११ श्रावण २०८१, शनिबार

राजबन्दी रिहाई काे माग गर्दै नेकपा (बहुमत ) जाजरकोटद्वारा बिराेध प्रदर्शन

१९ माघ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटले  पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट का ईन्चार्ज  धमिलले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो ।

‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्त्य गर्न युवाहरूले नै सशक्त संघर्ष गर्नु आवश्यक छ’, उनले अगाडि भने, ‘राज्य सङ्कट टार्न केही व्यक्तिलाई विकल्पका रुपमा अगाडि बढाउन खोजेको देखिन्छ ।नेपाल मा बेरोजगारी र अभावले केही युवा बिदेश र केही युवाहरुलाई झुट्टा मुद्दामा जेलमा राखिएकोले राष्ट्रियता संकटमा परेकाे छ । देश दलाल तन्त्रले कंगाल बनेकाे छ  । त्यसकारण याे स्थायी समाधान नभई आक्रोश मात्रै हो ।’

राज्यको रूपान्तरण वैज्ञानिक समाजवादले मात्र गर्ने हुँदा नेपाली जनताको जीवनस्तरलाई प्रगतिपथमा लैजान आन्दोलनमा सहभागी हुन उनले सबैलाई आह्वान पनि गरे ।

कार्यक्रममा युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, पार्टी नेता–कार्यकर्ताको उपस्थिथि थियो । कार्यक्रमको सहजीकरण नेकपा (बहुमत) जाजरकोटका सचिवालय सदस्य हिमालले  गरेका थिए ।