२३ भाद्र २०८१, आईतवार

ओनसरी घर्तीकाे घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङमार्ग र मनाेहरा करिडोर ,

काठमाडौं: सत्तारुढ लोकतान्त्रिक-बाम गठबन्धनले काठमाडौं क्षेत्र नम्बर-२ को घोषणापत्र सार्वजनिक गरेको छ।

गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरिएको छ ।

घोषणापत्रमा बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान  गठबन्धन निर्माण भएको दाबी गरिएको छ ।

काठमाण्डौं-२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता घोषणापत्रमा छ ।

प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल निर्माणको विषय घोषणापत्रमा उल्लेख छ ।

विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रर्वद्धनलगायतका कार्यक्रम घोषणापत्रमा लेखिएका छन् ।

त्यसैगरी गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, सफा खानेपानी, प्रयाप्त सिँचाइको व्यवस्था, स्वच्छ र स्वस्थ वातावरण, सुरक्षाको प्रत्याभुति, साथै नागरिकलाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ ।

साँखु-फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखु-बज्रयोगिनी-घुमारचोक-डाँडाकटेरी-चौही भञ्ज्याङ-धारापानी-पटाप-कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता गरिएको छ ।

चावहिल-साँखु सडकलाई मापदण्ड अनुसार यथाशिघ्र निर्माण सम्पन्न गराउने, शालीनदी-मनोहरा-मुलपानी-हरहर महादेव-पेप्सिकोला-नरेफाँट-बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम संचालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ ।

मनोहरा करिडोर निर्माण गर्ने तथा पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनको घोषणापत्रमा गरिएको छ । गठबन्धनले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने बाचा मतदातालाई गरेको हो ।