२३ भाद्र २०८१, आईतवार

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बुधबार साँझ महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।

सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ । बसमा ४० जना यात्रु रहेकाे र मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेकाे बुटवल प्रहरी कार्यलयले जनायकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।