२३ भाद्र २०८१, आईतवार

माओवादी धारकाे पत्रकार सम्मेलन, तीन दलद्वारा बहिष्कार

काठमाडौ ।माओवादी धार संयुक्त पत्रकार सम्मेलनमा नौ दल सहभागी हुने भनिएपनि अन्तिममा ६ दल मात्रै सहभागी भएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी नभएपनि महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेल लगायत दोस्रो र तेस्रो तहका नेताहरु सहभागी भए । अरु पाँच दलका शीर्ष नेताहरु नै सहभागी भएपनि प्रधानमन्त्री प्रचण्ड र तीन दल सहभागी नभएपछि संयुक्त पत्रकार सम्मेलनको ओज हुन सकेन । पत्रकार सम्मेलन भनिएपनि अन्तिममा ६ दलद्वारा हस्ताक्षर गरिएको अपिल सार्वजनिक गरेर प्रश्न उत्तर समेत गरिएन । माओवादी धारका ६ दलका नेताहरुले बोलेर संयुक्त पत्रकार सम्मेलन सकियो ।

संयुक्त पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादीका संयोजक आहुति, नेपाल समाजवादीका नेता हिसिला यामी, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढा, आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो धारणा राखेका थिए । जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो नलगाएमा देश फेरि द्वन्द्वमा जाने भन्दै ती नेताहरुले आक्रोश पोखे ।

तीन दलले पत्रकार सम्मेलन बहिस्कार गरेका छन् । माओवादी धारका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।

माओवादी धारको यसअघि बसेको बैठकले संयुक्त पत्रकार सम्मेलन र अन्तर्क्रिया गर्ने निर्णय गरेका थिए । तर, आज भएको संयुक्त पत्रकार सम्मेलनमा भने तीन माओवादी धारका नेताहरु अनुपस्थित भए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी धारका ९ जना नेता आउने भनिए पनि अन्तिममा तीन पार्टीका नेता नआएको बताए ।

आजको पत्रकार सम्मेलनमा सबै माओवादी धारका नेताहरु आउने भन्ने सहमति भएको थियो’ पौडेलले भने, ‘अन्तिमा उहाँहरुले कार्यव्यस्तताले आउन सकिएन भन्नुभयो । खै व्यस्त भएर नआउनु भएको हुनसक्छ ।’ तर, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तालाले असहमति भएकाले  पत्रकार सम्मेलनमा सहभागी नभएको प्रतिक्रिया दिए । ‘संयुक्त अपिल हामीले भने जस्तो बनाउन खोज्यौं । बनाउन सम्भव पनि भएन’ बास्तोलाले भने, ‘संयुक्त अपिल नै झन कन्फ्यूजन हुने खालको हुने भएपछि पत्रकार सम्मेलन बहिष्कार गरेका हौं ।’