११ श्रावण २०८१, शनिबार

रेशम चाैधरीलाई सर्वोच्चले पनि जन्म कैदकाे सजाय

काठमाडौं ।सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए ।

२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो । यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला सदर हुने ठहर गरेको छ । यो मुद्दामा सरकारी पक्षले भने उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेको छैन ।सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ ।

उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५/५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । सर्वोच्च अदालतले संक्षिप्त फैसलामा भनेको छ, ‘अरु प्रतिवादीहरुको हकमा अभियोग दावीबाट सफाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।’