११ श्रावण २०८१, शनिबार

बाटाेमै सुरक्षित सुत्केरी

जाजरकोट।जाजरकोट भेरि नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक वली कार्यालय जानका लागि बिहीवार बिहान अलिक चाँडै घरबाट निस्किए । उनी कार्यालय पुगेर कामकै सिलसिलामा गाउँतिर (कार्यक्षेत्र) जाने योजनामा थिए । बाटो छेउमा पार्किङ गरी राखेको मोटरसाइक नजिक पुग्दा मानिसहरूले हल्ला गरिरहेको र कोही रोइरहेको सुने । उनको ध्यान त्यतै गयो ।

उनलाई सुरुमा कसैको झगडा परेछ कि भन्ने लागेछ । बाटोबाट केही तल झरेर हेर्दा उनले जे देखे त्यसपछि उनी हतार–हतार आफ्नो कोठामा आए र केही सामग्री लिएर त्यहाँ पुगे । जहाँ, सुत्केरी व्यथाले च्यापेर एक जना गर्भवती बाटोमै राेइरहेकी थिइन् । आफूले लगेका सामग्रीको सहयोगमा उनले बाटैमा उनलाई सुरक्षित सुत्केरी गराए ।

घटना जिल्ला सदरमुकामकै हो । भेरी नगरपालिका–३ को मुख्य बजार नजिकै । बजारको तलतिर बस्ती छ । त्यही बस्तीकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेछ । श्रीमान् घरमा नभएको अवस्थामा छरछिमेकका महिला दिदी–बहिनीहरूले अस्पताल लैजाने खोजेका रहेछन् । त्यहाँ भिरालो ठाँउ भएकोकाले सडक थिएन । त्यसैले बोकेर ल्याउँदा सायद उहाँहरूलाई गाह्रो भयो । गर्भवती महिलालाई बेथाले धेरै च्याप्यो । एम्बुलेन्सको सुविधा नभएको हुनाले बाटोबाट करिब २० मिटरको दुरीमा सुत्केरी हुने अवस्था भएछ ।

म चाहीँ अफिस जानका लागि अलि चाँडै निस्किएको थिएँ । फिल्ड जाने योजना भएकोले ९ बजे नै अफिस निस्किएको हुँ । मेरो बाइक बाटोको ढिकमा पार्किङ्ग गरेको थियो । बाटोबाट तलतिर हेर्दा मानिस कराएको र रोइरहेको आवाज आएको थियो । मानिसहरूले झगडा गरे छ भनेर म बाटोबाट तल झरे । त्यहाँ जाँदा एक जना महिला सुत्केरी व्यथा लागरे कराउनु भएको रहेछ । मेरो कोठामा सुत्केरी बनाउन आवश्यक हुने सामग्रीहरू थियो । मैले हतार–हतार सामग्री लगेर गएँ । उनीहरूसँग भएको कपडाले छेक्न लगाएर सुत्केरी बनाएँ । सफल रूपमा बच्चा जन्मियो । त्यसपछि साल काटियो, सुत्केरीको रगत अलि धेरै बगिरहेको थियो । सालनाल निकाल्दिएँ ।

सुत्केरीको साल नफुटेको आउनु पर्नेमा फुटेको थियो । साल फुट्न हुँदैन थियो । असजिलो गरी बसेको कारण फुटेको हुन सक्ने भएकाले जतिसक्दो छिटो अस्पताल पुर्याउनुपर्ने थियो । मैले तत्काल स्टेचर ल्याउन लगाएर अस्पताल पठाएँ ।

जो अवस्था थियो त्यसमा केही गर्न सकिने अवस्था थिएन, जे गर्दा राम्रो हुन्छ त्यसै अनुसार बाटोमा नै सुत्केरी गराएको थिएँ । आपतकालीन अवस्थामा के कसरी काम गर्ने भन्ने अनुभव भएकाले पनि सजिलो भयो । म पुगेपछि बिरामीलाई पनि हौसला भयो । ‘डक्टर होइन मेरो लागि भगवान आउनु भयो’ भन्दै हुनुहुन्थ्यो बिरामीले ।