९ श्रावण २०८१, बिहीबार

मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा

लेखक :   हस्तबहादुर केसी

पृष्ठभूमि :
यस लेखमा विश्व सर्वहारा वर्गको मुक्तिको पथप्ररदर्रशक सिध्दान्त मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधाराकाबारेमा सर्वसाधारण पाठक तथा यस विषयका अध्ययताहरुले बुझ्न सक्ने गरि सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ ।
विश्व सर्वहारा वर्गको आफ्नो विचारधारा छ , त्यो हो सर्वहारावादी विचाणणरधारा । सर्वहारावादी विचारधारा भनेको मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा नै हो । यसैगरी मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा भनेको पनि सर्वहारावादी विचारधारा नै हो । स्पष्ट रुपमा भन्नुपर्दा मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा भनेको वर्तमान युगको सबैभन्दा वैज्ञानिक तथा क्रान्तिकारी विचारधारा हो । यसलाई अझै यसरी स्पष्ट पार्न सकिन्छ कि यो सर्वहारावादी दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणमा आधारित रहेको छ । वास्तवमा यो यस्तो विचारधारा हो – जसले सर्वहारा वर्ग अर्थात काम गरेर , पसिना बगाएर खाने श्रमजीवी वर्ग र आम उत्पीडित जनसमुदायका हकहित तथा मुक्तिको प्रतिनिधित्व गर्दछ । त्यसैले मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा संगठित कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिध्दान्त हो । क्रान्तिकारी माओवादी कम्युनिस्टहरू मार्क्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शनमा सामाजिक क्रान्तिका कामहरु सम्पन्न गर्दै अगाडि बढ्नेबारे सैध्दान्तिक रुपमा गंभीर , सचेत एवं क्रियाशील बन्न जरुरी हुन्छ । किनभने सर्वहारा वर्गको राजनीतिक प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले मार्क्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक पथप्रदर्शनमा नै क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सक्छ ।
यहाँनिर मार्क्सवाद – लेनिनवाद – माओवादको विकासका चरणकाबारेमा बारेमा संक्षेपमा राख्ने प्रयत्न गरिएको छ : जस्तै मार्क्सवादको मार्क्सवाद – लेनिनवाद – माओवादमा जुन चरणबद्ध विकास भएको छ , त्यसका तीन गुणात्मक चरण रहेका छन् , तिनलाई नम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
(१) मार्क्सवादको विकासको चरण :
सन १८४८ मा कम्युनिस्ट घोषणापत्र मार्फत कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा मार्क्सवादको प्रतिपादन भएको हो , जुन विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्यो र विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो मुक्तिको सैध्दान्तिक हतियार प्राप्त गरेको थियोे । मार्क्स – एंगेल्सद्वारा     मार्क्सवादको प्रतिवादनले समकालीन विश्व राजनीतिमा ठूलो क्रान्ति ल्याइदिएको थियो ।   मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकास भएको सिध्दान्त हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । मार्क्सवादको निर्माण दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहको संश्लेषणबाट भएको छ । मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिध्दान्त भौतिकवाद हो भने यसको पध्दति द्वन्द्ववाद हो । यसले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई  दोस्रो स्थानमा राख्दछ  । यसले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । अर्थात् यसले विश्वलाई बुझ्न सकिन्छ , जान्न सकिन्छ र यसलाई बदल्न सकिन्छ भन्ने मान्यता राख्दछ ।

(२) लेनिनवादको विकासको चरण : 

मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । जब पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्न पुग्यो , उत्पादक शक्ति ।, सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप विकास हुँदै गयो र त्यस प्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उँचामा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो । यसलाई लेनिन ( सन १८७० – १८२४ ) ले विकसित गर्नुभएको हो । त्यसैले यसलाई लेनिनवाद भनियो ।

मार्क्सवादको प्रतिपादन ( १८४८) पश्चात् प्रकृतिविज्ञानमा ठूला ठूला प्रगति हुँदै गए । नयाँ नयाँ वैज्ञानिक खोजहरु हुँदै गए र वैज्ञानिकहरुले प्रकृति विज्ञानका क्षेत्रमा ठूला ठूला आविष्कारहरु गर्दै गए । त्यसरी प्रकृति विज्ञानमा थप प्रगति हुँदै गयो , इलेक्ट्रोनिक ( कम्प्युटर विज्ञान ) को क्षेत्रमा ठूलाठूला खोजहरु भए ।  अलवर्ड आइन्स्टाइनद्वारा सापेक्षजमदको सिध्दान्त आविष्कार भएर प्रकाशमा आयो । त्यो स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिकहरु र दार्शनिकहरुले पदार्थ लोप भयो भन्दै  ठूलो स्वरले चिल्लाउने मात्र गरेनन् उनीहरूले भौतिकवादमाथि नै प्रहार गर्न थाले । एकातिर त्यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मेको कारण मजदुर आन्दोलनमा अभिजातवर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले मार्क्सवादको गंभीर प्रकारले तोडमरोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो ।  त्यसैक्रममा लेनिनले रुसमा सन १९१७ मा पुँजीवादी जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवादको सफल प्रयोग गर्नुभएको थियो । त्यसै प्रक्रियामा लेनिनले सन १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन समेत गर्नु भई विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
स्टालिनले लेनिनवादलाई यसरी भन्नुभएको छ , ” साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो भन्दै लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको,सिध्दान्त तथा कार्यनीति र  विशेषतः सर्वहारा वर्गको अधपनायकतन्त्रको सिध्दान्त र कार्यनीति हो ” – लेनिनवादका आधारहरु – स्टालिनका छानिएका रचनाहरु  पृष्ठ ९० ,पैरवी प्रकाशन , काठमाडौं ,२०६४ ।
लेनिनवादकाबारेमा कमरेड माओले भन्नुभएको छ , ” लेनिनवादको सिध्दान्तले मार्क्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथम – विश्वदृष्टिकोणमा , भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय – क्रान्तिकारी सिध्दान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै वैज्ञानिक समाजवादी निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् ।”

(३) माओवादको विकासको चरण : मार्क्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी र साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने , सन १९५३ मा स्टालिनको मृत्यु पश्चात् रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादका पुनस्थापनाका कारणहरुको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा मार्क्सवाद- लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद – लेनिनवाद – माओवादको तेस्रो , नयाँ र गुणात्मक उँचाईमा पुर्याउने काम भयो ।
लेनिनद्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्याउने काम भयो । आज यो विज्ञान संघर्ष कै क्रममा विकासको तेस्रो , नयाँ र उच्च चरणमा पुगेको छ , यो  तेस्रो , नयाँ र उच्च चरण माओ त्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो  अभेद्य ईकाइका रुपमा मार्क्सवाद – लेनिनजाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
अन्त्यमा वर्गीय विचारधाराकाबारेमा संक्षेपमा यसरी राख्न सकिन्छ । वर्गसमाजमा विचारधाराले सम्बन्धित वर्गका हितको प्रतिनिधित्व गर्दछ । यसरी विचारधाराको स्वरूप अमूर्त नभई मूर्त र वर्गीय हुन्छ । यस विषयमा माओले भन्नुभएको छ , ” वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै  विशेष वर्गको सदस्य भएर रहन्छ र विना कुनै अपवाद हरेक किसिमको विचारमा कुनै न कुनै वर्गको छाप परेकै हुन्छ । ” – माओ त्सेतुङ , दर्शन सम्बन्धि पाँच कृतिहरु ,पृष्ठ ८ ,जनस्रष्टा प्रकाशन , काठमाडौं २०६३ ।
यसरी हेर्दा हामीले के पाउँछौं भने मानव जातिको इतिहासमा दास समाजमा दासमालिक वर्गको विचारधारा ,सामन्तवादी समाजमा सामन्तवादी विचारधारा , पुँजीवादी समाजमा पुँजीवादी विचारधारा र समाजवादी समाजमा समाजवादी विचारधारालाई प्रमुख विचारधाराका रुपमा लिन सक्छौ । आजको साम्राज्यवाद र सर्वहारा वर्ग बीच भीषण संघर्षको युगमा समाजवादी वा साम्यवादी विचारधारा र पुँजीवादी विचारधारा यी दुई विचारधाराका बीच संघर्ष चलिरहेको छ , यहाँ तटस्थता भन्ने कुरा हुँदैन ।  आजको युगमा पुँजीवाद र सर्वहारावादी विचारधाराबीच भीषण संघर्ष चलिरहेको छ । पुँजीवादी विचारधारा पुँजीवतिवर्गका हक , हित र अभिमतमा आधारित विचारहरुको सुसंगत प्रणाली हो । सर्वहारावादी विचारधारा भनेको सर्वहारा वर्गका हक , हित र अभिमतमा आधारित विचारहरुको व्यवस्थित तथा सुसंगत प्रणाली हो । सामाजिक जीवन र क्रान्तिको विकास प्रक्रियामा विचारधाराको विकास हुँदै जान्छ । आज पुँजीवादी विचारधाराले साम्राज्यवादी विचारधारामा फड्को मारेको छ भने सर्वहारावादी विचारधाराले मार्क्सवाद – लेनिनवाद- माओवादका रुपमा विकास गरिसकेको छ ।
महान् लेनिनले व्याख्या गर्नुभएको आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । वर्तमान युगमा पुँजीवादी विचारधारा र सर्वहारावादी विचारधाराका बीचमा भीषण वैचारिक संघर्ष चलिरहेको छ । पुँजीवादी विचारधारा पुँजीपतिवर्ग सहित समस्त शोषक , उत्पीडक वर्गहरुको हित र मजदुर वर्गसहित आम जनसमुदायको शोषण , उत्पीडन र दमनमा आधारित रहेको छ ।  पुँजीपति वर्गको विचारधारा त्यस वर्गको हितमा आधारित भए पनि त्यो वस्तुगत तथ्य , सत्य र विज्ञानसम्मत छैन ।यो विचारधारा अतीतमुखी तथा पश्चगतिमा आधारित छ र यसले समस्त प्रगति तथा क्रान्तिको विरोध गर्दछ ।आज पुँजीपति विचारधारा वैचारिक मूल्यसंकटमा फँसेको छ र यसले ” विचारधाराको अन्त्य ” को घोषणा गरिसकेको छ ।
<  आज पुँजीवादी विचारधाराका विपरीत ध्रुबमा सर्वहारावादी विचारधारा उभिएको छ । सर्वहारावादी विचारधारा साम्यवादी क्रान्तिमा आधारित छ । यस विचारधाराको महत्त्वमाथि प्रकाश पार्दै मार्क्स – एंगेल्सले भन्नुभएको छ , ” कम्युनिस्ट क्रान्ति समाजका परम्परागत सम्पत्ति सम्बन्धहरुसित आमूल सम्बन्ध विच्छेद हो  फेरि यसमा कुनै आश्चर्य छैन कि यो क्रान्तिको विकासको अर्थ समाजका परम्परागत विचारहरुसित आमूल सम्बन्ध विच्छेद हो ।” – मार्क्स – एंगेल्स संकलित रचनाएं , खण्ड १, भाग १ ,पृष्ठ १५२ , प्रगति प्रकाशन मास्को फ १९७८ ।

अब के कुरा स्पष्ट भयो भने सर्वहारावादी विचारधारा आफ्नो सारतत्वमा परम्परागत सम्पत्ति सम्बन्ध र परम्परागत विचारसितको आमूल सम्बन्ध विच्छेद नै हो ।सर्वहारावादी विचारधारा सर्वहारा वर्गसित आम उत्पीडित जनसमुदाय र सिंगो मानव मुक्तिको विचारधारा हो  । यो  विचारधारा इतिहासको सबैभन्दा क्रान्तिकारी र जीवनशील वर्गको विचारप्रणालीमा आधारित रहेको छ ।सर्वहारावादी विचारधारा गतिशील , वस्तुगत यथार्थ , सत्य र विज्ञानसम्मत रहेको छ । यो  विचारधारा प्रगति , क्रान्ति र आमूल परिवर्तनको संवाहक रहेको छ ।सर्वहारावादी विचारधारा अर्थात् मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधारा क्रान्तिकारी आशावादले समृद्ध छ ।
सर्वहारावादी विचारधारा अर्थात् मार्क्सवादी – लेनिनवादी – माओवादी विचारधाराको ऐतिहासिक कार्यभार नयाँ संसारको निर्माणमा रहेको छ । नयाँ संसार भनेको वैज्ञानिक साम्यवादी संसार हो ।
( लेखक : वरिष्ठ मार्क्सवादी लेखक ,अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।