-विश्वको जनसंख्याको आधा हिस्सा महिलाले ओगटेका छन् । मानव समाजको विकासको इतिहासमा के पाइन्छ भने आदिम साम्यवादको अन्त्यतिर त्यस समाजमा मातृ सत्ता सञ्चालनमा थियो । जसलाई मातृसतात्मक समाज भनिन्छ । त्यतिबेला समाजका मालिक महिलाहरु थिए ।
जब मानव समाज वर्गको उत्पत्ति भयो , त्यसै बखत मातृसत्तालाई अपदस्त गरेर पृतिसतात्मक समाजको स्थापना भयो । पुरुषहरु सम्पत्तिका मालिक बन्न पुगे । त्यो दास युगिन राज्यसत्ताको उदय भयो जसलाई दासस्वामी समाज वा राज्य व्यवस्था भनिन्छ । त्यसपछि पुरुषले महिलाहरुलाई दासदासीको रुपमा प्रयोग गर्न थाल्यो र पुरुषले महिलालाई यौन भोकको साधन र सन्तान जन्माउने मेसिनको रुपमा प्रयोग गर्न थाल्यो । त्यसपछि ( दास युगदेखि आजसम्म ) महिलाहरु सम्पत्तिविहिन बन्न पुगे । पैत्रिक सम्पत्तिको हकदार छोरा बन्ने प्रथा शुरु गरेपछि छोरीहरू सम्पत्तिविहिन बन्न पुगे । यो अवस्था आजसम्म पनि कायमै छ । महिलालाई सम्पत्तिबाट मात्र विहिन गराएनकि राज्य सत्ताको हकदार बन्ने , शिक्षा दीक्षा आर्जन गर्ने नैसर्गिक अधिकारबाट समेत बन्चित तुल्याउँदै ल्याइयो यसरी महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा झारियो । आजसम्म पनि कैयौं देशहरूमा महिलाहरुलाई भोटाधिकार ( मतदान ) गर्न पाउने अधिकारबाट बन्चित तुल्याउँदै (घरेलु ( घर भित्रको काम ) काममा , गृहनीका रुपमा सिमित ) तुल्याउँदै ल्याइएको छ । केही देशहरु ( अफगानिस्तान जस्ता देशहरू ) मा छोरीहरुलाई पढ्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाउँदै आएका छन् पुरुष प्रधान कहलिएका प्रतिक्रियावादी शासक वर्गहरु ।
राजनीतिमा एउटा भनाई छ ” जहाँ शोषण हुन्छ , त्यहाँ संघर्ष हुन्छ , जहाँ दमन हुन्छ , त्यहाँ विद्रोह हुन्छ । ” हो , यस लेखमा महिलाहरुले शुरु गरेको विद्रोह र श्रमिक महिलाहरुले आफ्नो मुक्तिका निम्ति शुरु गरेको राजनीतिक अधिकार प्राप्तिको निम्तिको विद्रोह र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनका बारेमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
इतिहासदेखि नै अर्थात् पितृसत्तात्मक विभेदका विरुद्ध महिलाहरुले संघर्ष गर्दै आएका छन् । महिलाहरुले सञ्चालन गर्दै आएका तीन आन्दोलन र विद्रोहहरुमा पुरुषहरु पनि सहयोगी बन्दै आएका छन् ।
मानव समाजको विकासको इतिहासमा पन्ध्रौं – सोह्रौं शताब्दीमा पुगेपछि पश्चिम युरोपमा पुँजीवादको विकास शुरु भयो । त्यसले उत्पादन कार्य तीव्र रुपमा अगाडि बढ्न थाल्यो खासगरी अठारौं शताब्दीमा पुग्दा बेलायतको आौद्योगिक क्रान्तिको सफलतासंगै उद्योग- धन्दा पुँजीको विकासमा तीव्रता आएको थियो । त्यसले पुँजीपतिहरुको आर्थिक स्थितिलाई मजबुत बनाउनुकासाथै सामन्तवादी सत्ता खोसी पुँजीपतिहरुको हातमा शक्ति केन्द्रित हुन थालेको थियो । तीव्र गतिले कलकारखानाको विकासका कारण श्रमिक ( मजदुर ) को माग बढ्दै जाँदा महिला पनि बाहिरको उत्पादनमा भाग लिन थाले । तर महिलाहरुलाई दिइने पारिश्रमिक ( तलव ) काम र कामको समय अनिश्चित थियो । कम पारिश्रमिक र लामो कार्यघण्टा , महिलाजन्य आवश्यकता ( जस्तो महिनावारी , बिरामी र सुत्केरी अवस्था ) मा बेवास्ता लगायतका व्यवहारमा महिलामा असन्तुष्टि बढ्दै जान थाल्यो ।
यसरी शुरु भयो अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन :
माथि उल्लेखित परिवेशमा विभिन्न व्यक्तिहरुले महिला विरुद्ध हुने शोषण , दमन , उत्पीडन , अन्याय , अत्याचार र अमानवीय व्यवहारका विरुद्ध आवाज उठाउन थाले । सन १७७९ मा सबैभन्दा पहिले बेलायती महिला मेरी वोल्स्टोनक्राफ्टले महिला अधिकारकाबारेमा आवाज उठाउँदै पुरुषप्रधान शासन व्यवस्थाको विरोध गर्दै राज्य संयन्त्रमा महिलाको समान अधिकारको माग शुरु गरेकि थिइन । उनको त्यस कदमको पक्ष र विपक्षमा बहस शुरु भएको थियो । उनी भने महिला अधिकार प्राप्तिको अभियानमा निरन्तर लागिरहेकी थिइन । पछि उनलेे समाजवाद र महिला ( सोसियोलिज्म एण्ड विमेन ) नामको निकै गहकिलो पुस्तक प्रकाशन समेत गरेकि थिइन् ।
यसको ठिक १० वर्षपछि १७८९ को अक्टोबरमा पेरिसका गरीब र श्रमजीवी महिला चरम महंगीको विरोधमा जुलुस निकालेर धर्ना गर्न पुगेका थिए । सन १८३२ मा आइपुग्दा नेदरल्याण्डको एक कपडा कारखानामा काम गर्ने श्रमिक महिला दासप्रथाविरोधी समाजको गठन गरी असमान व्यवहारका विरुद्ध आवाज उठाउन थालेका थिए ।
पुँजीवादको विकासले आौद्योगिक मजदुरहरुको निरन्तर विकास हुनु स्वाभाविकै थियो । त्यसले गर्दा शोषण विरुद्ध सिंगो युरोपभरी नै आौद्योगिक क्रान्तिको आँधी चलाउँदै थिए । त्यस समयमा मजदुरलाई संगठित गर्ने संगठन र त्यसलाई मार्गदर्शन गर्ने वैज्ञानिक तथा क्रान्तिकारी सिधदान्तको अभाव थियोे । त्यस अभावलाई पुर्ति गर्ने गरि विश्व सर्वहारा वर्गको वकालत गर्दै सन १८४८ , फेब्रुअरी २१ का दिन कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले ” कम्युनिस्ट घोषणापत्र ” को प्रतिपादन गरे । त्यसपछि सर्वहारा श्रमजीवी वर्गले आफ्नो मुक्तिको सिध्दान्त र क्रान्तिकारी विचार तथा संगठन प्राप्त गर्यो । मार्क्स – एंगेल्सद्वारा मार्क्सवादको प्रतिपादन र मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अण्वेषणले विश्व राजनीतिक क्षितिजमा हलचल पैदा गरिदियो। त्यसले श्रमजीवी तथा उत्पीडित जनतालाई आफ्नो मुक्तिको लागि संगठित रुपमा अगाडि बढ्न प्रेरित गर्यो ।
यसै सिलसिलामा सन १८४८ को जुलाईमा अमेरिकन महिला बीच ” धार्मिक अधिकार र सामाजिक खराबी” विषयमा सेनेकाफल्समा कार्यक्रम आयोजना भएको थियो । त्यस कार्यक्रमले महिला अधिकार सम्बन्धि घोषणापत्र मार्फत् तीन बुँदे माग – महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य र समान अधिकार , शिक्षा र रोजगारीमा समान अधिकार र समान मताधिकारको उद्घोष गरेको थियोे । त्यस घोषणाले अमेरिकी महिला बीच सनसनी फैलाउन पुगेको थियो ।
सन १९५०- ६० दशकमा पुँजीवादको तीव्र विकासको क्रममा भएको स्वचालित यन्त्रको विकासले कतिपय शारीरिक कामलाई मेसिनले विस्थापित गर्दै थियो । अर्काेतर्फ लामो र अनिश्चित कार्य घण्टा , महिलाप्रति मनलागि व्यवहार र शोषणका कारण श्रमिकहरुले जीवनप्रति घृणा ,रोष ,असन्तुष्टि र चिडचिडाहट थपिदै थियोे । परिणामत: सन १८५७ , ८ मार्चको दिन अमेरिकाको न्युयोर्कस्थित सुती कपडा उद्योगमा काम गर्ने श्रमिक महिला काम को घण्टा कम गराउने माग सहित आन्दोलनमा उत्रिएका थिए । श्रमिक बीचको एकता र सहकार्यले राष्ट्रिय सिमा नाघ्न थालेको थियो । श्रमिकहरु अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विकासको क्रममा थिए । त्यसैक्रममा सन १८६४ मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट गठित संघ महिलाविहिन हुँदा आौपचारिक रुपमा भएको विरोध र असन्तुष्टिपछि बेलायतको ” हरियता ल” लाई थप गरी त्यस अन्तर्राष्ट्रिय पहिलो महिला सदस्य बनाइएको थियो ।
त्यसै सिलसिलामा सन १८६५ मा बेलायतका महिलाले मेनचेस्टरमा महिला मताधिकार समिति गठन गरी महिला अधिकारको पक्षमा संकलित हस्ताक्षर सहित समान मताधिकारको विषयमा तयार गरिएको विधेयक सन १८६७ मा जोन स्टुआर्ट मिलमार्फत ब्रिटिश संसदमा पेस गरेका थिए । महिला अधिकारको विषयले संसदमा आौपचारिक रुपमा प्रवेश पाएको पहिलो घटना थियो त्यो
स्मरणीय कुरा के छ भने महिला मुक्ति आन्दोलनलाई श्रमजीवी वर्गको आन्दोलन ( वर्गीय आन्दोलन ) संग जोडेर आमूल परिवर्तनको अभियानको नेतृत्व गर्दै कलरा जेट्किन लगायत क्रान्तिकारी महिलाहरु निरन्तर क्रियाशील रहेका थिए ।
सन १८६८ मा वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल मार्क्सले महिला अधिकारको प्रश्नलाई सशक्त ढंगले उठाउँदै रोजगारीमा महिलाले अवसर पाउनुका साथै शिशु स्याहारलगायतको व्यवस्था गरिनुपर्ने मागमा जोड दिएका थिए । साथै श्रमिक महिलाहरुलाई विश्व श्रमिक आन्दोलनमा सहभागी हुन आग्रह समेत गरेका थिए ।
त्यसपछि सन १८७१ मा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा ऐतिहासिक परिघटना घटित हुन पुग्यो । त्यो केहो भने पेरिस कम्युन ( १८ मार्च – २८ मे १८७१ )हो । पेरिस कम्युनको असफलता पश्चात् पुँजीवादी शासकहरुले श्रमिक आन्दोलनलाई निर्ममतापूर्वक दबाउन थाले । त्यसप्रकारको गंभीर अवस्थालाई चिर्न र श्रमिक वर्गको मुक्तिका लागि सामाजिक जनवादी श्रमिक पार्टीको गठन भयो । महिला श्रमिकहरु पनि त्यसमा संगठित हुन थाले । त्यसरी श्रमिक महिला राजनीतिक दलमा समेत सहभागी हुन थाले ।
अमेरिकाका विभिन्न महिला संगठनहरु मिलेर अमेरिकी राष्ट्रिय महिला मताधिकार संघ गठन गरेका थिए ।त्यसले अमेरिकाम मताधिकार सम्बन्धि आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन थालिएको थियो । त्यसको प्रभाव अन्य देशहरूमा पनि पर्न थाल्यो । ब्रिटिस संसदमा महिला अधिकारकाबारेमा कुरा उठेको २५ वर्ष पछि सन १८९३ मा महिलाले मताधिकार पाउने विश्वकै पहिलो देशको रुपमा न्युजिल्यान्डका महिलाले मताधिकार प्राप्त गरेका थिए । त्यस घटनाले विश्वभरका महिलाहरुमा आशाको किरण फैलन थाल्यो ।
त्यही सिलसिलामा सन १८९२ बाट क्लारा जेट्किनको सम्पादनमा जर्मनीको श्रमिक महिला आन्दोलनको मुखपत्र ” समानता ” पाक्षिकको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिला बीच सचेतना अभियानका लागि प्रेरित गर्न थाल्यो । सन १८९७ मार्च ८ का दिन उचित पारिश्रमिक र निश्चित कार्यघण्टाको माग गर्दै अमेरिकाको न्युयोर्कमा श्रमिक महिला प्रदर्शनमा उत्रिएका थिए । त्यो क्रम अगाडि बढ्दै जाँदा क्लारा जेट्किनको नेतृत्वमा सन १९०७ मार्च ८ मा जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरी ” श्रमिक महिला संघ ” को स्थापना भएको थियोे ।
सन १९०८ मार्च ८ मा अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरुले मताधिकार पाउनुपर्छ भन्ने माग राखेर पुनः प्रदर्शन गरेका थिए । सन १९०९ मार्च ८ कै दिन अमेरिकाकै सिकागो शहरका महिलाहरु पुरुषसरह समान अधिकारको मागसहित व्यापक हडताल गर्दै जुलुस प्रदर्शनमा उत्रिएका थिए । त्यसले श्रमिक बीचको शक्तिलाई थप सुढृढ बनायो ।
सन १९१० मा १७ देशका श्रमिक र राजनीतिक महिला: प्रतिनिधिकासाथै फिनल्यान्डमा पहिलोपटक निर्वाचित भएका तीन जना महिला सांसदसहित झण्डै १०० जना समाजवादी महिलाको बीचमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो । त्यही सम्मेलनमा समानताका पक्षपातीबीच ऐक्यबद्धता दिवसको रुपमा मार्च ८ लाई अन्तर्राष्ट्रियस्तरमा श्रमिक महिला दिवसको रुपमा मनाउन क्लारा जेट्किनद्वारा राखिएको प्रस्ताव एकमतले पारित भएको थियो ।
सन १९११ बाट मार्च ८ को दिनलाई विश्वभर समानताको आन्दोलनको रुपमा मनाउन थालियो । सन १९१४ मा पहिलो विश्वयुध्द भएको विभिन्न देशका देशभक्त , शान्तिप्रिय श्रमजीवी जनता त्यस युध्दको विरोधमा उत्रिएका थिए । युरोपमा श्रमिक महिलाले युध्दपिपाशुहरुको भण्डाफोर गर्दै विश्वशान्ति र राष्ट्रिय मुक्तिका लागि अन्तर्राष्ट्रिय लिग गठन गर्दै युध्द नरोकिएसम्म अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( मार्च ८ ) लाई युध्दविरोध र विश्वशान्तिको पक्षमा मनाएका थिए । सन १९१७ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रुसका श्रमजीवी महिलाहरुले भोगमरी , युध्द र जारशाहीका विरुद्ध आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा कारखाना हडताल गरी सम्पूर्ण श्रमिकहरुले साथ दिएका थिए । त्यसै वर्ष अर्थात् सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७) का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि रुसी महिलाहरुले राजनीतिक रुपमा समानता र स्वतन्त्रता प्राप्त गरेका थिए सन १९४८ को ८ मार्चमा स्पेनको मेड्रिड शहरमा हजारौं श्रमिक महिला सरकारको निरंकुशताविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।
त्यस्तै मार्च ८ कै दिन चिनिया महिलाहरुले जापानी आक्रमणका विरुद्ध लड्न र महिलाहरुको जीवन सुधार ल्याउने उद्श्येले ” सीमा क्षेत्रीय महिला संघ ” गठन गर्दै राष्ट्रिय सुरक्षाका विषयमा आफ्नो सम्वेदनसिलता प्रस्तुत गरेका थिए ।
यसरी मार्च ८ विश्वभरका श्रमिक महिलाहरुले आफ्नो मुक्त आन्दोलनको प्रतीकको मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्र संघले सन १९७५ मा आइपुग्दा त्यसवर्षलाई अन्तर्राष्ट्रिय महिला वर्ष , १९७५ – ८५ लाई महिला दशक घोषणा गर्दै मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गर्यो
नेपालमा ८ मार्च :
मार्च ८ लाई नेपालमा पहिलोपटक वि. सं. २०१७ बाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन शुरु गरिएको हो । त्यसयता चार दशक पार भइसकेको छ । यस अबधिमा निरन्तरता पाउँदै आएको छ। यस हिसाबले नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको इतिहास पनि लामो भइसकेको छ । विगत वर्ष झै यस वर्ष पनि आज मार्च ८ , २०२४ / वि. सं. २०८० फागुन २५ का देशभरका श्रमिक तथा उत्पीडित महिलाहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा धुमधामका साथ मनाउन गइरहेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा हजारौं महिलाहरु, नेपाली आमाका असल तथा आँटि छोरीहरुले जनवाद र जनजीविका प्राप्तिका लागि जीवन उत्सर्ग गर्दै आएको गौरवपूर्ण इतिहास गाथा छ नेपाली महिलाहरुको । सबैभन्दा जीवन उत्सर्ग महान् दस वर्षे जनयुद्धको प्रक्रियामा हजारौं महिला दिदीबहिनीहरुले जीवन अर्पण गरिसकेका छन् । यसअर्थमा क्रान्तिकारी नेपाली महिलाहरुको वीरताको इतिहास ज्यादै गौरवपूर्ण रहेको छ ।
अन्त्यमा क्लोरा जेट्किन ,रोज लक्जम्वर्ग , याङ्काई हुई , चियाङ्ग चिङ्ग लगायतका अन्तर्राष्ट्रिय वीर वीरंगानाहरुले शुरु गरेको र निर्माण तथा परिचालन गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला मुक्ति आन्दोलनको इतिहास गौरवपूर्ण र वीरतापूर्ण इतिहासले भरिपूर्ण छ । अरु वीरताका गौरवगाथा बुन्दै र , आफ्नो लक्ष्य र उद्श्ये प्राप्तिको लडाइँमा अविचलित ढंगले अगाडि बढ्नेछ भन्ने विश्वासका साथ ११४ आौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सफलताको शुभकामना व्यक्त गर्दछु ।
लेखक : वरिष्ठ मार्क्सवादी लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।