११ श्रावण २०८१, शनिबार

माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं :काठमाडौंकाे माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । यसमा कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार देखिए क्षेत्र र समय तोकेर हुलदंगा वा अशान्ति पार्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश गर्नसक्ने उल्लेख छ ।

युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।