१० असार २०८१, सोमबार

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी :

जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ?

पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ।

अहिलेसम्म तपाईंले गर्नुभएको महत्वपूर्ण काम के हो भन्ने लाग्छ ?

पालिकाको प्रशासनिक केन्द्र स्थापना गरी सबै सेवा एकीकृत रूपमा सञ्चालन गरिएको छ । नौ वटै वडामा सडकको ट्र्याक खोलिएको छ । पालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा गएको जस्ता महत्वपूर्ण कार्य भएका छन् । दुर्घटना तथा विपद् मा परेर सिकिस्त बिरामी तथा गर्भवतीको उद्धार गरेर धेरै नागरिकको जीवन जोगाएको कुरा आफूलाई महत्वपूर्ण लाग्ने गरेको छ ।

कुशे गाउँपालिकामा रहेका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् । सबै बालबालिका विद्यालयमा र विद्यालयमा जान नसक्नेका लागि घरमै समेत पढाइको व्यवस्था गरेर पठनपाठन गर्ने गरिएको छ । पहिला पाँच वटा वडामा रहेको स्वास्थ्य संस्थालाई हाल नौ वटै वडामा पुर्‍याइयकाे छ । कुशे नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको छ । कुशे–५ मा सुन्तला पकेट क्षेत्रको रूपमा निर्माण गरी जनताको आयआर्जनमा वृद्धि भएको छ ।

गाउँपालिकाको आवश्यकता, समस्याचुनौती के देख्नुभयो ?

आवश्यकताका हिसाबले पालिकाका सबै वडामा वर्षभरि यातायातका साधन चल्ने खालका सडकको स्तर वृद्धि, विद्यालयमा बालमैत्री भवन निर्माण, विद्युत्, खानेपानी, सिँचाइ जस्ता योजना महत्वपूर्ण आवश्यकताका रूपमा रहेका छन् । बढ्दो युवा जनशक्ति बेरोजगार छन्, पालिकाका लागि मुख्य चुनौतीका रूपमा यो रहेको छ । युवालाई रोजगार बनाउन युवा स्वरोजगारका कार्यक्रम ल्याइएता पनि त्यसबाट सबै जना लाभान्वित हुन सकिरहेका छैनन् । बाह्रै महिना गाडी चलाउन नदीमा पुल छैन । त्यसै गरी जाजरकोट–जुम्ला सडक अन्तर्गत खलङ्गा–पाँचकाटिया खण्ड वर्षायाममा अवरुद्ध हुँदा निकै चुनौती खेप्नु परेको छ ।

गाउँपालिकामा आन्तरिक स्रोतसाधन परिचालनको अवस्था कस्तो छ ?

पालिकाको आफ्नै आन्तरिक स्रोतको अवस्था निकै कमजोर रहेको छ । गत आर्थिक वर्षमा पालिकाको आफ्नो आन्तरिक आय रकम २७ लाख रहेको थियो । जसमा सिफारिस कर, मालपोत करलगायतबाट आम्दानी भएको थियो । आगामी दिनमा पालिकाले आफ्नो आन्तरिक स्रोत वृद्धिका लागि आवश्यक प्रक्रिया अघि बढाउने लक्ष्य लिएको छ । जसमा पर्यटन, कृषि, खानीलगायतबाट आम्दानी बढाइने छ ।

आगामी लक्ष्य, सोच, योजना के छ ?

अबको आफ्नो कार्यकालभित्रै आफ्नो पालिकालाई समृद्ध पालिका बनाउने लक्ष्य रहेको छ । अबको चार वर्षभित्र जिल्लाकै नमुना पालिका बनाउने अठोटका साथ हामीले काम गरिरहेका छौँ । सबै निकायसँगको सहकार्यमा विकास गतिविधिलाई अघि बढाउन साझेदारी र समन्वय बढाइने छ । पर्यटन, कृषिलाई आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गरिने छ । साथै यहाँको धार्मिक महत्वका झादेव, मष्ट, कफल्नलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने सोच बनाएका छौँ ।

गाउँपालिकाको विकासमा सङ्घ  र प्रदेशसँगको समन्वय र सहकार्य कस्तो छ ?

विकास निर्माणलगायत अन्य नीतिगत सवालमा तीनै तहका सरकारबिच आपसी समन्वय र सहकार्यको अवस्था सुमधुर रहेको छ । कतिपय अवस्थामा विकास निर्माणका योजना सिधै माथिबाटै तोकिएर आउने र तल पालिकाबाट पठाइएका योजनाले प्राथमिकता नपाउने स्थिति देखा परेको छ । त्यसलाई समन्वय र सहकार्यमा समाधान गर्दै आइरहेका छौँ ।

राष्ट्रिय महत्वको लुम्बिनी–रारा राज मार्ग यही कुशे पाटन सुरुङ मार्ग खोलेर जाने बारे जनताको कस्तो अपेक्षा छ ?

सरकारले हालै सञ्चालनमा ल्याउन थालेको लुम्बिनी–रारा राजमार्ग कुशे गाउँपालिका भएर निर्माणको क्रममा रहेकाले स्थानीयवासी निकै हर्षित छन् । यस राजमार्ग निर्माणसँगै यस पालिकामा पाइने सुन्तला, काइनाइट पत्थर, सरुगाडका माछालगायतको बजारीकरणमा सहजता आई जनताको जीवनस्तरमा परिवर्तन हुनेमा आशावादी हुन सकिन्छ । यसको निर्माणका लागि सरकारले टेन्डर प्रक्रियामा गएकाले यो परियोजना छिट्टै निर्माण हुनु पर्छ भन्ने लागेको छ ।

पालिकामा पाइने महत्वपूर्ण पत्थर खानीबाट पालिकालाई के फाइदा  पुगेको जस्तो लाग्छ ?

यस पालिकाको वडा नं. २, ३ र ८ मा नेपालमै प्रख्यात पत्थर, तुर्मालिन, काइनाइट, क्वार्ज आदि प्रशस्त खानी रहेका छन् तर विडम्बना यसका लागि उत्खननको अधिकार दिने निकाय सङ्घीय सरकार भएकाले पालिकालाई यसमा कुनै भूमिका दिइएको छैन । तसर्थ हामीले अहिले यसबाट प्रत्यक्ष आम्दानी लिन सकेका छैनौँ तर यसलाई व्यवस्थित गरेर पालिकालाई पनि यसको आम्दानीको स्रोत बनाउनेतर्फ हामीले आवश्यक प्रक्रिया अघि बढाइरहेका छौँ ।

#गाेरखापत्र बाट साभार गरिएकाे #