११ श्रावण २०८१, शनिबार

संघीय संसदको सचिवमा पाण्डे र अर्यालकाे नाम सिफारिस

काठमाडौं ।संघीय संसदको सचिव पदमा पदमप्रसाद पाण्डे र डाक्टर सुरेन्द्र अर्याल  को नाम सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् ।
संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ ।
संघीय संसदका सचिवको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । संविधानको धारा १०६ मा संघीय संसदको सचिव सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछन् ।
सचिव पदका सिफारिस भएका अर्याल संसद सचिवालयकै सहसचिव हुन् । पदमप्रसाद पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन् ।यसअघि संघीय सचिवालयका सचिवहरु गोपालनाथ योगी र राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएको थियो ।