९ मंसिर २०८१, आईतवार

पार्टी एकता : आवश्यकता र आधार , उदय बहादुर चलाउने ( दिपक)

चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक उद्घोष भएको छ । यो एकता प्रक्रियाले सच्चा कम्युनिस्टहरूलाई उत्साहित, उत्प्रेरित र आशावादी बनाएको छ भने प्रतिक्रियावादी एवम् संशोधनवादी कित्तामा स्वाभाविक बेचैनी सुरु भएको छ । यद्यपि विगत एक दशकदेखि नेपाली राजनीति र विशेषतः माओवादी आन्दोलनमा भएको टुटफुट र विभाजनको पृष्ठभूमिले एकताको सार्थकताप्रति केही प्रश्नहरू जरुर खडा गरिदिएको छ जसलाई नजरअन्दाज गर्नु असम्भव नै छ । यसका साथै इतिहासका खासखास मोडहरूमा भएका कतिपय एकताका पहलहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदान गरेको विशिष्ट योगदान जसले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी प्रवाहलाई अग्रगति प्रदान गरेको थियो, उक्त दृष्टान्तलाई समेत बिनापूर्वाग्रह आत्मसात गर्ने हो भने यो एकताप्रक्रियाले कम्युनिस्ट आन्दोलनको आगामी भविष्यलाई नयाँ उचाइमा नेतृत्व प्रदान गर्ने कुरामा प्रसस्त आशावादी बनाएको छ । एकताको वस्तुगत आवश्यकतालाई सम्बोधन गरेको छ ।

माओवादी आन्दोलनको विखण्डन र विसर्जन नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो तमिलो (तितो र अमिलो मिसिएको) शिक्षा हो र एक गम्भीर चुनौती पनि । वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा एकता र फुटको पृष्ठभूमि पनि यही हो । आजसम्मका घटना परिणामहरूले के कुरा पुष्टि गरेको छ भने माओवादी आन्दोलन स्वयम् दर्जनौँ भँगालोमा विभाजित मात्रै भएन, कैयौँ प्रवृत्तिहरूसँगको अन्तरघुलन र विलयनले कम्युनिस्ट आवरणमा छिपेर रहेको भद्दा पुँजीवादी विकृति निर्वस्त्र भएको साँचो हो । तर पुँजीवादीहरू यसलाई माक्र्सवाद र जनयुद्धको असफलता बताइरहेका छन् । कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादको असली एजेन्ट बनेर हुर्किरहेको संशोधनवाद र नवसंशोधनवादले निकै चलाखीपूर्ण तरिका र मृदुभाषामा हैँसे लगाइरहेको छ : माक्र्सवाद पुरानो भयो ! यसले आममानिसहरू र माक्र्सवादका शुभचिन्तकहरूलाई भ्रमित पार्नुका साथै इमानदार कार्यकर्ताहरूलाई समेत दिग्भ्रमित बनाइदिएको छ । यो एक विषम परिस्थितिले नेपाली कम्युनिस्ट आन्दोलनमार्फत सिङ्गो नेपाली राजनीतिकै यक्षप्रश्नहरूको जबाफ माग गरिरहेको छ । अतः यो एकता प्रयास यसखाले दायित्वबाट अछुतो रहने प्रश्नै हुँदैन ।

एकता प्रक्रियालाई अनेकौँ आयामहरूबाट विश्लेषण गर्न सकिन्छ । त्यसमध्ये सर्वाधिक महत्वको विषय भनेको राजनीतिक–वैचारिक प्रश्न नै हो । यो आलेखमा त्यसका बारेमा छोटो चर्चा गरौँ ।

एकतासम्बन्धी औपचारिक जानकारीको कार्यक्रममा सार्वजनिक वक्तव्यमा उल्लेख गरिएको छ, ‘मालेमाको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम तथा वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम, बल प्रयोगको अनिवार्यता, जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धति, संसदीय व्यवस्थाको अन्त्य, पुँजीवादी अधिनायकत्वविरुद्ध सर्वहारा अधिनायकत्व, सर्वहारा अन्तर्राष्ट्रियतावाद, आत्मनिर्णयको अधिकारसहितको उत्पीडित राष्ट्रियता तथा क्षेत्रको स्वशासन, महान् जनयुद्धको ऐतिहासिक भूमिका र महान् सर्वहारा सांस्कृतिक क्रान्ति एकताका आधारहरू हुन् ।’ हाम्रा आदरणीय शुभचिन्तकहरू, आमजनसमुदाय र क्रान्तिकारी मित्रहरूसँग उल्लिखित विषयका बारेमा प्रसस्तै छलफल गर्नु पर्नेछ, गर्दै जानेछौँ तर आधारभूत रूपले उल्लिखित विषयहरू हाम्रो एकताका वैचारिक आधार हुनुमा हामीले गौरवबोध गरेका छौँ ।

माक्र्सवाद–लेनिनवाद–माओवाद हाम्रो मार्गनिर्देशक सिद्धान्त हुनु आजको विश्व कम्युनिस्ट आन्दोलनकै ऐतिहासिक आवश्यकता हो । यो कुरामा कुनै द्विविधा छैन– मालेमावाद माक्र्सवादको समुच्चय र नयाँ विकास हो । यस सन्दर्भमा संशोधनवादी कित्ताबाट माओवादका बारेमा जुन भ्रम उत्पन्न गर्ने प्रयत्न बारम्बार भइरहन्छ र इमानदार क्रान्तिकारीहरूलाई दिग्भ्रमित गर्ने कोसिस भइरहन्छ वास्तवमा अब त्यसको कुनै तुक छैन । साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीचको अन्तरविरोध आज पनि विश्वव्यापी प्रधान अन्तरविरोधका रूपमा रहिरहेको अवस्थामा माओवाद राष्ट्रिय स्वाधीनता र राष्ट्रिय मुक्ति अभियानको मार्गदर्शन हो । त्यसैगरी पटकपटकका प्रतिक्रान्तिहरूबाट लिइएको महान् शिक्षा र ऐतिहासिक पथप्रदर्शक हो– महान् सर्वहारा सांस्कृतिक क्रान्ति । यसको अलावा माओवादका अरू थुप्रै आयामहरू रहेका छन् जसका बारेमा अरू प्रसङ्गहरूमा छलफल गर्नुपर्ने हुन्छ । मूलतः माओवादको आत्मसातीकरण आजको विश्व सर्वहारा क्रान्तिको आधारबिन्दू हो भन्नेमा संसारभरिका क्रान्तिकारीहरू क्रमशः एक ठाउँमा उभिँदै आएका छन् र यो एकताले त्यसको मर्मलाई गहिरो गरी आत्मसात गरेको छ ।

संसदीय व्यवस्थाको अन्त्य आजको ज्वलन्त यथार्थ हो । विश्व एकाधिकार पुँजीवादको नेपाली प्रतिनिधिका रूपमा रहेको दलाल पुँजीवाद र त्यसको राजनीतिक अभिव्यक्ति बनेको दलाल पुँजीवादी संसदीय प्रणालीको अन्त्यबिना राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी समस्याहरूको समाधान बिल्कुल असम्भव छ । जसले जतिसुकै कुर्लिए पनि वा जसले जतिसुकै प्रयत्न गरे पनि नवउदारवादी विश्वप्रणाली आफू स्वयम्ले पैदा गरेको जन्जालमा दिनप्रतिदिन फस्दै गइरहेको छ र त्यसले एकपछि अर्को विश्वव्यापी सङ्कट सिर्जना र सामना गरिरहेको छ । आज नेपाली समाजमा देखापरेका बेरोजगारी, महँगी, भ्रष्टाचारलगायत समस्याहरू यसका अनिवार्य प्रतिबिम्बहरू मात्र हुन् । नेपाली जनताले बेहोर्नुपरेका तमाम पीडा र कष्टको जगमा टेकेर यही दलाल पुँजीवादी संसदीय प्रणालीलाई नै जोगाउन गरिएका प्रयत्नहरू चाहे ती ‘वैकल्पिक राजनीति’ वा ‘नागरिक समाज’ ती जो भए पनि पानीका फोका बनिरहेको वास्तविकता सर्वविदितै छ । अतः हाम्रो आधारभूत राजनीतिक प्रस्तावको मर्म हो– व्यक्ति होइन, व्यवस्था बदलौँ ।

आजका सम्पूर्ण समस्याहरूको स्रोत बनेको संसदीय व्यवस्थाको अन्त्य उति सजिलो र सामान्य विषय होइन भन्ने कुरा महान् जनयुद्धको विघटनले हामीलाई प्रदान गरेको अमूल्य शिक्षा हो । यो पुँजीवादी अधिनायकत्वलाई ढालेर सर्वहारा अधिनायकत्व स्थापना गर्ने ऐतिहासिक महत्वको विषय हो । विश्वपुँजीवाद आज पनि आधारभूत रूपले हतियारको ताकतमा टिकेको छ । सिङ्गो मानव जाति र श्रमजीवी सर्वहारा वर्गमाथि यसले थोपरेको हतियारको आलोचनालाई केवल आलोचनाको हतियारले मात्रै पराजित गर्न असम्भव हुन्छ भन्ने माक्र्सवादी मान्यतालाई आत्मसात गर्दै हामीले भनेका छौँ– वल प्रयोग इतिहासको सार्वभौम सत्य हो । हो, त्यसका लागि उत्पीडित वर्ग एक्लैले यो कार्यभार पूरा गर्न कठिन छ । त्यसका लागि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायको सामूहिक ऐक्यबद्धता आवश्यक छ । अतः हामीले भनेका छौँ– ‘आत्मनिर्णयको अधिकारसहित उत्पीडित राष्ट्रियता तथा क्षेत्रको स्वशासन।

विश्वसमाजवादी आन्दोलनका लागि संसारभर लडिएका महान् क्रान्तिहरू हाम्रा प्रेरणा हुन् । यद्यपि सर्वहारा वर्ग र श्रमिक जनताले लडेका कैयौँ क्रान्तिहरू पराजयीसमेत भएका छन् र विजयी क्रान्तिहरूसमेत प्रतिक्रान्तिमा फेरिएका छन् । त्यसको व्यापक एवम् निर्मम समीक्षा आजको ज्वलन्त आवश्यकता हो । अतः एकता प्रक्रियामा हामीले सगौरव घोषणा गरेका छौँ– दसबर्से महान् जनयुद्ध श्रमजीवी जनता र विश्वसर्वहारा क्रान्तिकै एउटा अंश हो र त्यसप्रति प्रतिबद्ध रहनु हाम्रो ऐतिहासिक दायित्व हो ।

समाजवादी आन्दोलनका लागि सर्वहारा अन्तर्राष्ट्रियतावाद मस्तिष्क हो भने जनवादी केन्द्रीयता त्यसको मुटु हो । आजको साम्राज्यवादी दुनियाँमा कुनै पनि पार्टी वा व्यक्ति त्यो समाजवादी हुनै सक्दैन जसले सर्वहारा अन्तर्राष्ट्रियतावाद र जनवादी केन्द्रीयतालाई कुनै पनि बहानामा अस्वीकार गर्दछ । भलै जनवादी केन्द्रीयता र सर्वहारा अन्तर्राष्ट्रियतावादका विविध आयामहरू विकसित भइसकेको आजको दुनियाँमा त्यसलाई सांस्कृतिक क्रान्तिको मूल्यबोधसहित थप समृद्ध पार्नु आजको आवश्यकता हो । हाम्रो एकता प्रक्रिया त्यसका लागि एउटा नयाँ अनुसन्धान हो ।

हाम्रो एकता प्रक्रियाको अर्को महत्वपूर्ण सैद्धान्तिक आधार हो– जनवादी क्रान्तिको आमकार्यक्रम तथा समाजवादी क्रान्तिको आधारभूत कार्यक्रम । विश्वसाम्राज्यवाद आज अति एकाधिकारवादी र अति केन्द्रीकृत मात्र होइन, यो अति प्रविधियुक्तसमेत बनेको छ । उत्पादन प्रणालीको आधारभूत चरित्र आज पनि शोषणकारी र व्यक्तिगत स्वामित्वमा आधारित भए पनि शोषणका तरिका र उत्पादनका विधिमा आएको तीव्र फेरबदलले एकातिर वर्गसंरचनामा ठूलो परिवर्तन ल्याइदिएको छ भने अर्कोतिर श्रमको स्वरूप र स्थानसमेत बदलिदिएको छ । विश्वबजार अर्थात् विश्वव्यापी श्रम र विश्वव्यापी पुँजी लगानले पुँजीको राष्ट्रिय चरित्रलाई धराशायी पारिदिएको छ । यसको परिणाम सर्वहारा क्रान्तिको चरित्रमा समेत निकै हेरफेर ल्याइदिएको छ । यो वस्तुगत अवस्थाले जनवादी क्रान्ति र समाजवादी क्रान्तिको अन्तरसम्बन्धलाई एकअर्कामा अन्तरघुलित गरिदिएको छ । पक्कै पनि यो एउटा नयाँ बहस र अनुसन्धानको विषय हो तर सर्वहारा क्रान्तिको वर्तमान समयमा यो एउटा महत्वपूर्ण एवम् नवीन वैचारिक पहलकदमी हो ।

दलाल पुँजीवाद र साम्राज्यवाद आजको विश्वव्यापी चुनौती हो । त्यसविरुद्ध स्वाधीनता र समाजवादको आन्दोलनलाई एकताबद्ध गर्नु प्रत्येक देशको सर्वहारा आन्दोलनको आधारभूत जिम्मेवारी हो । अतः हरेक देशका क्रान्तिकारीहरूबीचको एकता आजको सर्वाधिक पहिलो राजनीतिक आवश्यकता हो भने देशभक्त शक्तिहरूबीचको एकता अर्को महत्वपूर्ण राष्ट्रिय आवश्यकता हो । तर यो आवश्यकता भावनात्मक रसायन र प्राविधिक टालटुलले मात्र पूर्ण हुनु असम्भव छ । यसलाई मूलतः नयाँ वैचारिक मार्गदर्शनले मात्र सार्थक बनाउनु आवश्यक हुन्छ । हाम्रो यो एकता प्रयास अनुसन्धानको दायरा फराकिलो पार्ने नयाँ पाइला हो ।

माओवादी आन्दोलनमा पैदा भएको वैचारिक स्खलन जसको परिणाम नै सिङ्गो माओवादी आन्दोलन विभाजित र विखण्डित हुन पुग्यो, हाम्रो एकता प्रयास त्यसविरुद्धको दरिलो जबाफ हो । हामी स्पष्ट गर्न चाहन्छौँ– माओवादी आन्दोलनमा भएको टुटफुट र विभाजन केवल संशोधनवादको असफलताबाहेक अरू केही पनि होइन । जनयुद्ध र माओवादका सार्वभौम मूल्यहरू परित्यक्तताको त्यो अनिवार्य तथा स्वाभाविक परिणाम मात्र हो । तर हाम्रो यो एकता प्रयास केवल माओवादीहरूको मात्रै होइन । यो सम्पूर्ण क्रान्तिकारीहरूबीचको एकता अभियान हो । देशभक्तहरूको एकता अभियान हो किनकि आजका दिनसम्म आइपुग्दा एकातिर माओवादीको संशोधनवादी हिस्सा अनेकौँ संशोधनवादी कित्तामा अन्तरघुलित भएको छ भने अर्कोतिर विभिन्न क्रान्तिकारी हिस्सा र माओवादीको क्रान्तिकारी हिस्साबीच पनि उत्तिकै अन्तरघुलन भएको छ । अतः हाम्रो एकता क्रान्तिकारी र देशभक्त शक्तिहरूबीच एकताको एउटा नयाँ पहलकदमी हो ।

२८ चैत २०७९ । #राताे खवर साप्ताहिक बाट#