५ माघ २०८१, शनिबार

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं ।काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ ।

यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुवात गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।