२३ भाद्र २०८१, आईतवार

कोरियाली राष्ट्रपति किमईल सुङ काे २९ औँ स्मृति दिवसमा बिचारगाेष्ठि सम्पन्न

काठमाडौं ।नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले काेरियालि राष्ट्रपति किम इल सुङको २९ औँ स्मृति दिवसका सन्दर्भमा काठमाडौँकाे अनामनगर स्थित संवाद डबलीमा‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचार गाेष्ठि कार्यक्रम सम्पन्न गरेकाे छ ।बुधबार काठमाडौंकाे अनामनगर स्थित संवाद डब्बलिकाे सभाहलमा कार्यक्रम सम्पन्न भयकाे थियाे ।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले कोरियाली क्रान्ति,कोरियाली नेता किमइल सुङ र कोरियाली व्यवस्थाबाट नेपालका क्रान्तिकारी कम्युनिसटहरूले धेरै कुरा सिकेको र अझै सिक्नुपर्ने बताएका छन् ।  अतिथि नेता गौरवले नेपालका नामधारी कम्युनिस्ट–संसद्‌वादीहरूले बनाएको नक्कली समाजवादी मोर्चाको भण्डाफोर गर्नुपर्ने धारणा पनि व्यक्त गरे । उनले भने, ‘चारदलीय समाजवादी मोर्चाले भन्ने गरेको समाजवाद प्रतिक्रियावादी समाजवाद हो ।’आफूहरू अर्थात् सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू सधैँ वैज्ञानिक समाजवादको पक्षधर रहेको स्पष्ट पारे । समाजवाद प्रतिक्रियावादी, सामन्तवादी, पुँजीवादी र वैज्ञानिक चार किसिमका हुने प्रस्ट पार्दै नेता गौरवले भने, ‘सर्वहारा, श्रमजीवी, शोषित, उत्पीडित वर्गको हित गर्ने समाजवाद भनेको वैज्ञानिक समाजवाद मात्र हो ।’

नेता गाैरवले नेपालमा नयाँ जनवादी व्यवस्था नै स्थापना नभएकाले आफूहरू नयाँ जनवादी व्यवस्थाको स्थापना गरी वैज्ञानिक समाजवादी व्यवस्थाको दिशामा अगाडि बढ्ने पनि स्पष्ट पारे । उनले अहिले माओवादी केन्द्र, एकीकृत, जसपा र नेकपाले चारदलीय समाजवादी मोर्चा बनाएको चर्चा गर्दै यो मोर्चालाई यही दलाल संसदीय सत्तामा जाने भर्याङका रूपमा प्रयोग गर्न खोजिएको पनि प्रस्ट पारे । उनले यो मोर्चा देशको स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याका पक्षमा नरहेको पनि स्पष्ट पारे ।

किम इल सुङलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओकै हाराहारीमा राखेर हेर्ने गरेको चर्चा गर्दै उनले कोरिया र कोरियाली श्रमिक जनतालाई जापानी र अमेरिकी साम्राज्यवादबाट मुक्त पार्ने राष्ट्रिय स्वाधीनताको लडाइँमा नेता किम इल सुङले निर्वाह गरेको भूमिका सबै उत्पीडित राष्ट्रहरूका लागि अनुकरणीय रहेको पनि बताए । अहिले नेपालको राष्ट्रिय स्वाधीनताको स्थिति सङ्कटपूर्ण रहेको बताउँदै नेता गौरवले राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जनगणतन्त्र कोरियाबाट नेपालले सिक्नुपर्ने कुरा धेरै रहेकोमा जोड दिए ।

नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष तथा नेकपा मालेका महासचिव सीपी मैनालीले साम्राज्यवादविरोधी क्रान्तिका विजेता किम इल सुङ संसारकै उत्पीडित वर्ग र मुलुकका लागि प्रेरणादायी नेता रहेको धारणा व्यक्त गरे ।

नेपालका लागि जनगणतन्त्र कोरियाका कार्यवाहक राजदूत किम जे एचले कोरियाली नेता, व्यवस्था र विचारमाथि विचारगोष्ठी आयोजना गरेर संसारभर विचार प्रवाह गर्न सहयोग पुर्याएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए ।

कोरियाली राष्ट्रपति किम इल सुङले १० वर्षको उमेरदेखि नै देशको मुक्ति र श्रमिक वर्गको उन्मुक्तिका लागि निर्वाह गरेको भूमिकाको चर्चा गर्दै कार्यवाहक राजदूत किमले कोरियाको समाजवाद जनताकेन्द्रित समाजवाद रहेको र किम इल सुङले जनताकेन्द्रित जुछे विचार प्रतिपादन गरेको पनि प्रस्ट पारे । उनले जुछे विचारकै आधारमा यति बेला किम इल सुङ–किम जोङ इलइज्मको विकास भइरहेको धारणा पनि राखे । कोरिया र संसारकै उत्पीडित देश र जनताका लागि आफूहरू निरन्तर र अन्तिम समयसम्म साम्राज्यवादविरुद्ध लडिरहने प्रतिबद्धता उनले व्यक्त गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य प्राडा जगदीशचन्द्र भण्डारीले प्रेरणादायी र ज्ञानवद्र्धक कार्यक्रमका लागि आयोजक संस्थालाई धन्यवाद दिँदै जुछे विचार, कोरियाली व्यवस्था र कोरिया निर्माताहरूले संसारको उत्पीडित वर्गलाई आफ्नो मुक्तिका लागि सदैव प्रेरणादायी शिक्षा दिइरहने धारणा राखे । कोरियाबत्राट आफ्नो देश र क्रान्तिकारी कम्युनिसट पार्टीले पनि धेरै विषय लिनसक्ने उनको भनाइ थियो । निरन्तर वैचारिक छलफल र बहसले नेपालको क्रान्तिकारी आन्दोलनलाई वैज्ञानिक समाजवादसम्म पुग्न सहयोग पुर्याउने उनले बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य पूर्णबहादुर सिंहले जनगणतन्त्र कोरियाको भ्रमण र अध्ययनबाट तय गरेको ‘कोरियाबाट सिकौँ’ भन्ने आफ्नो नारा दोहोर्याउँदै विचारलाई जनताले अँगालेपछि संसारका कुनै पनि जनविरोधी शक्ति टिक्न नसक्ने उदाहरण कोरिया, कोरियाली नेता, विचार, जनता र व्यवस्था भएको उदाहरण प्रस्तुत गरे । कोरियाले व्यवहारबाटै संसारका क्रान्तिकारीहरूलाई मुक्तिका लागि सही विचार र सही नेतृत्व निर्माण गरेर लड्नु अपरिहार्य रहेको उदाहरण प्रस्तुत गरेको उनले बताए । जुछे विचार र किम इल सुङवाद कुनै पुस्तकालय र वाचनालयबाट नभएर जनताको क्रान्तिको आँधीबेहेरीबाट सिर्जना भएको उदाहरण कोरिया भएको भन्दै संसारका क्रान्तिकारी कम्युनिस्टहरूले कोरियाबाट सिक्नुपर्ने बताए । कार्यक्रममा वामपन्थी नेता माणिक लामाले कोरियाको विचार, क्षमता र व्यवस्थाको चर्चा गर्दै नेपालका कम्युनिस्टहरूले क्रान्ति सम्पन्न गर्न र समाजवाद टिकाउन कोरिया एउटा उदाहरण रहेको पनि बताए ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अशोक सुवेदीले गरेका थिए । उनले समाजवादी क्रान्ति सम्पन्न गर्न र वैज्ञानिक समाजवाद स्थापना गर्न कोरियाली समाजवाद र विचार अध्ययनको विषय भइएकाले आफूहरूले निरन्तर बहस, गोष्ठी र अभियान जारी राख्ने बताए ।

संस्थाकी उपाध्यक्ष अम्बिका चन्दले स्वागत र सचिव केबी मल्लले सञ्चालन गरेको कार्यक्रममा मञ्चका ज्येष्ठ सदस्य ढुण्डीराज अधिकारीले अतिथिहरूलाई खादा र मालाले सम्मान गरेका थिए । कार्यक्रममा कोरियाली क्रान्ति, किम इल सुङको योगदान र आधुनिक कोरियाका झलक देखिने तस्बिरहरू प्रदर्शन गरिएको थियो ।