजोर हुँदा सत्ता निरंकुश बन्दै जान्छ । अहिले नेपालको परिस्थिति हेर्दा निरंकुशता मौलाउने वातावरण बन्दै गएको देखिन्छ । मानिसहरू अहिलेको यो अन्योल र अराजकतापूर्ण राजनीतिक परिस्थितिभन्दा विगतको राजतन्त्र ठिक हो भन्ने तर्क गर्न थालेका छन् । कतिपयले जंगबहादुरकै खोजी गरेको पनि पाइन्छ । यथार्थमा देशले न त फेरि अर्को जंगबहादुर झेल्न सक्छ, न त राजतन्त्र नै फर्काउन सक्छ । यस्ता सस्ता भावुक आवेगपूर्ण आकांक्षालाई रोक्नैपर्छ । इतिहास कुनै पनि सर्तमा पछाडि फर्कंदैन । समय शून्यमा पुग्दैन । समय उथलपुथलपूर्ण राजीतिक विकासकैबिच निरन्तर अगाडि बढिरहन्छ ।

नेपालको समग्र राजनीतिमा अहिले एउटा शैली र संस्कारमा अभ्यस्त भइसकेको ६० कटेको पुस्ता हाबी छ । लामो राजनीतिक अस्थिरताको कारक यही पुस्ता हो, जसले सहजै आफ्नो संस्कार र शैली बदल्न सक्दैन । देशको भविष्य युवाहरूको हातमा हुन्छ । त्यसैले, युवा विद्यार्थी बाँकी राजनीतिलाई सही ट्र्याकमा ल्याउने उपायमा लाग्नैपर्छ । युवा विद्यार्थीले गहिरिएर सोच्नैपर्छ कि आफ्नो भविष्य अरूका काँधमाथि फालेर कसैको स्वार्थको गोटी बन्नु हुँदैन । यसअघिको पुस्तामा विकास भएको राजनीतिक शैली र संस्कारले आजको जुन अवस्था निम्त्याएको छ, त्यही शैली र संस्कारलाई अपनाएर आजको विद्यार्थी आन्दोलनले देशको सही नेतृत्व दिन सक्दैन । नेपालको शैक्षिक, सामाजिक तथा राजनीतिक समस्या समाधान गर्न विद्यार्थी आन्दोलनलाई सशक्त पार्नुको विकल्प छैन । स्पष्ट वैचारिक दृष्टिकोणयुक्त युवा विद्यार्थी आन्दोलनको विकास आजको आवश्यकता हो । जनसंगठनभित्र भइरहेका व्यक्तिकेन्द्रित गलत सांगठनिक अभ्यास अन्त्य गरी तीव्र वैचारिक बहसलाई बढावा दिएर विचार निर्माणको अवयवका रूपमा विद्यार्थी संगठनलाई विकास गर्नु जरुरी छ । विद्यार्थी संगठनभित्र मौलाउँदै गएको वैचारिक अन्योल, दिशाहीनता र व्यक्तिकेन्द्रित राजनीतिक कुसंस्कारलाई चिरेर कुहिरोभित्र अलमलिएको आन्दोलनलाई स्पष्ट वैचारिक दिशा प्रदान गर्नु आजको आवश्यकता हो ।हमाल माओवाद केन्द्र निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय उपमहासचिव हुन्।