११ श्रावण २०८१, शनिबार

जाजरकोटमा ५० शैयाकाे अस्पताल, काम तिव्र बन्दै

जाजरकोट । कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ।

दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि  गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको छ।

जीर्ण कच्ची भवन तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो।

अबको दुई महिनाभित्र सबै काम पूरा हुने लक्ष्यका साथ कामलाई तीव्रता दिएर युद्धस्तरमा निर्माण कम्पनी खटिएकै कारण केही महिनाभित्र भौतिक संरचनाको काम पूरा हुने भएको छ ।

डाक्टरको आवासदेखि सेवा प्रवाहको लागि भवनको अभाव रहेको भन्दै समय, समयमा विवाद हुने जाजरकोट अस्पतालमा अब तोकिएको दरबन्दी अनुसारको स्वास्थ्यकर्मी परिचालन गरे सबै खालको सेवा दिन सके कर्णाली प्रदेशकै दोस्रो अस्पतालको रूपमा विकास हुने अपेक्षा लिइएको छ।

रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानको बीचमा रहेको यो अस्पताल सबैको भरोसा बटुल्नका लागि सेवा प्रवाहको पाटो राम्रो हुनैपर्छ।

अक्सिजन पलान्टदेखि अप्रेशन सेवासमेत प्रदान गर्दै आएको अस्पतालले अझै सेवा प्रवाहमा अब्बल राख्न सके सबैको भरोसा बटुल्ने कुरामा दुईमत नरहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए।

उनले भने ,‘ सेवा दिने र लिने दुवै सन्तुष्ट भएमा मात्र त्यहाँको भरोसा बढ्छ। संरचना विकास भयो, अब सेवा प्रवाहको पाटोसमेत मजबुत हुनुपर्छ। यसमा सबैको रचनात्मक सहयोग हुनुपर्छ।’

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको यो अस्पताललाई संघीय सरकारको मताहतमा राख्नुपर्ने मतसमेत उठ्दै आएको छ।