९ मंसिर २०८१, आईतवार

नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

आज देशैभर जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ, जनयुद्धको एकजना पहलकर्ताको हैसियतले यसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारिदिनुस् न ?–सर्वप्रथम त यहाँहरुलाई जनयुद्धको शुभकामना छ । यही मिडियामार्फत् सबै कमरेडहरु, शुभेच्छुकहरु र आम जनतामा जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जनयुद्ध नेपालमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनका विरुद्ध देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं । यसको औचित्य के छ भन्ने जहाँसम्म प्रश्न छ– वास्तवमा शोषित पीडित तथा सर्वहारा वर्ग, किसान, मजदुर, महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित क्षेत्रका जनता लगायत राष्ट्रिय पुँजीपतिवर्गसम्मको मुक्तिको लागि, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याहरुको समाधान गर्नका लागि हामीले जनयुद्ध सुरु गरेका थियौं । देशमा त्यसको आवश्यकता थियो । र, त्यो औचित्यपूर्ण थियो । र, महान थियो । यद्यपि अन्तमा आउँदा त्यो सफल हुन सकेन । धोका र धक्का खायो । तर पनि यो महान र अभूतपूर्व ऐतिहासिक परिघटना थियो ।

अहिले जनयुद्धलाई विद्रुपीकरण गर्ने, अपराधीकरण गर्ने प्रक्रियालाई तीव्र पारिएको छ । यसो हुनुमा के के कारण देख्नुहुन्छ ?
–अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो । यसको मूलकारण भनेको महान जनयुद्ध सफल हुन सकेन । जुन आशा र अपेक्षाका साथ अगाडि बढाइएको थियो, त्यो सफल हुन पाएन । जनयुद्ध सफल हुन नसक्नुमा पार्टीभित्र पैदा भएको अवसरवाद, नवसंशोधनवाद हो । दोस्रो कारण– प्रतिक्रियावादीहरुले गर्ने काम नै त्यही हो । महान जनयुद्धले नेपालमा प्रतिक्रियावादीको अस्तित्वलाई ध्वस्त पार्न खोजेको थियो । त्यसकारण उनीहरुले जनयुद्धको विरोध गर्नु, अपराधीकरण गर्नु स्वभाविकै कुरा हो । अर्को कुरा जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने काम लाजकाज जुन रुपमै भए पनि प्रचण्डले निर्णय गरेका थिए । त्यो सकारात्मक कुरा नै थियो । यत्ति पनि उनीहरुले पचाउन सकेनन् । मलाई के लाग्छ भने आन्दोलन कमजोर भएको बेलामा प्रतिक्रियावादीले त्यसै गर्छन् । भोलि क्रान्तिकारीहरुले यी सबको बदला लिन्छन् । बद्ला लिनु पर्छ । नेपाली जनताले प्रतिक्रियावादीहरुलाई त्यसै छोड्नेवाला छैनन् । यसलाई यही रुपमा ग्रहण गर्नुपर्छ ।
जनयुद्धलाई विद्रुपीकरण गर्नेहरुले अर्को एउटा गम्भीर आरोप के लगाउने गरेका छन् भने जनयुद्ध नेपाली माटोमै जन्मेर र हुर्केको होइन, भारतीय भूमिका जन्म्यो र भारतीय शासकहरुकै मलजलमा हुर्केको आरोप लगाउने गरेका छन् । यस विषयमा स्पष्ट पारिदिनुस् न ?
–यो विषयमा दुईवटा कुरा छन्– पहिलो कुरा, महान जनयुद्ध सर्वहारा अन्तर्राष्ट्रवादमा आधारित छ । हाम्रा दुश्मन विश्वभरि छन् र हाम्रा मित्रहरु पनि विश्वभरि नै छन् । भारत भन्ने वित्तिकै भारतीय विस्तारवाद मात्रै छैन । हाम्रा मित्रहरु पनि छन् । हाम्रा साथीहरु पनि छन् । हाम्रा कमरेडहरु पनि छन् । माओवादी जनयुद्ध त भारतीय भूमिमै चलिरहेकै छ त । सर्वहरावर्गले विश्वलाई नै आफ्नो ठाउँ ठान्छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई हेर्दा पनि त्यही अभ्यास भएको पाइन्छ । कम्युनिज्म भनेको सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित छ । कुन देशको भूमि प्रयोग गर्ने, कुन देशको नगर्ने भन्ने कुरा आउँदैन । जहाँ जहाँ मित्रहरु छन्, त्यहाँ आवश्यकता अनुसार भूमिको उपयोग गर्छन् ।

दास्रो कुरा, त्यसै भन्ने हो भने त २००७ सालको क्रान्तिलाई के भन्ने ? २००७ साल कहाँबाट आएको हो ? हतियार कसले दिएको हो ? त्यसबेला कांग्रेस त भारतमै जन्मिएको त हो । अहिले माओवादी जनयुद्धलाई अरोपित गर्नेहरुले २००७ सालको क्रान्तिको पृष्ठभूमिबारे बोल्नु पर्दैन ? त्यसकारण जनयुद्धलाई विकृतीकरण गर्ने अधिकार छैन उनीहरुलाई । जवाफ दिनुपर्छ उनीहरुले २००७ कसरी आएको हो ? हामी त सर्वहारा अन्तर्राष्ट्रियतावादी हौं ।

तेस्रो कुरा, महान जनयुद्ध जसरी अगाडि बढ्यो, त्यो नेपालको सिंगो इतिहासमा अपूर्व हो । त्यो त देशभित्रै गरेको हो त । यही जन्मेको हो, यही हुर्केको हो, यही लडेको हो । ती विरोध र विद्रुपीकरण गर्नेहरु सबैलाई थाहा छ त ? सबै कुरा जगजाहेर हुँदा हुँदै तथ्यलाई तोडमोड गर्ने, भ्रम फैलाउने, विरोध गर्नु भनेको सरासर बद्मासी हो । यसको सशक्त विरोध गर्न जरुरी छ ।
यही प्रसंगमा भारतीय एकजना प्रोफेसर एसडि मुनिले प्रचण्ड–बाबुरामले भारतीय शासकहरु समक्ष विन्ति पत्र चढाएको र त्यसपछि माओवादी शान्तिप्रक्रियामा आएको भन्नु र तपाईले १२ बुँदे समझदारीको विरोध गर्नुको कतै तालमेल छ कि छैन ? स्पष्ट पारिदिनुस् न ?

–पहिलो कुरा, भारतीय प्रोफेसर एसडि मुनिसँग वा भारतीय सरकारसँग के के गरेका थिए भन्ने कुरा क्रान्तिकारीहरुको कुरा होइन । यो अवरवादीहरुको कुरा हो । अवसरवादीहरु त जे पनि गर्न सक्छन् । समग्र जनयुद्धलाई त्यसरी जोड्नु हुँदैन । यद्यपि त्यसबेला जनयुद्धको नेतृत्वकर्ता उनै अवसरवादीहरु थिए । दोस्रो कुरा, जुन १२ बुँदे समझदारी भयो । दिल्लीमा त्यो सम्झौता हुनु गलतै भएको हो । इण्डियाको आफ्नो स्वार्थ थियो । यहाँका अवसरवादीहरुको पनि स्वार्थ भयो । जे भयो गलत भयो । २००७ सालमा पनि त त्रिपक्षीय दिल्ली सम्झौता त भएकै हो । भारतीय विस्तारवादी शासक वर्गसँग झुक्ने, आत्मसमर्पण गर्ने प्रवृत्ति पनि गलतै हो, १२ बुँदे सम्झौता पनि गलत हो । नेतृत्वले गरेको त्यो गल्तीसँग जोडेर समग्र जनयुद्ध नै गलत ढंगले सञ्चालित भएको थियो भन्न पाइदैन । त्यो आरोप तथ्यसंगत छँदै छैन, होइन ।

यहाँहरु भारतीय भूमिबाट पक्राउ पर्नु र यता नेतृत्वले जनयुद्धको अन्त्य गर्नु (बाटो मोड्नु)मा संयोग मात्रै थियो कि योजनाबद्ध षड्यन्त्र ? आजको दिनबाट त्यो विगतलाई कसरी हेर्नुहुन्छ ?

– त्यो घटना परिवेशलाई कुनै व्यक्तिसँग जोडेर भन्नु त उपयुक्त नहोला तर गम्भीर प्रकारको आशंका गर्ने ठाउँ छ । व्यक्ति विशेषलाई नजोडौं ।

तपाईलाई पार्टीमा संशोधनवादी विचलन देखियो, दक्षिणपन्थी अवसरवादी लाइन लियो भन्ने कुराको महसुस चाहिँ कहिले भयो ?

–यसको महसुस त इण्डियाको जेलबाट मुक्त भएर नेपालमा आइसकेपछि, पार्टीका सबै दस्तावेज हेरिसकेपछि अनि सबै चालामाला बुझिसकेपछि मलाई पार्टी गलत बाटोतिर गयो भन्ने राम्रोसँग एकिन भयो । सुरु मै त्यो हुन सकेन । किनभने हामी जेलमा थियौं । सम्पूर्ण सूचनाहरुबाट बञ्चित थियौं । केही थाहा पाइन्नथ्यो । अर्कोकुरा, नेतृत्वमा केही कमीकमजोरी छन् भन्ने थाहा हुँदाहुँदै पनि नेतृत्वप्रति ठुलो विश्वास थियो । यस्तो होला भन्ने कुरा हामीले सोचेकै थिएनौं । जेलबाट छुटेर आएपछि छर्लङ्ग बुझियो ।

जेलबाट छुटेर आएपछि तपाईले पार्टीभित्र अन्तरसंघर्षं, दुईलाइन संघर्ष चलाउनु भयो । पार्टीलाई क्रान्तिकारी लाइनमा हिडाउन धेरै नै मेहनत गर्नुभयो तर अन्ततः पार्टी सग्लो रहने स्थिति भएन । त्यसबेला अन्तरसंघर्ष वा दुईलाइन संघर्षका मुद्दाहरु, मूलभूत विषयहरु के के थिए, संक्षिप्तमा चर्चा गरिदिनुस् न । यहाँहरुले किन तत्कालीन पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु भयो ?

–प्रचण्ड–बाबुरामले योजनाबद्ध रुपमा जनयुद्धलाई आत्मसमर्पणवादी बाटोमा लैजाने र ध्वस्त पार्न खोजेका रहेछन् । थाहा पाइयो । त्यसपछि संविधान निर्माणको प्रश्न, सेना समायोजनको प्रश्न, १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता तथा जनयुद्धको अन्त्यको घोषणा, आदि विषयहरुमा असहमति राखियो । सेना समायोजनको नाममा सात डिभिजनको जनमुक्ति सेनाको संरचनालाई सिध्याइयो । जनमुक्ति सेनामाथि उनीहरुले एकप्रकारले ‘कू’ नै गरे । क्यान्टोनमेन्ट रहेका जनमुक्ति सेनामाथि नेपाली सेना लगाएर आक्रमण गरे । र, जनमुक्ति सेनासँग भएका सबै हतियार खोसे । नयाँ जनवादी क्रान्तिप्रतिको अविश्वास, सर्वहारावर्गको अधिनायकत्वप्रतिको अविश्वास, जनयुद्ध सुरु गर्दा गरेको प्रतिबद्धताका विरुद्ध उभिनु, अनि एकातिर नवसंशोधनवादी धारा र अर्कोतिर क्रान्तिकारी धारा अर्थात् माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, सर्वहारा अन्तर्राष्ट्रियतावाद, वैज्ञानिक समाजवाद र साम्यवादलाई अङिगकार गर्ने धाराबिच भीषण संघर्ष चल्यो । खरिपाटी राष्ट्रिय भेलामा त्यो एउटा उत्कर्षमा पुग्यो । हामीले अन्तसम्म पनि उहाँहरुलाई सच्याउने कोशिस ग¥यौं तर सच्चिन तयार हुनुभएन । हामीले कहाँसम्म कोशिस गरेका थियौं भने अब यो संविधानसभाबाट जनताको संविधान बन्दैन, संसदवादी पार्टीहरुले संसदीय संविधान मान्नका निम्ति माओवादीहरुलाई दबाब दिन्छन्, त्यसमा तपाईहरु विश्वास नगर्नुस्, खासगरेर मैले प्रचण्डजीलाई भनेको हो– शासकीयस्वरुपमा ‘बहुलवाद’ भन्ने त्यहाँ राखिएको छ, हामीले त जिन्दगीभरि बहुलवादको विरोध गर्दै आएको हो, त्यसलाई स्वीकार नगर्नुस्, बरु ‘नोट अफ डिसेन्ट’ लेखेर जाऔं, भन्दा पनि उहाँ मान्नुभएन । किनकि उहाँहरु योजनाबद्ध ढंगले आउनु भएको रहेछ । अवसरवादी धारा, विश्वासघात गर्ने धारा र अर्कोतिर क्रान्तिकारी धाराका बिचको दुईलाइन संघर्ष थियो त्यो । जे गरिएको थियो, गरियो एकदमै ठिक थियो । आज आएर त त्यो सान्दार रुपमा पुष्टि भैसकेको छ ।

एकाथरिले त मोहन वैद्यले पार्टीभित्र केही अवसर नपाएकाहरुको उक्साहटमा पार्टी विभाजन गरेको र पार्टी विभाजन भएपछि माओवादी आन्दोलन कमजोर बन्न पुग्यो र जनयुद्धको तागतमा स्थापित उपलब्धिहरु पनि गुम्ने स्थितिमा पुग्यो भन्ने भाष्य प्रयोग गरिरहेका छन् । यस विषयमा के भन्नुहुन्छ ?

–जनयुद्धकै जगमा भएको जनआन्दोलनबाट गणतन्त्र, धर्मनिपेक्षता, संघीयता, समानुपातिक, समावेशी प्रतिनिधित्व जस्ता आंशिक उपलब्धिहरु त प्राप्त भएका हुन् । त्यो त हामीले मानेकै विषय हो । जति माने पनि ती उपलब्धि आंशिक नै हुन् । समग्रमा त हामीले चाहेको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादतिर जाने उद्देश्य हो । त्यो उद्देश्यमा त घात भइहाल्यो । सारा विश्वास गरेकाहरु अवसरवादी बनेर धोका दिएपछि माओवादी आन्दोलन रक्षात्मक अवस्थामा पुग्नु त स्वभाविक हो । यो स्वभाविकै कुरा हो । हामी क्रान्तिकारीहरुले पनि त्यो अवसरवादका विरुद्ध बेलैमा सशक्त संघर्ष गर्न नसकेको साचो पनि हो । हाम्रा कमीकमजोरी पनि हुन् । तर अवसरवादीहरुलाई लगाम लगाउने र सच्याउने बेला गुज्रिसकेको थियो । त्यहाँबाट शिक्षा लिएर अगाडि बढ्नुको विकल्प थिएन । संशोधनवादी र अवसरवादीहरुले आफ्नो बदमासीमाथि पर्दा हाल्नका लागि त्यसैलाई उपलब्धि भनेर ब्याज खाइरहेका छन् । जहाँसम्म अवसर नपाएकाहरुको कुरा छ, त्यस्ता पनि हुन सक्छन् । त्यो त जगजाहेरै छ त । कसले साँच्चै क्रान्ति गर्नका लागि विद्रोह गरेको हो, को को अवसर नपाएर विद्रोहमा सामेल भएका थिए भन्ने कुरा त त्यो कुरा त जगजाहेरै भइसक्यो । तर बुझ्नुपर्ने कुरा के हो भने– क्रान्तिको बाटो जिगज्याक हुन्छ । त्यसकारण क्रान्तिकारीहरुले अवसरवादीहरुलाई पनि क्रान्तिकारी देख्ने, अनि क्रान्तिकारीहरुलाई राम्रोसँग विश्वास नगर्ने इतिहासमा हुने गर्छन् ।

हिजो सँगै जनयुद्ध लडेका एकाथरि साथीहरु जनवादी क्रान्ति मौलिक रुपमा पूरा भयो भनेर संश्लेषण गर्दै समाजवादको नारामा अगाडि बढेका तन्, तपाईहरु भने अहिले पनि नयाँ जनवादी क्रान्तिको कार्यभार बाँकी नै छ, पूरा भएको छैन भनिरहनु भएको छ । जनवादी क्रान्ति पूरा भएको छैन भन्ने आधारहरु के छन् ? संक्षिप्तमा स्पष्ट पारिदिनुस् न ?

–नयाँ जनवादी क्रान्ति पूरा भयो भन्नेमा दुई पक्ष छ । एउटा पक्ष पूर्णरुपमा अवसरवादी पक्ष छ । जुन आत्मसमर्पणवादी धारामा गइसकेको छ । आफूले प्रतिक्रान्तिलाई सहयोग पु¥याएको औचित्य पुष्टि गर्न उनीहरुले जनवादी क्रान्ति भयो भनेका मात्र हुन् । अर्को पक्ष जो क्रान्तिकारी छ, त्यहाँभित्र पनि थोरै बहस छ– हिजोको भन्दा आजको अवस्थामा केही फरक भएको छ । त्यो फरक भनेको के हो त ? भन्ने विषय पनि छ । अहिले हामीले पार्टी एकता गरेका छौं । हामीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा जाने हो भनेर बहस गरिरहेका छौं । हामीले तथ्यबाट सत्य पत्ता लगाउने भन्दै केही नमूना तथ्यहरुलाई लिएर अध्ययन अनुसन्धान गरिरहेका छौं । विकसित परिस्थितिको ठोस अध्ययन गरेर ठोस विश्लेषण गरेर जानु पर्दछ । र, राजनीतिक तथा फौजी कार्यदिशाको विकास गरेर जानु पर्दछ । हामी यी सबै विषय महाधिवेशनमा गएर संश्लेषण गछौं र एउटा नयाँ निष्कर्षका साथ अगाडि बढ्छौं ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल महाधिवेशनको तयारीमा जुटिरहेको छ । विकसित परिस्थिति अनुसार कार्यदिशाको विकासका लागि तथ्यहरुको अध्ययन र अनुसन्धान पनि गरिरहेको छ । यो प्रक्रिया चाहिँ कहाँ पुगेको छ ?

–यस विषयमा दुई तीनवटा पाटापक्षहरु छन्– पहिलो, हामीले फिल्डमै गएर अनुसन्धान गर्ने भनेर हामीले त्यो अनुसन्धान गरिरहेका छौं । नमूनाहरुलाई लिएर निश्चित जिल्लाहरु (मधेस, पहाड, हिमाल)लाई आधार बनाएर अनुसन्धान गरिरहेका छौं । त्यसको परिणाम आइसकेको छैन, छिट्टै आउला । दास्रो, सरकारी तथा गैरसरकारी तथ्याङ्कहरुलाई आधार मानेर अध्ययन गरिरहेका छौं । र, तेस्रो, नेपालका बुद्धिजीवीहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग पनि अन्तरक्रिया गरिरहेका छौं । यसरी तीन तहमा हामीले अध्ययन अनुसन्धानलाई अगाडि बढाइरहेका छौं । तथ्यहरुको विश्लेषणबाट नयाँ संश्लेषणमा पुग्ने र विकसित परिस्थिति अनुसार क्रान्तिको रणनीति र कार्यनीतिको विकास गर्नेछौं ।

जहाँसम्म दुई पार्टीबिच एकता गरेर हामीले जुन दस्तावेज तयार पारेका छौं, त्यसमा हामीले ‘नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक विशेषतासहित नवऔपनिवेशिक अवस्थामा प्रवेश गरेको छ’ भनेका छौं । यो अवस्थामा क्रान्तिका दुश्मन भनेका दलाल तथा नोकरशाही पुँजीवाद एक नम्बरमा आइहाल्छ । त्यसैमा बँचेखुचेको सामन्तवाद पनि आइहाल्छ । साम्राज्यवाद र विस्तारवाद त सिंगै बाँकी नै छन् । यी सबै नेपाली क्रान्तिका दुश्मन हुन् । हिजो हामीले सामन्तवादलाई एक नम्बरमा राखेका थियौं । अब त्यो एक नम्बरमा हुँदैन । यो विश्लेषण मूलतः ठिकै छ । यो अध्ययन अनुसन्धानबाट के आउने हो, त्यस आधारमा एउटा संश्लेषणमा हामी पुग्ने नै छौं ।

नयाँ जनवादी क्रान्तिको कार्यभार दुईवटा हुन्– एउटा देशीय प्रतिक्रियावादका विरुद्ध संघर्ष, अर्को वैदेशिक प्रतिक्रियावादका विरुद्धको संघर्ष हो । वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने कार्यभार त सिंगै बाँकी नै छ त । जसले यो कार्यभार सकियो भनेका छन्, तिनीहरुले त आत्मसमर्पण गरेर गइसके, हामी बँचेकाहरुले यो बारेमा पनि राम्रो अध्ययन गर्दैछौं । यस विषयमा अझ राम्रोसँग अध्ययन, अनुसन्धान, बहस, छलफलमार्फत् एउटा ऐतिहासिक संश्लेषणमा पुग्छौं भन्नेमा हामी विश्वस्त छौं ।

युवा र विद्यार्थीहरुको तीव्र विदेश पलायन एकातिर, अर्कोतिर दुई विश्व शक्ति राष्ट्रको बिचको भूराजनीतिक अवस्थिति, अनि विगतदेखिको ‘नियन्त्रित विद्रोह’को विरासत भावी क्रान्तिका लागि कत्तिको चुनौतीपूर्ण छन् र यी चुनौतीको सामना कसरी गर्न सकिन्छ ?

–देशभित्र राजगारीको स्थिति नहुँदा ठुलो संख्यामा युवाहरु विदेशिएका छन् । यो सत्य हो । यसले निश्चित रुपमा क्रान्तिलाई पनि समस्या पार्छ । त्यसको हल हामीले गर्नुपर्छ । विदेशमै गए पनि रोजगारीको सुरक्षा छैन । त्यो भरपर्दो र दीर्घकालीन छैन । सबै आउने देशभित्रै हो । यही बसेकाहरुको पनि त हालत खराब छ । उपेक्षित उत्पीडितहरु नै छन् । सबैलाई गोलबन्द गरेर जानुपर्छ । रेमिट्यान्सबाट धानिने परिपाटिको सशक्त विरोध गर्दै देशभित्र नै रोजगारीका लागि सशक्त रुपमा आवाज उठाउनु पर्छ ।
जहाँसम्म चीन र भारतको बिचमा नेपाल छ, कसरी क्रान्ति होला ? कयौंले सकिदैन, यहाँ क्रान्ति सम्भव नै छैन भन्ने गरेका पनि छन् । ती सबै अवसरवादी कुरा हुन् । हामीले कसरी हेर्नुपर्छ भने– चीन पनि प्रतिक्रियावादका विरुद्ध लड्दै आएको मुलुक हो । त्यहाँ पनि जनता छन् । भारत पनि लड्दै आएको मुलुक हो । त्यहाँका जनता त लड्दै आएका छन् । अहिले पो सत्तामा गलत तत्वहरु छन् । जनता त लडिरहेकै छन् । हामी पनि जनतै हो । जनता जनता मिलिन्छ, लडिन्छ, जनताको सत्ता ल्याइन्छ । भारतमा पनि प्रतिक्रियावादीहरु दीर्घजीवी÷चिरञ्जीवी भएर रहन सक्ने स्थिति आउँदैन, चीनका अवसरवादीहरु पनि दीर्घजीवी भएर रहिरन सक्दैनन् । अर्को कुरा के पनि हो भने चीन र भारतका शासकहरुलाई एउटै कित्तामा राखेर हेर्न मिल्दैन । किनभने चीनका केही कमीकमजोरी भए पनि नेपाली सार्वभौमिकतामाथि हमला नै गर्ने गरी ऊ आएको छैन तर नेपाली सार्वभौमिकतामाथि हमला गर्ने गरी आएको त भारत हो । अहिले त्यसमाथि अमेरिका आइसकेको अवस्था छ । नेपालमा एमसीसी र एशियामा हिन्दप्रशान्त रणनीतिको माध्यमबाट आइसकेको छ । अमेरिका चीन र भारत दुवैका निम्ति पनि टाउको दुखाइको विषय बनेको छ । अहिले अमेरिका, चीन र भारतबीच जुन अन्तरविरोध छ, हामीले उनीहरुका अन्तरविरोधमा खेल्नुपर्छ । क्रान्ति भनेको अन्तरविरोधका बिचबाट अगाडि बढ्ने हो । क्रान्तिकारीहरु यस्ता अन्तरविरोधमा खेल्न सिपालु भएर अगाडि जानु पर्छ । हाम्रा रणनीति र कार्यनीति पनि त्यही हिसाबले विकास गर्नुपर्छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले केही समयअघि तात्कालिक कार्यनीति भनेर ‘अस्थायी संयुक्त सरकार’को नारा अगाडि सारेको थियो, यसबारेमा अलि प्रष्ट पारिदिनुस् न ?

–हामीले तात्कालिक कार्यनीति किन ल्यायौ भने–नेपालमा जनताले विकल्प खोजिरहेका छन् । हाम्रो विकल्प नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो । त्यसमा अहिल्यै तत्कालै जान सकिदैन । तत्कालको अवस्थामा के गर्ने भन्दा तात्कालिक कार्यनीतिको आवश्यकता प¥यो । त्यसैले हामीले कार्यनीतिक श्रृङ्खलाको रुपमा अस्थायी संयुक्त सरकार’ नारा अगाडि सारेका हौं ।

जनताले संसदीय व्यवस्थाको विकल्प त खोजिराखेका छन् । एकातिरबाट राजावादीहरु उठिराखेका छन्, तिनीहरु त प्रतिगमनकारी हुन् । जतिसुकै कुरा गरे पनि त्यसको कुनै सम्भावनै छैन । अब राजतन्त्रका पछि लागेर हुनेवाला केही पनि छैन । संसदीय व्यवस्थाको पनि पछि लागेर केही हुनेवाला छैन । संसदीय व्यवस्थालाई सबैले ‘चिरञ्जीवी’ ठानेर आइराखेका छन्, यो सञ्चालन गर्ने वर्ग पतित भएर गइरहेको छ । सारा भ्रष्टाचारका काण्डहरुले बद्नाम छ । एकले अर्कालाई आरोप लगाउँछन्, आखिरमा सबै मुछिइरहेकै छन् । संसदीय व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको छ । ठूलो विडम्बनाको कुरा हो । यो व्यवस्थाका विरुद्ध जनताको आक्रोश चुलिदै गइरहेको छ । रास्वपा जस्ता विकल्पले अब केही हुनेवाला छैन । तिनीहरुको पनि असली रुप देखिदैछ । त्यो विकल्प होइन । असली विकल्प भनेको नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने हो । तत्कालको सही विकल्प भनेको ‘अस्थायी संयुक्त सरकार’ हो । सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरुको संयुक्त सरकारको कुरा गरेको हो हामीले । त्यसका लागि संयुक्त मोर्चाको कुरा पनि अगाडि सारेका छौं । संयुक्त मोर्चा भनेको नेपालको सन्दर्भमा जनवर्गीय मोर्चा हो । जनयुद्धमा पनि संयुक्त मोर्चा बनेको होइन । परिस्थिति अलि परिपक्व हुँदै गएपछि प्रतिक्रियावादी किल्ला ध्वस्त हुन पुग्छ । संसदवादी पार्टीहरुभित्र पनि यस्तो चालले हुँदैन भनेर बहस भइरहेको छ । पहिलेदेखिका रैनाथे प्रतिक्रियावादीहरुका त कुरा छाडौं, उनीहरु त ‘कम्युनिस्ट’, ‘वैज्ञानिक समाजवाद’ भनेपछि डराइहाल्छन् । नवप्रतिक्रियावादतिर गइरहेको शक्तिलाई मनमा त छ नि– बर्वाद भयो, माक्र्सवादको कुरा पनि, बहुलवादको कुरा पनि । माक्र्सवाद र बहुलवाद मिल्ने कुरा हो ? होइन । हो, यी विषयमा त्यहाँभित्र पनि बहस भइरहेको छ, सबै सन्तुष्ट छैनन् । विष्फोट हुनेवाला छ । त्यो विष्फोटमाथि ध्यान दिदै हामीले रणनीतिक कुरा मात्रै गरेर हुँदैन, कार्यनीतिक रुपमा पनि सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्छ भनेर नै यो कार्यनीतिक नारा अगाडि सारेका हौै । दलाल पुँजीवाद, बँचेखुचेको सामन्तवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध एउटा सशक्त कार्यनीतिक सरकारको जरुरत छ ।

अन्य क्रान्तिकारी पार्टीहरुसँगको एकता प्रक्रिया चाहिँ कहाँ पुगेको छ ? को को सँग एकताको प्रक्रिया अगाडि बढाइरहनु भएको छ ?

–हामीले नेकपा (मशाल)सँग एकताको प्रक्रिया अगाडि बढाइरहेका छौं । अन्य साना समूहहरुसँग पनि छलफल चलाइरहेका छौं । र, केही क्रान्तिकारी व्यक्तित्वहरुसँग पनि छलफल चलिरहेको छ । छरिएर रहेका सबै क्रान्तिकारी फोर्स एकताबद्ध हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

अन्तमा, जनयुद्ध दिवसको यस ऐतिहासिक दिनमा सहिद परिवार, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धा लगायत आमूल परिवर्तनको प्रतीक्षा गरिरहेका आम जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

–महान जनयुद्धको प्रक्रियामा जीवन वलिदान गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । वेपत्ता योद्धाहरुप्रति विशेष सम्मान जाहेर गर्न चाहन्छु । र, घाइते अपाङ्ग योद्धाहरु, जनमुक्ति सेनाका योद्धाहरुप्रति पनि सम्मान व्यक्त गर्न चाहन्छु । नेपालमा विभिन्न किसिमका आन्दोलनहरु भएका छन्, ती सबैमा बलिदान गर्ने सहिदहरुप्रति विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्दछु । सबै शुभेच्छुकप्रति शुभकामना छ ।
अन्ततः आजको दिनको सन्देश के हो भन्दा– पहिलो कुरा, जनयुद्ध भयो तर परिणाम केही पनि भएन भन्ने पनि छ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, संघीयता सबै जनयुद्धकै तात्कालिक परिणाम हुन् । अब त्यसैमा टेकेर अगाडि बढ्नु पर्छ । यसको मतलब त्यसलाई संरक्षण गर्ने होइन त्यसलाई सिध्याएर अगाडि बढ्ने कुरा हो ।
दोस्रो कुरा, त्याग, वीरता र बलिदानको मूल्यबोध धेरै भव्य छ । यो खेर जाँदैन । हाम्रा वीरयोद्धाहरुले जुन सहादत प्राप्त गरेका छन्, त्यो रगत त्यसै खेर जानेवाला छैन । त्यही रगत अभिसिञ्चित भूमिमा टेकेर हामीले क्रान्ति सफल पार्छौ । त्याग, वीरता र बलिदान भावी क्रान्तिका लागि उत्प्रेरणा हो, उर्जा हो । क्रान्ति हुनेवाला छ ।
तेस्रो कुरा, हामीले धेरै अनुभव हासिल गरेका छौं– पार्टीको रुपमा, आन्दोलनको रुपमा । जनताले पनि धेरै अनुभव हासिल गरेका छन् । त्यो अनुभवको जगमा उठेर हामी अगाडि बढ्न सक्छौं । अब सबैखाले अवसरवादका विरुद्ध र सबै खाले प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी धारालाई बलियो बनाउने, एकतालाई बलियो बनाउने, जनताको मनोवल माथि उठाउने र अर्को क्रान्तिको निम्त तयारी गर्ने बेला यही हो । जनयुद्ध दिवस मनाउनुको अर्थ अर्को क्रान्तिको तयारी गर्नु हो । जनयुद्धको जुन मूल्यबोध हो, त्यसलाई यही अर्थमा बुझ्न जरुरी छ । हामी निश्चित रुपमा विजयी हुन्छौं, जनता विजयी हुन्छ ।