२३ भाद्र २०८१, आईतवार

एसईइ नतिजा सार्वजनिक

काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको शर्माले बताए ।

त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । ‘यस वर्ष माथिल्लो रेन्जको जीपीए ल्याउनेको संख्या गत वर्ष भन्दा बढी छ’ उनले भने ।

अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताए ।

परीक्षाको नतिजा हेर्न १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।

परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था छ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा पनि हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ ।

बोर्डले २०७२ सालदेखि लागु गरिएको ग्रेडिङ पद्धतिअनुसार नै नतिजा प्रकाशित गरेको हो । यो प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी उत्तीर्ण भएको मानिनेछ । २०७२ अघि भने ग्रेडिङ प्रणाली लागु भएको थिएन ।

गत चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

परीक्षामा दुई लाख ४२ हजार ७१२ छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।