२३ भाद्र २०८१, आईतवार

सत्ता गठबन्धन संकटमा !कांग्रेस सहित राष्ट्रिय सहमतिमा राष्ट्रपतिकाे चुनाव गर्नुपर्ने : प्रचण्ड

१८ माघ काठमाडौं ।सत्तागठबन्धनका ठूला दल एमाले र माओवादीबीच सत्ता बाँडफाँट र पूर्वसहमतिसम्बन्धी अविश्वासले दूरी बढ्ने संकेत देखिएको छ । सरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् ।

तर, एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएका छन् । दुवै दलका दाबीले आपसी अविश्वास बढाउँदै लगेको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै एमालेले प्रधानमन्त्रीले पूर्वसहमतिबाहिरको कुरा गरेर गठबन्धनभित्र अविश्वास पैदा गर्ने र स्थायित्वमाथि प्रश्न खडा गर्न खोजेको अर्थ्याउँदै आएको छ ।

यद्यपि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे प्रारम्भिक छलफल सुरु भएकाले गठबन्धनभित्र दरार पैदा हुने गरी समस्या नआउने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेल बताउँछन्  । ‘प्रधानमन्त्री र एमाले अध्यक्षबीचमा राष्ट्रपतिका विषयमा छलफल चलिरहेको छ, तर उहाँहरू निष्कर्षमा पुग्नुभएको छैन,’ गजुरेलले भने, ‘दुवैजना सहमतिबाटै राष्ट्रपति छान्नुपर्छ, अहिलेको गठबन्धन टुट्नुहुँदैन भन्नेमा सहमत नै हुनुहुन्छ, तर कसलाई बनाउने भनेर पात्रका विषयमा केन्द्रित भएर छलफल अघि बढिसकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार विहान बालुवाटार पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने वा नबनाउने प्रष्ट हुन खोजे । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता दिएकै दिन उनले फेरि सरकारमा आउन चाहेको संकेत गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार पनि मन्त्री नियुक्त गर्ने संकेत गरेनन् । बरु नागरिकता विवादमा ‘सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आइनसकेको र राहदानीबारे पनि विवाद रहेकाले कानुनी समस्या के हुन्छ बुझौं, छलफल गरौं’ भनेका छन् ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनीले पनि अहिलेको गठबन्धन अल्पमतमा पर्नसक्ने प्रष्ट संसदीय गणितले देखाउँछ । १० पुसमा राष्ट्रपति कार्यालयमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाको १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिको ४ र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । यसमध्ये जसपा र नागरिक उन्मुक्ति सरकारमा सहभागी नभएको र रास्वपा बाहिरिने हो भने प्रचण्डलाई कांग्रेसको समर्थन आवश्यक पर्नेछ ।

कांग्रेस नेताहरुले पनि राष्ट्रपति आफूहरुको प्राथमिकता भएको सार्वजनिक रुपमै बताउने गरेका छन् । मंगलबार तनहुँमा आयोजित कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रचण्डलाई एमालेसँगको गठबन्धनबाट टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ ।’