११ श्रावण २०८१, शनिबार

चाैथाेपटक मन्त्री बनेका शक्ति बस्नेत पश्चिम का बलिया खम्बा

जाजरकोट । माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत चौथो पटक मन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै बस्नेतलाई उर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।

जाजरकोटबाट तीन पटक चुनाव जितेका बस्नेत चौथो पटक मन्त्री बनेका छन् । कर्णालीको दुर्गम पहाडी जिल्ला जाजरकोटबाट सबैभन्दा धेरै चुनाव जित्ने र मन्त्री बन्ने नेतामा पनि बस्नेत नै पर्दछन् ।

पूर्व गृहमन्त्री समेत भइसकेका बस्नेत पटक पटक मन्त्री बन्नुमा कुनै खास योजना र प्रसिद्धि कमाएको विगत छैन । माओवादी अध्यक्ष प्रचण्डको विश्वासपात्र भएकै कारण पटक पटक सत्तामा शक्ति पुग्ने गरेको माओवादी नेताहरु बताउँछन् ।

माओवादी केन्द्र शान्ति प्रक्रियामा आएसँगै ०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री भएका थिए । ०७० को दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका उनी ०७२ सालमा गृह मन्त्री बने ।

२०७४ मा जाजारकोटबाट प्रतिनिधि सभामा निर्वाचित बस्नेत ०७४ मै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए । २०७९ को निर्वाचनमा पनि जाजरकोटबाटै प्रत्यक्ष निर्वाचित भएका उनले यो पटक उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सुरुमा गृहमन्त्री हुने आकांक्षा राखेका बस्नेत पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी उर्जा मन्त्री भएका हुन् ।

बस्नेतको राजनीति पृष्ठभूमि :

२०२८  बैशाख १गते भेरि नगरपालिका १ कालेगाउमा बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन बस्नेत । उनका तीन भाई दुई दिदी र एक बहिनि रहेका छन् । उनकी जीवन संगिनी नेकपा माओवादी केन्द्र कि स्थायी कमिटी सदस्य , पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् ।

नेकपा एकता केन्द्र (मशाल)बाट राजनीतिमा आएका उनी २०४६ सालको जनआन्दोलनमा मशालबाटै सहभागी थिए । २०४८ सालमा एकता केन्द्र (मशाल)को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य र २०४९ मा जाजरकोट जिल्ला सेक्रेटरी भएका उनी २०५१ देखि नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्यको रूपमा ग्रामीण वर्ग संघर्षको नेतृत्व गरे । २०५५ मा वैकल्पिक केन्द्रीय सदस्य र २०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन ।

२०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१/६२ को ढाँडमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए ।

बस्नेतले २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याएका थिए । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।

२०७१ सालमा स्थायी कमिटी सदस्य बनेका उनी हाल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव छन् ।उनी नेपाली राजनीतिका पश्चिमका एक बलिया खम्बा तथा जनपरिचालनमा  निपूर्ण मानिएका क्षमतावान नेता हुन् । बस्नेतले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन ।