११ श्रावण २०८१, शनिबार

देशकाे नेतृत्व अब हामिले गर्छाै र कम्युनिस्ट पार्टीले गर्छ : विप्लव

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  विप्लवले अबको देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीकाे ७५ओैँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंकाे खुल्ला मंचमा आयाेजित जनसभालाई सम्बोधन गर्दै विप्लवले देशको नेतृत्व कम्युनिस्टले गर्ने बताएका हुन् ।

‘हाम्रा लागि सिंहदरबार मामुली हो । हाम्रा लागि मन्त्री मामुली हो ।’, उनले भने, ‘एक थान मन्त्री र प्रधानमन्त्री ठूलो कुरा होइन । हाम्रो पार्टीमा मन्त्री भएको साथीहरु हुनुहुन्छ । सांसद भएका साथीहरु हुनुहुन्छ । सांसद भएर छलफलमा सहभागी भएका साथीहरु हुनुहुन्छ । सिंहदरबारमा के हुन्छ हामी सबैलाई थाहा छ । यो व्यवस्थाबाट सम्भव केही पनि छैन ।’

उनले यो व्यवस्थामा जनताको वास्तविक मुक्ति सम्भव नभएको भन्दै यसका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताए । ‘पुस्पलालको एउटा सपना पूरा भएको छ । सबैभन्दा ठूलो सामन्तलाई हामीले ढालेका छौं । राजतन्त्रको अन्त्य गरेका छौं ।’, उनले भने, हाम्रो  सपना भनेको वैज्ञानिक समाजवाद हो । यो दलाल पुँजीवादको अन्त्य गरेर समाजवादको स्थापना गर्नुपर्छ । पुस्पलालको यो सपना पनि नेकपाले पूरा गर्छ । हामी पूरा गछौं ।’

विप्लवले नेपालमा जनमत संग्रहबाट समाजवाद सम्भव भएको बताए । ‘हामीलाई कांग्रेसका साथीहरुले पनि जनमत संग्रह भए तपाईंहरुलाई भोट हाल्ने हो भन्नुभएको छ । समाजवादी हाम्रो पार्टीलाई मात्र होइन । समाजावाद आएपछि सबैलाई हुन्छ । तीन करोड नेपालीका लागि समाजवाद आउने हो । श्रमिकका लागि समाजवदा आउने हो ।’, उनले भने, ‘तर समाजवादका लागि उहाँहरु तयार हुनुहुन्न । उहाँहरु जनमत संग्रहका लागि तयार हुनुहुन्न ।’

उनले विदेशमा गएर समस्याको समाधान नहुने भन्दै नेपालमा संघर्षका लागि तयार हुन सबैलाई आग्रह गरे । ‘विदेश जाने होइन, पिआर लिने होइन, विदेशीको भाडाको टट्टु बन्ने होइन । विदेशी एजेण्ट बन्ने होइन । हामी त नेपाली बन्ने हो । नेपाली श्रमिक बन्ने हो, किसान बन्ने हो । नेपालमै बस्ने हो । नेपालमा वैज्ञानिक समाजवादी स्थापना गरेर विश्वमा नेपालीको सान देखाउने हो ।’

सम्पूर्ण माओवादीहरु एक हुने बेला आएको भन्दै त्यसका लागि तयार हुन सबैलाई आग्रह गरे । ‘माओवादी मिलेको देखेर धेरै धेरैको निन्द्रा लाग्न छोडेको छ । अरु त अरु कोही हाम्रो माओवादी नेताहरुको पनि निन्द्र लाग्दैन । माओवादीले एकता गर्छ । हामी सबै एक हुनुपर्छ ।’, उनले भने ‘माओवादी मात्र होइन सबै कम्युनिस्टलाई एक गर्ने हो । ६५ प्रतिशत कम्युनिस्टहरुलाई एकताबद्ध गरेर वैज्ञानिक समाजवाद स्थापन गर्ने हो ।’

सामाजिक संजालका भाषाहरुको पछि नलाग्न भन्दै उनले उनीहरुका क्रान्ति सम्भव छ, एकीकृत जनक्रान्ति अनुसार सम्भव, नेपाली मौलिकतामा आधारित क्रान्ति हुन्छ । रुसमा भएको जस्तो पनि हुँदैन, चीन भएको क्रान्ति जस्तो पनि होइन, नेपालमा १० वर्ष भएको जनयुद्ध अनुसारको पनि होइन । हामी मौलिक तरिकाले क्रान्ति गर्छाैँ।