२३ भाद्र २०८१, आईतवार

भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिन्छ : मन्त्री आचार्य

जाजरकोट :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिने बताएका छन्। गत कार्तिक १७ गते राति गयकाे भुकम्पले सबै भन्दा बढि मानविय क्षति भयकाे ठाँउ भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्। उक्त वडामा एकै घरका ६ जना सहित ३१ जनाकाे ज्यान गयकाे थियाे र ११५ जना घाइते भयका थिय ।

मन्त्री आचार्यले भने- झरी लाग्नुभन्दा पहिले नै पालमुनि बसिरहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सारिसक्ने सरकारको लक्ष्य रहेको छ ।

भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणमा सरकारलाई सघाउँदै आएको सेभ द चिल्ड्रेन र उसका साझेदार स्थानीय संघ/संस्थालगायत विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिए। भूकम्प प्रभावितहरुको पुनर्निर्माण तथा पुनःस्थापनासम्म सरकारलाई सघाउन मन्त्री आचार्यले सबै दातृ निकायलाई अपिल  समेत गरेका थिय।

भूकम्प गएदेखि भूकम्पपीडितहरुलाई विभिन्न प्रकारका राहत सामग्रीहरु वितरण गर्दै आएको सेभ द चिल्ड्रेनकी निमित्त राष्ट्रिय निर्देशक तारा क्षेत्रीले जानकारी दिए।

भूकम्पलगायत विभिन्न विपदमा सबैभन्दा बढी जोखिममा सुत्केरी र गर्भवती, सुनौला हजार दिनभित्रका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु रहने क्षेत्रीले बताए।

जोखिममा रहेका २ वर्षमुनिका बालबालिका‚ सुत्केरी, गर्भवती भएको ५ महिनाभन्दा बढी भएका महिला र क तथा ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सेभ द चिल्ड्रेनले पहाडी क्षेत्र विकास अभियानलगायत अन्य निकायको साझेदारीमा नलगाड नगरपालिका–३ र ४, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–११ का ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी दिए।

अभियानसँगकै साझेदारीमा भेरी नगरपालिका–१, ३ र ४, कुशे गाउँपालिका–७ र रुकुमपश्चिको सानोभेरी गाउँपालिकाका ४०० घरपरिवारलाई टेन्ट वितरण गरेको जानकारी क्षेत्रीले दिए। सानीभेरी गाउँपालिकाको वडा नं १ र ४ मा समेत अभियानले राहत वितरण गरेको थियो।

मन्त्री आचार्यसँगै भूकम्पपीडितहरुको अवस्था बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनर्निर्माण एकसाथ अघि बढाउनुपर्ने बताए।