३१ जेष्ठ २०८१, बिहीबार

बेपत्ता नागरिकको डायरी

चरा र चौपायाँले पनि बास बसेकाे त्याे साँझ ,
मैले आफ्नै घरमा पनि बास बस्न पाइन
फुल टिपेझै कुन बतासले चढाइदियाे
कुन ढुङ्गे इश्वरकाे गाेडामा ??
बाेकेर आँखाभरि जलविन्दु आकास,
कुन स्वर्गकाे नगरीमा छु म ?

महाशय,म एक बेपत्ता नागरिक !
म हराउदा म मात्र हराइन ,
म सगै आमाबाकाे जवान छाेराे हरायाे
जसले नविराइ खुवाउनु थियाे
क्षयराेगकाे निशुल्क ओखति
म सगै हरायाे ।
तरुणि श्रीमतिकाे  लाेग्ने
जसले किनिदिनु थियाे
आउने दशैमा एकसराे धाेति।
म सगै हरायो
नाबालक सन्तानकाे बाबू
जसले भर्ना गरिदिनु थियाे
यसैपाली स्कुलमा ।

महाशय ,म एक बेपत्ता नागरिक
मेराे जिन्दगी च्यातिदा
संगसंगै च्यातियाे सविधानकाे एउटा पाना
सगै च्यातियाे मानवताकाे किस्सा
कतै दाेबाटाे र चौबाटाेमा मेरि आमाले
छाति पिटिरहेको देख्नु भयाे भने भनिदिनु
म एक्लै छैन , याे अदृश्य स्थानमा
कतै मेरी श्रीमतीले ढाेका उघारै राखेकि छ भने
भनिदिनु सिरानीमा छ विहेकाे तस्बिर
घुसखाेरि र देशद्राेहिले रक्सी पिएको त्याे साझ
मैले आफ्नै घरमा पानी पिउन पाइन
कतै मेरा बाले सरकारि कार्यालयकाे ढाेकामा
निधार ठाेकिरहेकाे देख्नु भयाे भने
कतै मेरा सन्तानले थाप्लाेमा अनाथकाे परिचय बाेकेर
मलाई खाेजिरहेकाे भेट्नु भयाे भने देखाइदिनु
विहानै उदाउने घाम र टाउकाे माथिकाे निलाे आकाश
महाशय , म एक बेपत्ता नागरिक
अन्तमा देशले खाेजिहाल्याे भने भनिदिनु
देशकाे निम्ति मैले दुई मिटर कात्रो जाेगाइदिएकाे छु ।।

लेखक : २०५७ साल फाल्गुन १३ गते तत्कालीन राज्यद्वारा  माओवादीकाे आराेपमा बेपत्ता पारियका ,भेरि नगरपालिका वडा न २ रिसाँङ निवासी  शिव प्रसाद शर्मा कि छाेरी शारदा शर्मा खनाल हुन उनी नेपाल सरकारको निजामती सेवामा बिगत ७ बर्षदेखि सेवारत हुँदै अहिले भेरि नगरपालिका जाजरकोटमा सहायक महिला विकास  निरिक्षकमा कार्यरत छिन ।