काठमाडौं ।तत्कालीन अधिराजकुमार निराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ । काठमाडौं– १३ कालीमाटीमा करिब सातआना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ ।
गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ । ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो । ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ ।
नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो ।
हालसम्म विभिन्न १२ जिल्लामा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार पाँच सय ६३ रोपनी जग्गा ट्रस्टले आफ्नो नाममा ल्याइसकेको छ । त्यसमध्ये कतिपय लिजमा दिइएका छन् भने केही प्रयोगविहीन छन् ।
ट्रस्टका कार्यकारी सचिव वैद्य राजपरिवारको नाममा रहेको सम्पत्ति खोजीकार्य जारी रहेको बताउँछन् । ‘थप सम्पत्ति खोजिरहेका छौँ,’ उनले भने, ‘सम्पत्तिबारे सूचना दिनेलाई पुरस्कारको पनि व्यवस्था छ ।’
राजपरिवारको नाममा रहेको सम्पत्ति शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगाउने सरकारको नीति छ । तर, अहिलेसम्म त्यससम्बन्धी नियमावलीसमेत बन्न सकेको छैन । कतिपय सम्पत्ति विनाप्रतिस्पर्धा व्यापारीलाई लिजमा दिइएकोमा विवाद हुँदै आएको छ ।