११ श्रावण २०८१, शनिबार

सपनाहरु त आगाे हुन ….

लेखक : अटल आचार्य

सपनाहरु त आगो हुन्,
आगोले पोल्छ,
सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ ।
११ रगत बगाएर जिवित बनेका
शहिद बोले उनका साथी बोले
समाज र देश पनि बोल्यो
उनि सँगै उनको समाज संगै ।
एउटै स्वर भएका, श्रमजिवि,सर्बहाराहरु,
भुमीहिन र भुमिका बिहिनहरु
आत्मसम्मान खोज्दा खोज्दै
प्रदेश पुगेका देशप्रेमी बोले
मान्छेहरुको भिड्बाट
मसानघाटको नजिक बाट
चिता भित्रको लास बोल्यो
जेल भित्रका कैदी बोले
खबरदार सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ ।

देउडा र हुड्केउली बाट
सिङ्गारु र टप्पा बाट
ख्याली र सोरठिहरु बाट
पन्चेबाजा र सेलोको बाटो हुँदै
मधेसका अप्ठ्याराहरु बोले
रगत(पसिना छर्किदै छिमेकी ऐठ्यायर
साध(सिमा जोगाउनेहरु बोले
पहाडीया चिन्तनको बाहुलिबाट
खपी नसक्नुको
छोइ नसक्नुको
अपमान भोगेकाहरु
आफ्नै आँगनमा आजादी कल्पिरहेकाहरु
कथा कविता र अक्षरहरुबाट
निर्धक्क बोल्न थाले
खबरदार सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ ।

अपि सैपाल कहिल्यै नदेखेको पुर्बेली
कान्जिरोवाको स्पर्श गर्दै
सेतिमहाकाली पुगेर गुरिल्ला बनेर बोल्यो ।
राप्ती पारि र
महाकाली वारि उभिएको
देश भित्रको प्रदेशी
भेरी पारी भेटिएका राता छिटाहरु
जम्मा गर्दै बोल्यो ।
आफ्नाहरुको स्वार्थपूर्तिका लागी
निबस्त्र उभिएका
नेता जस्तै देखिने जमिन्दारहरु देखाउदै
सपनाको श्रद्धाञ्जलीमा
अन्तिम पुस्प अर्पिणा आएको
छापामार बोल्यो
खबरदार सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ ।

लेखक : अटल आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा शहिद पुत्र हुन् ।