११ श्रावण २०८१, शनिबार

आज हरि तालिका (तिज) पर्व पूजा आराधना गरि मनाईदै

काठमाडौं ।भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका “हरित” र “आलिका” दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजकै दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।