११ श्रावण २०८१, शनिबार

‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६३ राष्ट्रघाती रहेको भन्दै उक्त विधेयक खारेज गर्न माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बिहीबार प्रेस वक्तव्य जारी गर्दै सच्चा नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने नागरिकता ऐन निर्माण गराउन र प्रधानमन्त्री पुष्पकमल दाहाललाई जारी भारत भ्रमणका क्रममा थप राष्ट्रघाती सम्झौता नगर्न दबाब दिन आमक्रान्तिकारी, वामपन्थी तथा देशभक्त नेपाली जनतामा हार्दिक अपिल गरेका छन् ।

प्रवक्ता कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपतिले दुई–दुईपटकसम्म पुनरावलोकनका लागि संसदमा फिर्ता पठाएको विधेयकमाथि संसदमा कुनै बहस–छलफल नै नगरी मन्त्रिमण्डलको सिफारिसको मात्र आधारमा राष्ट्रपतिले उक्त विधेयकमा लालमोहर लगाएका हुन् । हाम्रो पार्टी संसद्लाई छलेर अलोकतान्त्रिक ढङ्गले सरकारले गरेको यसप्रकारको राष्ट्रघाती सिफारिस र राष्ट्रपतिको गैरजिम्मेवारपूूर्ण प्रमाणीकरणको तीव्र विरोध तथा भत्र्सना गर्दछ ।’
प्रवक्ता कञ्चनले अगाडि भनेका छन्, ‘गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएकै बेला गरिएको नागरिकता ऐन २०६३ को संशोधनले देशको स्वाधीनता, स्वतन्त्रता तथा सार्वभौम अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न गराएको मात्र छैन, यस भ्रमणका क्रममा द्विपक्षीय हितको बहाना बनाएर अरू थुप्रै राष्ट्रघाती सन्धि–सम्झौताहरूमा हस्ताक्षर गरिने सम्भावना एकाएक बढेर गएको छ । यो स्थितिमा नेपालको सार्वभौम अस्तित्वमाथि आँच पुर्याउने संशोधित नागरिकता ऐन २०८० खारेज गराउन, सच्चा नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने नागरिकता ऐन निर्माण गराउन र यही भ्रमणका क्रममा थप राष्ट्रघाती सम्झौता नगर्न दबाब दिन हाम्रो पार्टी आमक्रान्तिकारी, वामपन्थी तथा देशभक्त नेपाली जनतामा हार्दिक अपिल गर्दछ। बक्तब्यमा भनियकाे छ ।