११ श्रावण २०८१, शनिबार

एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

काठमाडौं ।यूएईलाई ७ विकेटले हराउँदै नेपालले  एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ ।

वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाएका छन् ।

सोमबार वर्षाका कारण दुई पटक खेल रोकिएको थियो । सोही खेल आज बिहानदेखि सुरु भएर सकिएको हो ।