११ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पत्नी सीता दाहालको निधन

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।