२३ भाद्र २०८१, आईतवार

इच्छुक प्रतिष्ठानबाट चारजना पुरस्कृत

काठमाडौं ।इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे आयाेजनामा २२ ओैं इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस एवम् पुरस्कार सम्मान समारोह सम्पन्न भएकाे छ । काठमाडौं -२९ घट्टेकुलाे स्थित प्रतिष्ठानकाे आफ्नै भवनकाे इच्छुक प्रेक्षालयमा आयाेजित कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आयकाे इच्छुक पुरस्कार तथा सम्मान यस वर्ष पनि चारजनालाई प्रदान गरेको हाे ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डे्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रगतिवादी कवि मित्रलाल पंज्ञानीले बताए ।

“इच्छुक स्मृति पुरस्कार -२०७९” यसवर्ष नेपाली भाषी भुटानी साहित्यकार तुम्केहाङ लिम्बू र स्याङ्जाका साहित्यकार देवेन्द्र लम्साललाई संयुक्तरूपमा प्रदान गरिएकाे छ । त्यसैगरी “इच्छुक प्रतिभा पुरस्कार २०७९” साहित्य तर्फकाे दाङका साहित्यकार तथा ललितकलाका कलाकार खगेश्वर भण्डारीलाई प्रदान गरियो भने कला तर्फकाे प्रतिभा पुरस्कार गीत-सङ्गीत क्षेत्रकि साधक मकवानपुरकि कलाकार निर्मला घिसिङलाई प्रदान गरिएकाे प्रतिष्ठानले जनाएको छ । मुल पुरस्कारकाे राशी रु १ लाख, सम्मान पत्र र दाेसल्ला रहेको छ भने प्रतिभा पुरस्कार जनही २५ हजार, सम्मान पत्र र दाेसल्ला रहेकाे छ ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक चैतन्य, सल्लाहकारहरु सिपि गजुरेल र तक्मा केसी तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले इच्छुककाे आदर्श, याेगदानकाे चर्चा गर्दै सांस्कृतिक बलिदान दिवशकाे बारेमा गहन विचार प्रस्तुत गरेका थिए ।

पुरस्कृत स्रष्टाहरुका बारेमा पुरस्कृत व्यक्तित्व चयन कमिटीका संयाेजक हिरामणि दु:खीले सङ्क्षिप्त रुपमा परिचय दिनुका साथै स्रष्टाहरुकाे याेगदानकाे बारेमा प्रष्ट पारेका थिए । त्यसका साथै पुरस्कृत व्यक्तित्वहरुले आआफ्ना अनुभुतीहरु राखेका थिए ।

कार्यक्रममा सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले गरेका थिए भने प्रतिष्ठानकै कार्यसमिति सदस्य गाैरी देवकोटाले स्वागत मन्तव्य राखेकी थिइन् ।