८ मंसिर २०८१, शनिबार

क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं : माेहन वैद्य

प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ?
उत्तर:  २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो ।

प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुहुन्छ वा सम्झनुहुन्छ ?
उत्तर: यो चार तयारीको प्रश्न निकै महत्वपूर्ण प्रश्न हो । खासगरीकन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा जनसङ्घर्षबाट सशस्त्र सङ्घर्षमा स्वतः फड्को हान्ने हुन्छ भनेर सशस्त्र सङ्घर्षको विषयलाई, क्रान्तिको विषयलाई, जनयुद्धको विषयलाई एउटा स्वतस्फूर्ततावादमा हेर्ने चलन थियो । हामीले त्यसप्रकारका स्वतस्फूर्ततावादका विरुद्ध क्रान्तिका निम्ति सचेतन प्रयत्न गर्नुपर्दछ र त्यो सचेतन प्रयत्न सबैभन्दा पहिला विचारधारात्मक–राजनीतिक क्षेत्रमा गर्नुपर्दछ भन्ने निष्कर्ष निकाल्याैँ । विचारधारात्मक क्षेत्रमा भन्नुपर्दा हामीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई दृढतापूर्वक अवलम्बन गरेर जाने, राजनीतिक क्षेत्रमा नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई दृढतापूर्वक अवलम्बन गर्ने, त्यसका पक्षमा प्रचार–प्रसार गरेर जाने, जनतालाई सचेत बनाउने, पार्टी पनि त्यसप्रकारको विचारधारा र कार्यदिशाले सुसज्जित भएर, समृद्ध भएर जाने भनेर विचारधारात्मक राजनीतिक तयारी अथवा सैद्धान्तिक राजनीतिक तयारी गरेर जाने भनेका थियौँ । दोस्रो, हामीले साङ्गठनिक तयारी गर्ने भनेका थियौँ जसमा नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिका लागि योग्य, सशस्त्र सङ्घर्ष गर्न योग्य सर्वहारा वर्गको अग्रगामी राजनीतिक दस्ताका रूपमा निर्माण गर्नुपर्दछ र त्यो तयारी गर्नुपर्दछ भनेर सङ्गठनात्मक तयारीका रूपमा तीन जादुगरी हतियार–क्रान्तिकारी कम्युनिस्ट पार्टी, संयुक्त मोर्चा र जनमुक्ति सेना निर्माणका लागि आवश्यक तयारी गर्दै जाने र जनवर्गीय मोर्चाहरूलाई पनि त्यही दिशामा अगाडि बढाउने भन्ने थियो । तेस्रो, सङ्घर्षसम्बन्धी तयारीमा जनआन्दोलन, जनसङ्घर्षलाई सचेत ढङ्गले विकास गर्दै जाने, प्रतिरोधात्मक सङ्घर्षको विकास गर्दै जाने, त्यससम्बन्धी सङ्घर्षको तयारी गर्ने भन्ने थियो । चौथो, प्राविधिक तयारी भन्ने थियो । प्राविधिक तयारीको खास अर्थ पार्टीलाई राजनीतिक–फौजी चेतनाले समृद्ध बनाउने र प्राविधिक अध्ययन तथा तालिम लिनेदिने गरेर पार्टी दस्तालाई भौतिक हतियारले सुसज्जित बनाएर अगाडि बढ्ने हिसाबले प्राविधिक तयारीको दिशा निर्माण भएको थियो । समग्रमा भन्नुपर्दा ४ तयारी स्वच्छन्दतावादका विरुद्ध, सर्वहारा वर्गले सचेतन प्रयत्नका साथमा सचेतन धक्का दिनुपर्छ भन्ने हिसाबले तयारी गरेर जानुपर्छ भन्ने थियो । यो तयारीको प्रसङ्गमा भन्दा स्वतस्फूर्ततावादका साथसाथै नेपाली कम्युनिस्ट आन्दोलनको वृत्तमा दक्षिणपन्थी अवसरवादका विरुद्ध सशक्त सङ्घर्ष गरेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले हामीले तयारीका कुरा गरेका थियौँ

प्र. ३) जनवादी क्रान्तिको कार्यदिशा अथवा फौजी कार्यदिशा वा दीर्घकालीन जनयुद्ध त माओले विकास गरेको कार्यदिशा भयो । नेपालमा त्यसको प्रयोग गर्दा जुन नयाँ विशेषतासहित गरियो र छोटो समयमा जनयुद्धले विकास गर्यो ? ती विशेषताहरू के थिए जसमा माओको भन्दा फरक र नेपाली जनवादी क्रान्तिलाई अघि बढाउने ?

उत्तर: त्यसमा माओले भनेको कुरा माक्र्सवाद–लेनिनवादलाई सम्बन्धित देशको सन्दर्भसँग जोड्नुपर्दछ वा सिद्धान्तलाई व्यवहारसँग जोड्नुपर्दछ भन्नुभएको हो । व्यवहार भन्नाले सङ्घर्ष, वर्गसङ्घर्ष, वैज्ञानिक प्रयोग र उत्पादनका निम्ति सङ्घर्षसम्बन्धी व्यवहारसँग जोड्नुपर्दछ र निशानामा तारो हान्ने वा प्रहार गर्ने भन्ने माओको सिद्धान्त थियो । नेपालको विशिष्टतामा कसरी वर्गसङ्घर्ष गर्न सकिएला त भन्दा नेपाललाई हामीले अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा नयाँ जनवादी क्रान्तिका निम्ति दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा अवलम्बन गरेर जानुपर्छ भन्ने हिसाबले हामीले सोचेको र त्यहीअनुसार नै अगाडि बढ्ने भनेर मूर्त कार्यक्रम, मूर्त योजना र त्यो मूर्त योजनामा आधारित कार्यक्रम बनायौँ । त्यो योजना, त्यो कार्यक्रम विशिष्ट प्रकारको थियो । मतलब हामीले निश्चित अवधिसम्म तयारी गर्ने, निश्चित अवधिमा सत्ताका विरुद्ध विद्रोह गरेर जाने वा धक्का दिने, त्यसपछिको स्थितिमा फेरि अगाडि बढेर जाने भनेर नेपाली विशिष्टतामा आधारित योजना, नीति तथा कार्यक्रमलाई मूर्तीकृत गरेर अगाडि बढ्यौँ ।

प्र. ४) अहिले आएर हेर्दा तपाईंलाई १० बर्से जनयुद्धका के–के उपलब्धिहरू भएजस्तो लाग्छ ?

उत्तर: हामीले २०५२ साल फागुन १ गतेबाट सुरु गरेको महान् जनयुद्ध २०६२ सालसम्म अथवा २०६३ सालको पनि केही अवधिसम्म रह्यो । यसको महत्वपूर्ण उपलब्धि भनेको माक्र्सवाद–लेनिनवाद–माओवादलाई राम्रोसँग आत्मसात गर्ने, अर्थ र त्यस आधारमा नीति, योजना र कार्यक्रमहरू बनाएर अघि बढ्ने कार्यमा हामीले अनुभव हासिल गर्याै, व्यवहारमा पनि देखाएर गयौँ । त्यो एउटा उपलब्धि हो । जनयुद्धको प्रक्रियामा जाँदाखेरि हामीले व्यवहारबाटै सुरक्षा दस्ता, लडाकु दस्ताबाट तयारी गर्दै सङ्घर्ष सुरु गर्दै अलि ठूलठूला कारबाहीहरू सञ्चालन गर्दै अघि बढ्यौँ । जनमुक्ति सेना निर्माणका अनुभवहरू भए । फौजी क्षेत्रमा चार प्रकारका सङ्घर्षहरू– सेबोटेज, एक्सन, रेड र छापामार सङ्घर्ष यी मूर्त अनुभवहरू प्रयोग गर्दै रक्षात्मक अवस्थाबाट सन्तुलनको अवस्था हुँदै अगाडि बढ्ने प्रक्रियाका अनुभवहरू हासिले गर्याै र त्यसको बीचमा स्थानीय जनसत्ताको अभ्यास गर्याैं । संयुक्त मोर्चाको भूमिकाका बारेमा पनि नयाँ ढङ्गको अभ्यास गर्याैं । खासमा पार्टीसँग दलीय संयुक्त मोर्चा बन्न सकेन । तर पनि जनताका विभिन्न तप्काहरू वा वर्गहरूलाई उठाउने सर्वहारा वर्ग, किसान वर्ग, महिला, दलित, जनजातिलगायत तप्काबाट संयुक्त मोर्चा बन्यो । यो अनुभव र उपलब्धिका बीचबाट स्थानीय जनसत्ताको अभ्यास गर्दै हामी अगाडि बढ्यौँ । यो प्रक्रियामा जनताले रगत बगाएर साथ र समर्थनका साथै त्याग, बलिदानी दिँदा रहेछन् भन्ने अनुभवका बीचबाट अहिलेसम्म आउँदा गुणात्मक उपलब्धि त हामीले हासिल गर्न सकिएन, अनुभवचाहिँ हासिल गरियो वा भनौँ पछिल्लो जनवादी क्रान्ति गर्नका निम्ति प्रक्रियामा जाँदाखेरि जनयुद्धका अनुभवहरू पनि थुप्रै उपलब्धि हुन् तर ठ्याक्कै देखिने गरी गुणात्मक उपलब्धिचाहिँ हासिल हुन सकेन । संवैधानिक राजतन्त्रको अन्त्य भएर गणतन्त्रचाहिँ आयो । यो सानो उपलब्धि हो । धर्मनिरपेक्षता घोषणा भयो । समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता विषयहरू, सङ्घीयताजस्ता विषय पनि उपलब्धि त हुन् तर हामीले, भनौँ जनताले चाहेजस्तो उपलब्धि हुन सकेन । सङ्घीयता नै पनि हामीले चाहेजस्तो हुन सकेन । तैपनि यी मात्रात्मक उपलब्धिचाहिँ हुन् । हामीले चाहेजस्तो गुणात्मक उपलब्धिचाहिँ हासिल गर्न सकेनौँ । त्यसका विभिन्न समस्याहरू, खास गरेर पार्टी नेतृत्वमा डरलाग्दो खालको संशोधनवाद देखापर्याे । त्यसकारण पार्टीभित्र संशोधनवादका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै जानुपर्दछ भन्ने अनुभव पनि हामीलाई प्राप्त भयो । एउटा क्रान्तिकारी पार्टी बनाउने सिलसिलामा दुई लाइन सङ्घर्ष वा अन्तरसङ्घर्षका बीचबाट अगाडि बढ्नुपर्दछ भन्ने अनुभव हासिल भयो । यो अनुभव पनि हो, उपलब्धि पनि हो र अब यी सबै उपलब्धि अथवा त्याग, वीरता, बलिदान, फौजी क्षेत्रमा भएका भूमिका यी सबै सबैले आगामी क्रान्ति गर्नका निम्ति एउटा राम्रो जग बसालेको छ ।

प्र. ५) अन्त्यमा, पार्टी एकता गर्दै हुनुहुन्छ भन्ने कुरा आएको छ । पार्टी एकतासहितको कुरालाई लिएर २८ औँ जनयुद्ध दिवसका सन्दर्भमा आमजनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

उत्तर:हामीले सच्चा क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा एकता हुनुपर्दछ भन्दै आएका छौँ । अहिले हामीले नेकपा (बहुमत), नेकपा (मशाल) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा पार्टी एकता संयोजन समिति बनाएका छौँ । पार्टी एकताका निम्ति बृहत् छलफल र बहस पनि चलाउँदै आएका छौँ । हामीले के अनुभूति गरेका छौँ भने क्रान्ति गर्नका लागि नेपालमा अहिले वस्तुगत परिस्थिति राम्रोसँग तयार भइरहेको छ । पुरानो राज्यसत्ता अथवा अहिलेको यो राज्यसत्ता आर्थिक, राजनीतिक दृष्टिकोणले एकदमै सङ्कटग्रस्त छ । यो राज्यसत्ताले जनताका निम्ति कुनै उपलब्धिमूलक काम गर्न सकेको छैन, सक्तैन । जनता पनि यो राज्यसत्ताबाट कुनै उपलब्धि नहुने रहेछ, त्यसैले यो राज्यसत्ताको विकल्प खोज्नुपर्छ भन्ने स्थितिमा पुगेका छन् । यो अवस्थामा वर्तमान राज्यसत्ताको विकल्पमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादतिर जानुपर्ने ऐतिहासिक आवश्यकता छ । त्यो ऐतिहासिक आवश्यकतालाई पूरा गर्नका निम्ति हामी धेरै मेहनत गरेर क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ भन्ने प्रयासमा छौँ र हामी छलफल र बहसका साथ पार्टी एकताको पहल गरिरहेका छौँ । यसको सार्थक निष्कर्षका रूपमा हामी क्रान्तिकारी कम्युनिस्टहरूका बीच पार्टी एकता गर्न सफल हुनेछौँ भन्ने विश्वासका साथ अगाडि बढिरहेका छौँ । प्रस्तुति :गुणराज लोहनी