काठमाडौं अध्यात्मको खास अर्थ आफूभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यथार्थ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो । स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यमबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ ।
अध्यात्म व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिमवाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ । आइन्स्टाइनले त अध्यात्मविनाको विज्ञानलाई कमजोरको संज्ञा दिएका छन् । सोफेनहावरको श्रीमद्भगवत गीतासम्बन्धी चर्चाले पूर्वीय दर्शनमा भएको अध्यात्मको स्थानलाई पाश्चात्य समाजमा नयाँखालको ऊर्जा दिएको छ ।
हाम्रा ग्रन्थले मुखरित गरेका विषय गहन छन् । अल्वर्ट आइन्स्टाइन, जर्मन दार्शनिक मुलर, इमानुयल कान्ट, फ्रेन्च दार्शनिक सोफेनहावरदेखि भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामासम्मले पूर्वीय दर्शनमा भएको आध्यात्मिक पक्षको महत्तालाई कुनै न कुनै रूपले अंगीकार गरेका छन् । अध्यात्मविनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घच्घच्याएको छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशीला हो । यसले व्यक्तिलाई समुद्रजस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।
अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरूपमा राख्न सकिन्छ । मानिसको स्वरूप हो, आत्मा । आत्माको ज्ञान नभए आफैँलाई चिन्न सकिँदैन । हामीले शरीरलाई आत्मा भन्छौँ । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरूले आत्मा र ईश्वरमा आस्था राख्छन् । भौतिकवादीहरूले शरीरमा आस्था राख्छन् । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।
आध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित भएको छ । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । आध्यात्मिक ज्ञानले धर्मात्मा, पुण्यात्मा र महात्माभन्दा उच्च सर्वोच्च सत्ता निराकार ज्योतिस्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइभाइ हौँ । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूति गराउँछ । आध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । आध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज, अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनरोत्थानका लागि गहनरूपमा सोच्नुपर्ने तथा आवश्यक पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।
आध्यात्मिक ज्ञानले मानिसभित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुद्धिका लागि पौष्टिक आहारको काम गर्छ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्छ । बुद्धिको निर्णयशक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । आध्यात्मिक चिन्तनले मानिसलाई सबैप्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्वहित र सुखद् जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्छ । आध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । आध्यात्मिक उचाइ साँच्चै अनुपम छ, अलौकिक छ र सामान्य सोचभन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्छ । वर्तमान व्यावहारिक मनस्थितिका मानिसलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुन सक्छ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नुबाहेक अन्य विकल्प छैन ।
ज्ञानविना जति भौतिक उन्नति गरे पनि आनन्द प्राप्त हुँदैन । जस्तो समुन्द्रको पानी सागरमा नपुगेसम्म शान्त हुँदैन त्यस्तै आत्मज्ञानविना मन शान्त हुँदैन । हामीले मानवको जन्म लिएर जति काम गर्छौं त्यो आत्माले देखेको छ भन्ने कुरा भौतिकवादीले जान्दैनन् । उनीहरूले ईश्वर छैन भनी ईश्वरप्रति आस्था गर्दैनन् । ईश्वरले मानिसको जीवन दियो, हुर्कायो, बढायो, ज्ञान विज्ञान दियो त्यो कुरालाई हामीले अहिले भुलेका छौँ । विषयको आनन्दमा रमाएका छौँ । विषय त विष बराबर हो । विषय बासनामा भुलेर जीवन समाप्त भएको थाहा पाउँदैनौँ । पानीबाट निकालिएको माछाजस्तो छट्पटाउँछ । त्यस्तै, भौतिकवादीहरू आध्यात्मिक ज्ञानको अभावले छट्पटाइरहेका छन् । आध्यात्मिक र भौतिकवादीहरूको लक्ष्य एउटै भए पनि ज्ञानको अभावले वास्तविक सुख प्राप्त गर्न सकेका छैनन् । आत्मासम्बन्धी चिन्तन गर्ने दर्शन मूलतः दुई प्रकारका मानिन्छन्, आत्मवादी र अनात्मवादी । आत्मवादी आत्मालाई प्रकृतिदेखि अलग पदार्थ विशेष मान्छन् भने अनात्मवादी चैतन्ययुक्त शरीरलाई नै आत्मा मान्दछन् र ज्ञान प्राप्त गर्ने साधनहरूमध्ये इन्द्रीय, प्राण, मन, बुद्धि र अहङ्कार नै आत्मा हो भन्ने अनात्मवादीहरूको धारणा छ । पूर्वीय दर्शनमा अनेक शाखाहरू छन् र प्रत्येक दर्शनले शरीर, प्राण, आत्मा, विवेक, बुद्धि र धारणालाई अनेक तरिकाले परिभाषित गरेका छन् तर पनि आत्माको तत्व भौतिक हो कि आध्यात्मिक हो भन्ने कुरामा भने सधैँ विवाद रहेको छ ।
जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब आध्यात्मिक भावना हराउँदै गयो । भौतिक चिन्तनको विजारोपण र आफ्नो अस्तित्वलाई मेट्दै गए । मानिस समाजवादी नभएर व्यक्तिवादी हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब मानिस भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नो कर्तव्य र इमानदारितालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ ।भौतिकवादमा रमाएको मानिसले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो आध्यात्मिकवादको अभाव हो । मानिसले आनन्दपूर्वक बाँच्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ । धर्म, अद्यात्म र विज्ञान परस्पर विरोधी होइनन् सहयोगी हुन् भन्ने कुरा अल्वर्ट आइन्टाइनको ‘धर्मविनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञानविनाको धर्म अन्धो हुन्छ भन्ने भनाइबाट समेत प्रष्ट हुन्छ ।’ आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ । यी दुवैलाई अलग–अलग प्रयत्नले कार्य गरिनुको बदलामा विज्ञान र अध्यात्म संगठितरूपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुसी, सम्पन्नता र सुख–शान्तिको स्थापना तीव्र गतिले बढ्नेमा शंका रहँदैन । भौतिक उन्नतिको साथै आध्यात्मिक उचाइलाई एकैसाथ सम्पन्न गर्न सकेमा निःसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुन सक्छ ।
अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रूपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शाश्वत सत्य । त्यसैले यसले जीवनमा तीव्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्छ । फेरि यो जगतमा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दु धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले मानिसले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशाविना नै गरेको सत्कर्मले नै उसले मोक्ष पाउने कि नपाउने ? निर्धारण गर्ने गर्दछ । महाभारत, श्रीमद्भागवत् गीताजस्ता हिन्दु धर्मशास्त्रहरू यस्ता अध्यात्म एवं दर्शनको सागर हुन् । जसबाट हामीले सानो अंश उठाउँदा पनि त्यो अत्यन्त जीवनोपयोगी हुने गर्छ ।
विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैँ प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्छन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ । विज्ञानमा वैज्ञानिकहरूले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न सुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै गर्यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरू भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।
वातावरण अनुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ । विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्न सक्ने भएका छौँ । केही दशकअघिसम्म मात्र एक ठाउँको चिठ्ठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो भने आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइबर आदिजस्ता सञ्चार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर, यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोविकृृतिहरूबाट टाढा रहन सकिरहेको छैन ।
एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिकरूपमा ह्रास हुँदै गइरहेका छन् । परिणामस्वरूप भौतिकरूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मकरूपमा भने मानवीय दूरी झन्झन् बढ्दै गइरहको महसुस हुन थालेको छ । भौतिक स्रोत र साधनलाई सहीरूपमा उपयोग नगरी अथवा मानव हितमा प्रयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट समेत ग्रसित हुन पुगेका छन् ।
आध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तव्यनिष्ठ रही विश्वमा रहेको कलम रूपी अन्धकारलाई आध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुण यथार्थ स्वरूप देखाइदिनु मुख्य कर्तब्य हो । स्वस्थ रही अनुशासित र संयमित भएर बुद्धि र ज्ञानको विकास गरी समाजमा रहेको द्वन्द्वलाई हटाइ सबै सुखी बनौँ, सबै मिलेर आनन्दपूर्वक बाँचौँ भन्ने नीति लिएर वैज्ञानिक अध्यात्मवादको विजारोणगरी संसारलाई सुख र शीतल प्रदान गर्न सक्नुपर्छ । वैज्ञानिक आध्यात्मिक चेतनाको जागृत गर्दै समग्र विश्व कल्याण गर्नु समयको माग हो । जीवनमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन मिलाएर अघि बढ्न सकेमा जगतमा सुख र शीतलता प्राप्ति गर्न सकिन्छ ।
लेखक: उप्रेती -नेपाल सरकारका उप सचिव हुन ।